
२४ साउन, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिन सेवा मंगलबारदेखि काभ्रेको तेमाल गाउँपालिका–४ स्थित बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो ।
धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । चिकित्सकहरु अंगिरा कर्माचार्य, मनिषा सिंह वशुकला, अतिथि मिश्र, पुजा श्रेष्ठ, टिना श्रेष्ठ र स्वास्थ सहायक पुरन राउत लगायतकाले बिरामीहरुलाई सेवा उपलब्ध गराएका हुन् । यो सेवाबाट करिब ४० जना बिरामी लाभान्वित भएका थिए ।
दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीय तिलक लामाले बताए । अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नु पर्नेमा उनको जोड थियो ।
धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रुपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ ।
प्रतिक्रिया 4