+
+

घरको रंगरोगन : कुन रंग स्तरीय, कति पर्छ मूल्य ?

अंगद सिंह अंगद सिंह
२०७९ साउन ३० गते १६:०८

काठमाडौं । वर्षायाम सकिंदैछ । चाडपर्वको याम सुरु हुँदैछ । चाडपर्वमा घरलाई चिरिच्याट्ट बनाउने चलन छ, नेपाली समाजमा । नयाँ घर बनाउने, पुरानै घरलाई मर्मतसम्भार वा रंगरोगन गर्ने याम पनि यही हो । अतः घरमा कस्तो रंग लगाउने त ? कुन रंग बढी स्तरीय र टिकाउ हुन्छ ?

यो प्रश्न किन पनि जरुरी हुन्छ भने बजारमा अनेकथरी रंग उपलब्ध छन् । अनेक कम्पनी, ब्रान्ड, स्तर र मूल्य । त्यसमध्ये कुन रंग उपयुक्त हुन्छ, उपभोक्तालाई द्विविधा हुन सक्छ । यससँगै के पनि द्विविधा हुन्छ भने आफ्नो घरका लागि कस्तो रंग उचित हुन्छ ? कुन कोठामा कस्तो रंग सुहाउँछ ?

कतिपयले वास्तुशास्त्र अनुसार घरको रंगरोगन गर्छन् भने कतिपयले आफ्नै रुचिलाई सर्वोपरी मान्छन् । त्यसो त अहिले इन्टेरियर डिजाइनरले पनि घरमा कस्तो रंगरोगन गर्ने भनी परामर्श दिने गर्छन् ।

कुन राम्रो ? कुन टिकाउ ?

बजारमा रंगका विभिन्न कम्पनी भए पनि वाटर बेस्ड पेन्ट  र अइल बेस्ड पेन्ट उपलब्ध छन् । वाटर बेस्ड पेन्टमा सल्भेटको रुपमा पानी हुन्छ । वाटर बेस्ड पेन्टलाई ल्याटेक्स र एक्रिलिक ल्याटेक्स पनि भनिन्छ । यो घरको जुनसुकै संरचनामा पनि प्रयोग गर्न सकिन्छ । यो अधिकांश घरधनीको रोजाइमा पर्छ ।

वाटर बेस्ड पेन्टमा थोरै मात्रामा भोलेटाइल अर्गानिक तत्व रहेको हुन्छ । जसले कोठाको पानी सोस्ने काम गर्छ । यो पेन्ट गुणस्तरयुक्त चिस्यान, ओस रोक्ने र लगाइसकेपछि छिटो सुक्ने समेत हुन्छ ।

अइल बेस्ड पेन्टमा सल्भेन्टको रुपमा मिनरल स्प्रिट रहेको हुन्छ, जसलाई अल्किड रेसिन भनिन्छ । यसले रंगलाई चिपिक्क टास्ने र चम्किलो बनाउने काम गर्छ । यो बाथरुमका साथै भान्सामा बढी प्रयोग हुन्छ ।

बाथरुम र भान्सामा यो रंग प्रयोग गर्दा चम्किलो हुनुका साथै धुनसमेत सहज हुन्छ ।

ब्रजर पेन्ट्सका एसिस्टेन्ट मार्केटिङ म्यानेजर विनोद महर्जन बजारमा धेरै रंगका पेन्ट उपलब्ध रहेकाले घर रंगरोगन गर्दा घरको डिजाइन र घरधनीको मन पर्ने रंगका साथै कम्पनी र त्यसको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् ।

‘घरमा रंग लगाउँदा पेन्टको ब्रान्ड, वारेन्टी र गुणस्तरका साथै उत्पादन गरिएको प्रविधिबारे जान्नुपर्छ । महर्जन भन्छन्, ‘सुन्दर आकर्षक घरका लागि पेन्टको गुणस्तर र वारेन्टीमा ध्यान दिनुपर्छ ।’

घर सुन्दर र आकर्षण देखिनुमा रंगका साथै रंग लगाउने व्यक्तिको कलाको पनि ठूलो भूमिका हुने उनी बताउँछन् । ‘पेन्टले मात्रै घर सुन्दर र आकर्षक बनाउँछ अरु केही चाहिंदैन भन्ने होइन । घर सुन्दर र आकर्षक बनाउन पेन्टरको महत्वपूर्ण भूमिका हुन्छ,’ महर्जन भन्छन् । घरमा रंग लगाउँदा घामपानी छेक्ने, नखुइलिने, चिल्लो देखिने, ढुसी नपर्ने र ब्रान्डेड रंग छान्नुपर्ने महर्जनको भनाइ छ ।

उनका अनुसार बर्जर पेन्टको बजारमूल्य न्यूनतम  प्रतिलिटर ७५० देखि १ हजार ९५० रुपैयाँसम्म पर्छ । पशुपति पेन्ट्सका लेखापाल मदन भट्टराई घर रंगरोगन गर्दा रंगको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् । उनका अनुसार बजारमा उपलब्ध ब्रान्डमध्ये गुणस्तर, टिकाउ र भरपर्दो रंग छान्नुपर्छ ।

‘रंग राम्रो भएर मात्रै हुँदैन । घर सुन्दर, चिटिक्क र आकर्षक बनाउन लगाउने विधि र तरिका सही हुनुपर्छ,’ उनी भन्छन्, ‘घरका लागि महंगो भए पनि गुणस्तरीय पेन्ट नै लगाउनुपर्छ । जसले घामपानीबाट बचाउनुका साथै सुन्दरता झल्काइराखोस्,’ उनले भने ।

रंगको नाम र गुणस्तर अनुसार मूल्य फरकफरक हुन्छ । भट्राईका अनुसार पशुपति पेन्ट्सको बजारमूल्य प्रतिलिटर २५० देखि सुरु भएर १ हजार २ सय रुपैयाँसम्म पर्छ ।

कम गुणस्तरका तथा सस्तो पेन्ट न्यूनतम दुईदेखि तीन वर्षसम्म टिक्ने उनी बताउँछन् । उच्च गुणस्तरयुक्त पशुपति पेन्ट्सको पाँचदेखि सात वर्ष वारेन्टी हुन्छ ।

कस्तो रंग सुहाउँछ घरमा ?

इन्टेरियर डिजाइनर तथा रेड कर्टेन इन्टेरियरका प्रमुख सञ्जय बासुकलाका अनुसार परिवारको रुचि, घरको डिजाइन र वास्तुशास्त्रको संयोजन मिलाएर रंगरोगन गर्नुपर्छ ।

‘घरको डिजाइन कस्तो छ, त्यही अनुसार कस्तो रंग लगाउने भनेर छनोट गर्न सकिन्छ,’  उनी भन्छन्, ‘कसैले वास्तुशास्त्र अनुसार रंग लगाउँछन् भने कसैले आफूलाई मन पर्ने रंग । रंग लगाउने कुरा घरधनीको रोजाइमा भर पर्छ । तर फर्निचरसँग मिल्दो रंग संयोजन गज्जब हुन्छ ।’

घरको साजसज्जा भव्य भएर मात्र हुँदैन, त्यसलाई सुहाउँदो रंगरोगन पनि उत्तिकै जरुरी हुन्छ । घर कस्तो भूगोलमा बनेको हो, कस्तो डिजाइनमा बनेको त्यसैलाई आधार बनाएर कस्तो रंग उपयुक्त हुन्छ भन्ने निक्र्यौल गर्न सकिन्छ । सम्भव भएसम्म घरमा उज्यालो रंग लगाउनुपर्छ । घरमा बहुरंगी वा कालो (अँध्यारो) रंग सुहाउँदैन । घरको आवरणमा दुईवटा करिब समान रंग उचित हुन्छ भने घरभित्र कोठा अनुरुप रंग छनोट गर्न सकिन्छ । घरको सिलिङमा सेतो वा उज्यालो रंग नै बढी खुल्छ ।

यदि घरमा धेरै झ्यालढोका छैन वा भित्र प्रशस्त उज्यालो पुग्दैन भने त्यस्तो कोठामा उज्यालो एवं चम्किलो रंग लगाउनुपर्छ । धेरै भड्किलो देखिने वा धेरै उदास लाग्ने रंग लगाउनु उचित हुँदैन । यस्तो रंगले घरलाई अशोभनीय देखाउने मात्र नभई मान्छेको मनोविज्ञानमा नराम्रो असर गर्छ ।

मान्छेको मनोविज्ञानमै आधारित रहेर वास्तुशास्त्रले पनि घरको रंग कस्तो लगाउने भन्ने सुझाव दिन्छ । ‘आँखालाई नबिझाउने वा मनलाई पनि आनन्दित तुल्याउने रंग प्रयोग गर्नुपर्छ,’ वास्तुविद् लक्ष्मण पन्थी भन्छन् ।

त्यो त घरमूलीको नाम, राशी, कुण्डली मिलाएर पनि रंगको छनोट गर्ने प्रचलन छ । यस किसिमले रंग छनोट गर्दा घरमा सुख, शान्ति मिल्ने जनविश्वास छ ।

वास्तुशास्त्र अनुसार कहाँ कस्तो रंग लगाउने ?

घरको मूल ढोका : घरको ढोका कुन दिशातिर फर्केको छ भन्ने कुराले पनि वास्तुशास्त्रमा निकै अर्थ राख्छ । वास्तुशास्त्र अनुसार घरको मूल ढोका गोल्डेन रंगको राख्नु शुभ मानिन्छ । यद्यपि ढोकाको अधिकांश रंग काठ कलरको हुन्छ । ढोकामा गणेश-लक्ष्मीको मूर्ति राख्दा निकै आकर्षण र उत्तम मानिन्छ । ढोकामा कालो रंगको प्रयोग गर्नु हुँदैन । मूलढोका प्रशस्त मात्रामा उज्यालो आउने स्थानमा हुनुपर्छ ।

बस्ने कोठा : बस्ने कोठाका लागि ग्रिन, क्रिम तथा शान्ति प्रदायक रंग सेतो रंगको प्रयोग गर्नु उत्तम मानिन्छ । यसले कुनै पनि काम गर्दा दत्तचित्त भएर काम गर्न मन लाग्नुका साथै शान्तिको अनुभूति दिलाउँछ । बस्ने कोठाको रंग चम्किलो हुनुका साथै आँखा तथा मनलाई शीतलता प्रदान गर्ने हुनुपर्छ । साथै बैजनी, हल्का पहेंलो र गुलाबी रंगको समेत प्रयोग गर्न सकिन्छ ।

भान्साकोठा : वास्तुशास्त्र अनुसार भान्साकोठामा रातो रंग प्रयोग गर्नु उपयुक्त मानिन्छ । भान्साकोठामा खानेकुरा हुने भएकाले त्यहा प्रशस्त मात्रामा उज्यालो हुनुपर्छ, रातो मात्रै नभई भान्सामा गाढा रातो रंगको समेत प्रयोग गर्न सकिन्छ ।

शयन कक्ष : शयन कक्षामा हल्का रंग प्रयोग गर्नु उपयुक्त मानिन्छ । शयन कक्षमा हल्का रंग प्रयोग नगर्दा राम्रो हुन्छ । यहा हल्का गुलाबी, हरियो र क्रिम रंग प्रयोग गर्न सकिन्छ । शयन कक्षको सिलिङमा नीलो र आकाशे रंग प्रयोग गर्नु राम्रो मानिन्छ भने भित्तामा हल्का सेतो रंग लगाउनु राम्रो मानिन्छ ।

बाथरुम : बाथरुम दक्षिण पश्चिममा रहने हुँदा हल्का कालो रंगको प्रयोग गर्नु राम्रो मानिन्छ । शौचालयलाई सधैं सफा राख्नुपर्छ । पूर्व र उत्तर दिशाको कुनामा शौचालय तथा बाथरुम बनाउनु हुँदैन । यो दिशामा शौचालय बनाउँदा सूर्यको किरणसँगै नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने सम्भावना रहन्छ ।

पढ्ने कोठा : पढ्ने कोठामा वृहस्पति र बुध ग्रहसँग सम्बन्धित सेतो, पहेंलो रंग लगाउनु उपयुक्त मानिन्छ ।

बजारमा दर्जन बढी रंग कम्पनी भएकाले घरमा कुन रंग लगाउने भन्नेबारे ज्ञान नहुँदा घरको सुन्दरता मात्रै बिग्रिंदैन । यसले घरको आकर्षणमा समेत असर पुर्‍याउँछ ।

घरको डिजाइन र वास्तु अनुसार कुन रंग उपयुक्त हुन्छ, त्यसको आधारमा रंग लगाउँदा उपयुक्त मानिन्छ ।

बैठक कोठा : रंग व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ । घरमा रंग लगाउँदा सुरुमा घरधनी आफूले मन पराएको रंग लगाउँछ । मिटिङ रुममा फर्निचरका सामग्री धेरै हुने हुँदा फर्निचरसँग कलर संयोजन मिलाउनुपर्छ । जसले कोठालाई सुन्दर र आकर्षित बनाउँछ ।

बैठक कोठामा हल्का रंग प्रयोग गर्दा नै राम्रो देखिन्छ । सेतो रंगका साथै खैरो र निलोर रंग लगाउँदा कोठा आकर्षक देखिन्छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?