+
+

चोरी गरेको सामान फिर्ता माग्दा हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १७:४४
हत्या आरोपमा पक्राउ परेकाहरू ।

२६ साउन, जनकपुरधाम । चोरी गरेपछि गाउँमै मिलापत्र गराएर क्षतिपूर्ति दिने गरी बनाइएको तमसुक बमोजिमको पैसा तिर्न दबाव दिएपछि धनुषामा एक व्यक्तिको हत्या भएको पाइएको छ ।

चोरी गरेको सामान र रकम तिर्न नपर्ने मनसायका साथ सामान धनीका छोराको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम ७ मा डेरा गरी बस्ने ३२ वर्षीय जितकुमार यादव, उनका भाइ २१ वर्षीय कृष्ण यादव, २५ वर्षीय सन्तोषकुमार साह, धनुषाको औरही गाउँपालिका २ घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगर बस्ने २७ वर्षीय बिगुल मुखिया बिन र उनकी श्रीमती २१ वर्षीया किरण भनिने प्रमिला महरा छन् ।

बिगुल र उनकी श्रीमती प्रमिलालाई क्षिरेश्वरनाथ नगरपालिकाबाट तथा बाँकी तीन जनालाई जनकपुरधाम ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यी पाँचै जनाले मिलेर जनकपुरधाम ७ स्थित माछा बजार बस्ने १८ वर्षीय अजय भनिने अर्जुन साहको २० साउनमा हत्या गरेको प्रहरीको आरोप छ । अर्जुनको शव महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौरस्थित सडक खण्डमा फेला परेको थियो ।

महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसवी प्रकाश बिष्टका अनुसार एक वर्षअघि बिगुल, प्रमिला र कृष्ण यादवले अर्जुनको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका गहना चोरेका थिए । त्यसकोे जानकारी पाएर मृतक अर्जुनकी आमाले किरण र कृष्णलाई प्रहरीमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी चोरी गरेको सामानको रकम तिर्ने भन्दै बिगुलले १ लाख १७ हजार तथा कृष्णले २ लाख ४६ हजार रुपैयाँको तमसुक बनाएका थिए । तमसुक बनाएपछि उनीहरु सम्पर्कविहीन थिए ।

अर्जुनको हत्या हुनुभन्दा २० दिन अगाडि साउन १ गते मृतक अर्जुनकी आमाले उनीहरुलाई जनकपुरधाममै फेला पारी तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाएकी थिइन् । त्यही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र पैसा तिर्ने कबुल गरेको तमसुक समेत लुटने योजना बनाएको देखिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी बिष्टले जानकारी दिए ।

यसरी बन्यो योजना

कृष्ण यादवले पूर्व योजना बमोजिम आफ्नो दाजु जितकुमार र सन्तोष कुमारलाई अर्जुनलाई मारेमा ३० हजार रुपैयाँ दिने आश्वासन दिए । यस सम्बन्धमा बिगुल र प्रमिलासँग समेत आफ्नो सल्लाह भएको उनले दुबैलाई सुनाए ।

२० साउनको बिहान जितकुमारले अजय भनिने अर्जुनलाई फोन गरी लोहारपट्टीको फुलबरिया गाउँमा बोलाए । ‘अर्जुनले चलाउँदै आएको सिटी रिक्सा रिजर्भ गर्ने भन्दै १ हजार रुपैयाँ भाडा तिर्ने शर्तमा उनलाई बोलाएको देखिन्छ’ डीएसपी बिष्टले भने, ‘अर्जुन पुगेपछि दुबैले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा पासो लगाएर सिटी रिक्साभित्रै हत्या गरेका रहेछन् ।’

हत्या गरी अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टीको नहरमा फाली सिटी रिक्सालाई जितकुमारले चलाएर सन्तोष समेत बसी जनकपुरधाम ७ मुसहरु टोलस्थित माँ जानकी सप्लायर्समा छाडेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

डीएसपी बिष्टले पक्राउ परेका पाँचै जनाबिरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?