+
+
ब्लग :

हैन ! के हो यो जता गयो उतै लाइन ?

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०७९ साउन २० गते १८:५९

जहाँ जनताको भीड हुन्छ त्यहाँ सरकारको अनुहार ऐना जस्तै छर्लंग देखिन्छ । यो भन्नुको अर्थ सरकारले आफ्ना नागरिकलाई सेवा प्रवाह गर्न नसक्नु हो । यस्ता भीड सडकका छेउछाउतिर प्रशस्तै देखिएका हुन्छन् । भीड नदेख्ने सायदै कोही होलान् ।

धेरै भीड धेरै मानिसले देखेका हुन्छन् । भीड देख्नेले भनिहाल्छ कस्तो नालायकी सरकार !केही दिनअघि म पनि राष्ट्रिय परिचयपत्र बनाउन गएको थिएँ । त्यहाँ बाक्लै भीड जमेको थियो । भीड हुनु भनेको सरकारले सेवा प्रवाह गर्न नसकेर नै हुने हो ।

यो भनिरहनुपर्ने कुरो होइन । म ज्येष्ठ नागरिक भएकोले मलाई केही सहज भने पक्कै भयो । त्यो पनि मैले म त ज्येष्ठ नागरिक भनेर अनुरोध गर्नै पर्‍यो । त्यतिले मात्र कहाँ पुग्थ्यो र ? अनुनयविनय गरेर धेरै कुरा थपथाप गर्नु पनि पर्‍यो ।

ज्येष्ठ नागरिक हुँदैमा तपाईंले कहाँ लाइनमा बस्नु नपर्ने सुविधा पाउन सक्नुहुन्छ र ? यो कल्पना नगरे पनि हुन्छ । मलाई लाग्छ यस्ता कुरामा तपार्इं आफंै भुक्तभोगी हुनुहोला । मैले किन भन्नु पर्‍यो र ?

यो लाइन भन्नेले मलाई धेरै दुःख दिएको छ । सरकारी सेवा लिन यसै कठिन त्यसमा पनि लाइन नबस्ने हो भने काम हुन्छ भन्ने कुरा नचिताए पनि हुन्छ । म ज्येष्ठ नागरिक हुँ भन्दा पनि कसैले सुन्ने होइनन् । सबै ज्येष्ठ नागरिक हुन् भन्ने ठाडो जवाफ सुन्नुपर्छ । सकी–नसकी लाइनमा बस्यो टिकटको मुखैमा पुगेपछि जवाफ आउँछ– आजको टिकट सकियो । लाइनमा नबसे हुन्छ ।

यस्ता भुक्तभोगी पनि धेरै हुनुहोला । मैले त धेरै हण्डर खाएको छु । अस्पतालहरूमा यस्ता घटना धेरै भोग्नुपरेको छ । कतिपय अस्पतालमा त ज्येष्ठ नागरिकको कार्ड नै चल्दो रहेनछ । त्यहाँबाट पनि ठाडो जवाफ आउँछ– लाइनमा बसेर आउनुहोस् ।

कुनै सुविधा र छुट नदिने हो भने सरकारले किन ज्येष्ठ नागरिक भनेर परिचयपत्र दिनु पर्‍यो ? तर पनि कुनै कुनै अस्पतालमा भने यो कार्डले काम गर्दाेरहेछ । त्यो भनेको वीर अस्पताल । त्यो पनि टिकट लिनको लागि मात्र । अन्त त लाइनमा बस्नै पर्‍यो ।

खल्तीबाट पैसा झिकेर औषधि किन्न पनि यस्तै समस्या । कस्तो अचम्म त्यहाँ पनि भीडै भीड, लाइनै लाइन । छिटो काम सिध्याउँछु भन्यो, कहाँ त्यस्तो सजिलो हुन्थ्यो र ? जता हेर्‍यो उतै लाइन । भन्नै लाजमर्दो ।

पानी नआउने धाराको पैसा बुझाउन गयो, त्यहाँ पनि लाइन । लाइनले छोड्दै नछोड्ने । बिरामी होस् कि ज्येष्ठ नागरिक । लाइनले त छोड्दै छोड्दैन । पहिले विद्यार्थी बेलामा पढेको कालमहिमा जस्तो । कालले नछोडे जस्तो । धन्न रहेछ यो लाइन ।

पैसा तिर्दा पनि सुविधा दिन नसक्ने भएपछि सरकारले कसरी आय आर्जन गर्न सक्छ र ? कर कार्यालयमा जानुहोस् तपाईंले कर तिर्न कति सास्ती खेप्नुपर्छ ? कर विवरण पेश गर्न पनि त त्यस्तै लाइन । अरू त के बैंकबाट आफ्नै पैसा झिक्न पनि त्यत्तिकै सास्ती खेप्नुपर्छ ।

यति मात्र कहाँ हो र, मेडिकल टेष्ट गराउन पनि त्यस्तै लाइन । एयरपोर्टको प्रस्थानविन्दुमा पनि त्यस्तै लाइन, आगमन विन्दुमा पनि त्यस्तै लाइन । जता हेर्‍यो उतै लाइन । लाइन नभएको त ठाउँ नै नहुने !

सकी–नसकी ढाड तन्काउँदै लाइनमा बस्नै पर्छ । एउटा सानो काम लिएर गयो, एकैछिनमा होला भन्यो । कहाँ हुन्थ्यो र ! सकी–नसकी लाइनमा बस्नै पर्‍यो । नत्र आफ्नै काम बन्दैन । सबैको यस्तै बाध्यता हो नै ।

बस पार्कमा टिकट लिन जानुहोस् कति लामो लाइन देख्नुहुन्छ । तपाईं ज्येष्ठ नागरिक भएर पनि लाइनमा बस्नैपर्छ । ज्येष्ठ नागरिक हुँ भन्न पनि तपार्इंलाई लाज लाग्छ । भनेर सुविधा पाए पो भन्ने ।

बरु नभनेकै बेस । बस, माइक्रो बसमा चढ्दा पनि यस्तै सास्ती खेप्नुपर्छ । ज्येष्ठ नागरिक भनेर एक दुइ सिट छुट्याइएको हुन्छ, तर त्यहाँ हट्टाकट्टा बलियो युवा आरामसँग गफ चुटेर बसेको हुन्छ ।

यसो मुन्टो उठाएर ज्येष्ठ नागरिकतिर हेर्छ, देखेको नदेख्यै गर्छ । सकी–नसकी आफ्नो शरीर धानेको ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकको सिटतिर आँखा लगाएको हुन्छ, उसले किन ध्यान दिन्थ्यो र ? यो त ज्येष्ठ नागरिकको सिट हो भन्दा पनि सुनेको नसुन्यै गर्छ । अनि के लाग्छ ज्येष्ठ नागरिकको ? कन्डक्टरलाई भन्यो– भन्नुहोस् न तपाईं आफैं भन्ने जवाफ सुन्नुपर्छ ।

अब त ज्येष्ठ नागरिकको कार्ड कतै पनि काम नलाग्ने जस्तो भएको छ । खास गरेर यातायातको सुविधामा प्रयोग गर्दा आउने हो । कार्डमा नै यातायातमा सुविधा भनेर लेखेको हुन्छ । त्यो पनि मुस्किलले ५ रुपैयाँको लागि । त्यही ५ रुपैयाँको लागि पनि सुविधा हुँदैन । धम्कीपूर्ण भाषा प्रयोग गर्छन् कन्डक्टरले तेल नहाली गाडी चल्छ र ? हावाबाट गाडी चल्ने हो र ?

सरकारले जारी गरेको कार्डले नागरिकले कुनै सुविधा लिन सक्दैन भने त्यो कार्डको के काम भयो र ? त्यसैले मैले त घरमै थन्क्याएर राखेको छु । विदेशमा पसिना बगाउन जानेहरूको पनि त्यस्तै समस्या छ । मोटो रकम तिरेर जान खोज्दा पनि लाइनले नै दुःख दिएको हुन्छ ।

ठाउँ–ठाउँमा हट्टाकट्टा केटाहरू लाइनमा बसेका देखिन्छन् । केको लाइन होला भनेर आँखा लगायो, म्यानपावर कम्पनीमा विदेश जान खोज्नेहरूको लाइन । यति मात्र कहाँ हो र, मेडिकल टेष्ट गराउन पनि त्यस्तै लाइन । एयरपोर्टको प्रस्थानविन्दुमा पनि त्यस्तै लाइन, आगमन विन्दुमा पनि त्यस्तै लाइन । जता हेर्‍यो उतै लाइन । लाइन नभएको त ठाउँ नै नहुने ।

अहिले त बस चढ्नको लागि पनि लाइनमा नै बस्नुपर्ने । रत्नपार्कको शान्तिबाटिकामा दिउँसो टन्टलापुर घाममा छाता ओढी ओढी बस कुरिरहेका हुन्छन् लाइनमा बसेर । बस आउँछ अगाडिका मानिस हालेर दगुराउँछ, पछिका लाइनका मान्छे हेरेको हेर्‍यै । न बसको व्यवस्था, न लाइनको व्यवस्था । यसरी नै दुःख दिइरहेछ यो लाइनले निरीह जनतालाई । कसले सुनुवाइ गरिदिने ?

राहदानी बनाउन गयो लाइन । लाइसेन्स बनाउन गयो लाइन । कोभिडको भ्याक्सिन लगाउन गयो लाइन । बिजुलीको बिल तिर्न गयो लाइन । सडकको पेटीमा हिंड्न पनि लाइन । अरू त के कुरा मृतक मान्छेलाई पनि छोड्दो रहेनछ यो लाइनले । पशुपतिमा जल्न पनि लाइनमा नै बस्नुपर्ने । कस्तो अचम्म । धन्न सरकार !

ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपांग र अशक्तहरूलाई निकै सास्ती भयो भन्ने लागेर होला तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सार्वजनिक यातायातमा केही सिटको आरक्षण दिने व्यवस्था गरेका थिए । तर, यो व्यवस्था मात्र भयो । कार्यान्वयन हुन सकेन । व्यवस्था गरेर मात्र के भयो र ? यदि त्यसको कार्यान्वयन हुन सक्दैन भने ।

यो आलेखले कसैलाई घोचपेच गर्न खोजेको होइन । अव्यवस्थित विषयहरूलाई उजागर गरिदिएको मात्र हो । यस्ता विषयमा पनि सरकारको उपस्थिति हुनुपर्‍यो भन्नु मात्र हो । सरकारले नीति बनाउँछ तर कार्यान्वयन गर्दैन । यस अवस्थामा नीतिको के अर्थ हुन्छ र ? हो, अब सरकारले आफूले लागू गरेका नीतिको के कसरी कार्यान्वयन भएको छ भनेर अनुगमन गर्नु पर्‍यो ।

सरकारले धेरै काम नगरे पनि हुन्छ । यस्तै सानातिना काम गरेर देखाए पनि जनताको मन जित्न सक्ने हुन्छ । ठूला–ठूला रेल, पानीजहाज, भ्यूटावरको सपना बाँड्नु पनि पर्दैन । सानै काम गरेर पनि लोकप्रियता कमाउन सकिन्छ ।

अरू केही गर्न नसके पनि जनतालाई लाइनमा राखेर सास्ती दिने काम नगरे मात्र पनि निमुखा जनता खुसी भइहाल्थे नि ! कहिले आउला त यसो भन्न नपर्ने दिन– हैन के हो यो ! जता गयो उतै लाइन ?

(लेखक नेपाल सरकारका सेवानिवृत्त उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?