+
+

संसदमा एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १४:०८

२९ साउन, काठमाडौं । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार रोष्ट्रम प्रयोग गरे ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेषसमिति गठन भएको थियो ।

समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन दिएपछि साउन १५ गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका शर्माले पहिलोपटक संसदको रोष्ट्रम प्रयोग गरे ।

आइतबार अर्थमन्त्री शर्माले अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयकमाथि छदफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । छलफल गरियोस् भन्ने प्रस्ताव एमालेका सांसदहरुसहितको सभाले बहुमतले स्वीकृत गर्‍यो ।

त्यसपछि सांसदहरुलाई विधेयकमाथि बोल्न सभामुखले समय दिए । छलफलमा एमालेका सांसदहरुले पनि भाग लिए । छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभाले विधेयक बहुमतले पारित गर्‍यो ।

प्रतिनिधिसभामा यस्तो सहज दृष्य धेरै पछि देखा परेको हो । चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवे गराएको आरोप लागेपछि एमालेले संसदमा अर्थमन्त्री शर्मालाई बहिस्कार गरेको थियो ।

त्यतिबेला बजेटको मन्त्रालयगत छलफलमा अर्थमन्त्री शर्मा रोष्ट्रममा जवाफ दिन जाँदा सभाहलबाट बाहिरिने र अर्थमन्त्री शर्मा रोष्ट्रमबाट ओर्लिएपछि सभाहल प्रवेश गर्ने गरेको थियो । तर आइतबार भने एमालेले अर्थमन्त्री शर्मालाई सहजै स्वीकार गर्‍यो ।

एमालेले अर्थमन्त्रीमाथि निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभाले २२ असारमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले १७ दिन लगाएर गरेको छानबिनले बजेटमा अनधिकृत व्यक्ति प्रवेशको प्रमाण फेला पार्न सकेन ।

उक्त प्रतिवेदनमा छानबिन समितिमा रहेका एमाले सांसदहरुले फरक मत राखेका थिए । सत्तापक्षले बहुमतका आधारमा अर्थमन्त्री शर्मालाई चोख्याएको भनी एमालेले छानबिन समितिको प्रतिवेदनमै फरक मत राखेको थियो ।

एमाले सांसदहरुले संसदमै बोल्ने क्रममा अर्थमन्त्रीलाई चोख्याउन सत्तापक्षले भूमिका खेलेको, बहुमतका आधारमा चोख्याएको आरोप लगाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै ११ सदस्यीय छानबिन समितिमा ७ जना सत्तापक्षका सांसद राखेर छानबिनको नाटक गरेको टिप्पणी गरेका थिए ।

तर, आइतबार भने उनीहरुले अर्थमन्त्री शर्माले रोष्ट्रम प्रयोग गर्दा र अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विजनेसमाथि छलफलमा भाग लिएर एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार गरे । अर्थमन्त्री शर्माले आइतबार नै थप प्रस्तावहरु समेत संसदमा प्रस्तुत गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरियोस्’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ लाई पारित गरियोस’ भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?