 
																			२५ साउन, पोखरा । वैशाख ३० गते भएको स्थानीय तहको मत गणना चलिरहेका बेला पोखरा महानगरपालिकाले निश्चित व्यवसायीलाई फोहोर व्यवस्थापनको ठेक्का दिनकै लागि सूचना आह्वान गर्यो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण ल्याण्डफिल साइट तत्कालै व्यवस्था गर्नुपर्ने अवस्था र जनप्रतिनिधि नभएको मौका छोपेर कर्मचारीले एक व्यवसायीलाई ठेक्का पार्ने गरी फोहोर व्यवस्थापनको जिम्मा लगाउन लागेका थिए ।
मत परिणाम सार्वजनिक नभए पनि पोखराको मेयरमा धनराज आचार्य विजयी हुने पक्काजस्तै भइसकेको थियो । जनप्रतिनिधि आउन केही दिनमात्र बाँकी हुँदा महानगरका कर्मचारीले कुनै व्यवसायीलाई ठेक्का पर्ने गरी सूचना निकालेपछि आचार्यले विजयी नहुँदै त्यसको विरोध गरे । संक्रमणकालमा रातारात निहित स्वार्थमा रहेर गरिने अपारदर्शी काम कारबाही स्वीकार्य नहुने आचार्यले चेतावनी दिएका थिए ।
ठेक्का आवेदनका लागि जेठ १० गतेका लागि अन्तिम मिति राखेर सूचना निकालिएको थियो । ११ गते मेयरमा आचार्य निर्वाचित भए र १२ गते पदबहाली गरे । कुनै कम्पनीलाई फोहोरको ठेक्का दिने प्रक्रियालाई मेयर आचार्यले रोकिदिए ।
कर्मचारीको मिलोमतोमा ठेक्का हाल्ने कम्पनीलाई फाइदा पुग्ने गरी फोहोर व्यवस्थापनका लागि पोखरामा ६ वटा कम्पनीलाई ठेक्का दिइएको छ । तर, उनीहरुको म्याद सकिइसकेको छ भने अर्को ल्याण्डफिलको व्यवस्था नहुँदासम्मका लागि महानगरले उनीहरुलाई फोहोर उठाउने जिम्मेवारी दिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा २ किलोमिटरको दूरीमा रहेको ल्याण्डफिल नसारी उडान असम्भव छ । मेयर निर्वाचित हुनुभन्दा अगाडिदेखि नै फोहोर व्यवस्थापन गर्नैपर्ने बाध्यता बुझेका आचार्यले अहिलेको ल्याण्डफिलको विकल्प खोजिरहेका छन् तर उपाय निकाल्न सकेका छैनन् ।
‘सबैभन्दा ठूलो टाउको दुखाइ नै ल्याण्डफिल बनेको छ । पोखराको विषय काठमाडौंभन्दा पनि जटिल बन्यो,’ मेयर आचार्यले भने, ‘जनवरी १ मा विमानस्थल सञ्चालनमा आउनुभन्दा पहिले नै ल्याण्डफिलको व्यवस्था गर्नुपर्ने छ । भरसक दीर्घकालीन रुपमै व्यवस्थापन गर्न रातदिन नभनी लागि परेका छौं ।’
पोखरामा वर्षौंदेखि फोहोरमाथि राजनीति चल्दै आएको छ । पोखरा महानगरले तदारुकता देखाइदिएको भए यसभन्दा अघिका मेयर मानबहादुर जिसीकै पालामा ल्याण्डफिल बनिसक्नुपर्ने थियो । जिसीको कार्यकालमा अध्ययन समिति बनाएर ठाउँ तोक्ने काम भए पनि स्थानीयको विरोधले टुंगो लाग्न सकेन ।
मेयर जिसीको पालामै पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको संयोकत्वमा गठित समितिले वडा नम्बर १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल्ड बनाउन सिफारिस गरेको थियो । तर, स्थानीयको विरोधले अगाडि बढ्नै सकेन ।
अघिल्लो कार्यकालमै जाँदाजाँदै मेयर जिसीकै अध्यक्षतामा ५५ औं कार्यपालिकाको बैठकबाट वडा नम्बर ३३ मा ल्याण्डफिल बनाउने निर्णय भयो । जिसीको पालामा निर्णय भए पनि निर्वाचनको मिति आइसकेकाले कार्यान्वयन हुन सक्ने अवस्था थिएन । आचार्य मेयर बनेर आइसकेपछि पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामै नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गर्यो र १० लाख रुपैयाँ पनि विनियोजन भयो । तर, फेरि स्थानीयको विरोधले नयाँ ल्याण्डफिलको काम पनि अगाडि बढ्न सकेन ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको मिति तय भइसकेकाले अहिले मेयर आचार्यलाई १/२ महिनाभित्र ल्याण्डफिलको व्यवस्था गर्न केन्द्रबाटै दबाब छ । विमानस्थल सञ्चालन गर्न अवरोध पनि नहुने र आफूले गर्व गर्न लायक पहिलो दीर्घकालीन महत्वको काम पनि हुने भएकाले मेयर आचार्यले अनेक उपाय अपनाइरहेका छन् । पोखरामा भएको मेयर सम्मेलनमा पनि त्यस्तो कुनै प्रविधि भए सुझाउन आग्रह गरेका थिए ।
‘ल्याण्डफिल साइटको व्यवस्थापन गर्नु हाम्रो मुख्य दायित्व बनेको छ । त्यसैले पनि हामी गम्भीर ढंगले लाएका छौं । भदौको पहिलो हप्तासम्म कुन प्रकारको मेसिन राख्ने, कुन प्रविधि अपनाउने, कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लगाउँछौं,’ मेयर आचार्यले भने, ‘अहिले धरानले फोहोर व्यवस्थापनमा अपनाइरहेको प्रविधिलाई पछ्याउन विशेष ढंगले अध्ययन गरिरहेका छौं ।’
धरानमा भारतीय मेसिन र प्रविधिबाट फोहोर व्यवस्थापनको काम भइरहेको छ । धरान उपमहानगरपालिकाले अघिल्लो सालदेखि फोहोरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने काम गरिरहेको छ । फेरि प्रयोग हुन सक्ने र ल्याण्डफिलमा फाल्नुपर्ने छुट्याएर फोहोर व्यवस्थापन भइरहेको छ । मल र ग्याँस उत्पादनपछि थोरैमात्र फोहोर ल्याण्डफिलमा फाले पुग्ने धरानको प्रविधिलाई पोखराले पनि पछ्याउन लागि परेको छ ।
सार्वजनिक निजी साझेदारीबाट महानगरलाई कवाडी, मल, ग्याँसबाट ठूलो आम्दानी पनि हुने र व्यवस्थापन पनि सहज हुने गरी धरानमा कसरी फोहोर व्यवस्थापन भइरहेको बुझ्नकै लागि पोखरा महानगरको टोली धरान गएको छ ।
पोखरा महानगरपालिकाबाट वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, ल्याण्डफिल बनाउने भनिएको वडाका अध्यक्ष रामचन्द्र अधिकारी, फोहोरमैला व्यवस्थापन शाखा प्रमुख कल्पना बराल र इन्जिनियर नेत्र तिमिल्सिनाको टोली धरानमा भइरहेको फोहोर व्यवस्थापनको अध्ययन गर्न गएको हो । यो टोलीले धरानबाट फर्केलगत्तै पोखरामा आफ्नो धारणा र विकल्पसहित प्रस्तुति राख्ने छ । लगत्तै यो टोलीका सदस्यसहित अर्को समूह फेरि फोहोर व्यवस्थापनबारे बुझ्न भारतको दिल्ली जाने भएको छ ।
‘धरानमा भारतीय प्रविधिबाट फोहोरको व्यवस्थापन भइरहेको छ भने भारतको दिल्लीमा अक्सफोर्ड युनिभर्सिटीले गरेको फोहोर व्यवस्थापनबारे पोखराको टोलीले अध्ययन गरेर फर्किनेछ,’ मेयर आचार्यले भने, ‘पोखरामा पनि फोहोर व्यवस्थापनका लागि १० वटा जति निजी क्षेत्रबाट प्रस्ताव आएका छन् ।’
धरानमा फोहोर व्यवस्थापन गरिरहेको निजी संस्थाले पनि पोखरामा आएर प्रस्ताव राखेको थियो । त्यसलगत्तै अध्ययनका लागि टोली पठाएको मेयर आचार्यले जानकारी दिए । ‘कोरियन प्रविधि, जापनिज प्रविधि भनेर विभिन्न ग्याँस, मल बनाउने लगायतका १० वटा प्रस्ताव आएका छन् । त्यसमध्ये सबैभन्दा उपयुक्त कुन हुन्छ भन्ने दिल्लीको अभ्यास पनि हेरेर फर्केपछि टुंगो लाग्छ,’ मेयर आचार्यले भने, ‘महानगरले जमिनको व्यवस्था गरिदिने र निजी कम्पनीले मेसिन व्यवस्थापन गर्ने भन्ने प्रस्तावहरु छन् । हामीले नै किनेर पो व्यवस्थापन गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’
अहिले पोखराको ल्याण्डफिल साइटमा करिब १ सय ५० टन हाराहारी फोहोर विसर्जन हुने गरेको छ । बढ्दो जनसंख्या र सहरीकरणलाई ध्यान दिँदै अब २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने अनुमानसहित नयाँ योजना अगाडि बढाइएको आचार्यले बताए ।
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4