+
+

कोरोनाकालमा भारत घुम्ने विदेशीमध्ये नेपाली १४औं स्थानमा

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन २० गते १८:५५
Photo Credit : Wikiwand

२० साउन, काठमाडौं । कोभिड–१९ महामारीको समयमा भारतको भ्रमण गर्ने प्रमुख १५ मुलुकका पर्यटकमध्ये नेपाली समेत अटाएका छन् । भारतीय पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटकीय तथ्यांक २०२१ अनुसार सन् २०२० मा भारतले कुल २७ लाख ४० हजार पर्यटक भित्र्याएको छ । जसमा पहिलो नम्बरमा बंगलादेशी पर्यटक छन् भने १४औं नम्बरमा नेपाली पर्यटक रहेका छन् ।

सो वर्ष बंगलादेशबाट ५ लाख ५० हजार पर्यटक भारत भ्रमणमा जाँदा नेपालबाट ४० हजार ८२२ जना पर्यटक भारत भ्रमणमा गएका छन् । यसरी भारतका लागि नेपाल मुख्य १५ गन्तब्य भित्र अटाउन सफल भएको छ । सन् २०२० मा भारत भ्रमण गर्ने विदेशीमध्ये दोस्रो नम्बरमा अमेरिकी, तेस्रो नम्बरमा बेलायती र चौथोमा क्यानडाका नागरिक छन् ।

सन् २०२० मा भारत भ्रमण गर्ने प्रमुख १५ मुलुकका नागरिक

  • बंगलादेश : ५ लाख ५० हजार
  • अमेरिका : ३ लाख ९० हजार
  • बेलायत : २ लाख ९० हजार
  • क्यानडा : १ लाख २० हजार
  • रुस : १ लाख १० हजार
  • अष्ट्रेलिया : ९० हजार
  • फ्रान्स : ७० हजार
  • जर्मनी : ७० हजार
  • मलेसिया : ७० हजार
  • श्रीलंका : ७० हजार
  • थाइल्याण्ड : ५० हजार
  • जापान : ५० हजार
  • अफगानिस्तान : ५० हजार
  • नेपाल : ४० हजार ८२२
  • चीन : ४० हजार

पर्यटक आगमनमा ७४.९० प्रतिशतको गिरावट

भारतले कोभिड–१९ महामारीको समयमा पर्यटन आगमनमा ७४.९० प्रतिशतको गिरावट भोगेको तथ्यांकले देखाएको छ । सन् २०१९ मा १ करोड ९ लाख ३० हजार पर्यटक भित्र्याएको भारतले सन् २०२० मा भने २७ लाख ४० हजार हजार मात्र पर्यटक भित्र्याएको छ । भारतले टप १४ मुलुकबाट मात्र ७५.१ प्रतिशत पर्यटक आएको जनाएको छ ।

तथ्यांक अनुसार भारतमा सबैभन्दा धेरै पर्यटक बिदा मनाउन र मनोरञ्जनको प्रयोजनमा जाने गर्छ । व्यापार र औपचारिक भ्रमणका सिलसिलामा समेत ठूलो संख्यामा विदेशी नागरिक आउने गरेको भारतको तथ्यांक छ । गैरआवासीय भारतीय नागरिकलाई समेत भारतले पनि पर्यटक मान्छ । भारतले चिकित्सा क्षेत्रको माध्यमबाट समेत ठूलो संख्यामा विदेशी नागरिकलाई भित्र्याउने गर्छ । नेपाल र भारतले हवाईमार्ग प्रयोग गर्ने नागरिकलाई मात्र पर्यटक मान्ने गरेका छन् ।

भारत भ्रमणमा नेपालबाट कुन वर्ष कति गए ?

  • सन् २०१८ : १ लाख ७४ हजार ९६
  • सन् २०१९ : १ लाख ६४ हजार ४०
  • सन् २०२० : ४० हजार ८२२

जनवरीमा मात्र ३८.५४ प्रतिशत नेपाली भारत भ्रमणमा

नेपालमा चिसो मौसम चलिरहँदा धेरैजसो नेपाली भारतको भ्रमणमा जाने गरेको पाइएको छ । तथ्यांक अनुसार नेपालबाट जनवरीमा मात्र ३८.५४ प्रतिशत नागरिक भारतको भ्रमणमा निस्किएका थिए । अप्रिल महिनामा भने सबैभन्दा कम ०.०२ प्रतिशत नेपाली भारत भ्रमणमा गएका थिए । भारतले सन् २०२० को जनवरी र फेब्रुअरीमा धेरै पर्यटक भित्र्याएको थियो । उक्त समयमा यात्रामा समेत कडा प्रतिवन्ध सुरु भइसकेको थिएन ।

नेपालबाट धेरै पर्यटक दिल्ली जाने गरेका छन् । त्यसपछि मुम्बई, बैंग्लौर, कोलकता, चेन्नई, हैदरावादसहितका सहरमा जाने गरेका छन् । भारत जाने नेपालीमध्ये ६४.३० जना पुरुष र ३५.७० प्रतिशत महिला छन् । नेपालबाट युवा पुस्ताका नागरिक धेरै भारतमा जाने गरेका छन् ।
नेपालबाट बिदा र मनोरञ्जनको प्रयोजनका लागि ७४.४ प्रतिशत, मेडिकल प्रयोजनका लागि १.१ प्रतिशत, विजनेश तथा प्रोफेसनका लागि ३.२ प्रतिशत र अन्य प्रयोजनमा १६.४ प्रतिशत नागरिक गएका छन् । नेपालमा बस्ने गैरआवासीय भारतीयको संख्या ५ प्रतिशत रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?