+
+

तस्वीरमा हेर्नुहोस् पोखरामा ट्होटें उत्सव

पुकार पुर्जा पुकार पुर्जा
२०७९ साउन ३१ गते १७:००

३१ साउन, पोखरा । गुरुङ भेषभूषामा सजिएका बालबालिकादेखि बुढापाकासम्म । गुरुङ संस्कृति र संस्कारसँग झल्किने झाँकी । हिमाली जनजीवन, गुरुङको जनजीवनको झल्को दिने घर, भांग्रालगायतका कपडा बुन्ने चर्खादेखि खर्कसम्मका बिम्ब साउनको अन्तिम मंगलबार पोखरामा एकै ठाउँमा झल्कियो ।

पोखरालाई तमुहरुको शहरका रुपमा चिनिन्छ । पोखराको सहरीकरणमा गुरुङ समुदाय विशेषत लाहुरेहरुको विशेष भूमिका रहेको मानिन्छ । त्यही तमुहरुको सहर पोखरामा मंगलबार हर्षोल्लास साथ ट्होटें पर्व मनाइएको छ ।

आफ्नो सांस्कृतिक पर्वलाई भव्य रुपमा मनाउन कास्कीका विभिन्न ठाउँबाट पोखरामा आएका थिए । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका गुरुङ गाउँहरुका बेग्लाबेग्लै समाजहरु पनि छन्, पोखरामा । ती समाजहरुको नेतृत्वमा पोखरामा गुरुङ समुदायका मानिस जातीय भेषभूषामा, बाजागाजा र झाँकीसहित ट्योटें पर्वलाई मनाउन आइपुगेका हुन् ।

पोखरा मानव अधिकारचोकदेखि चिप्लेढुंगा, महेन्द्रपुल, नयाँ बजार हुँदै ¥यालीसहित तमु धिं नेपालको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । गुरुङ समुदायको जातीय पोशाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी ¥यालीमा प्रदर्शन गरिएको तमु धिंका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भालालगायतका विशेष हतियार लिएर ढ्याङ्ग्रो, छेलीलगायत बाजा बजाई नाचगान गर्ने चलन रहिआएको छ ।

दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने तथा भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा गुरुङ समुदायले यसलाई मनाउँदै आएको संस्कृतिकर्मीहरु बताउँछन् ।

यसपटक ट्होटें पर्वको उत्सवमा प्रमुख अतिथि भएर आएकी थिइन्, राष्ट्रपति विद्यादेवी भण्डारी । गुरुङ संस्कृति, विभिन्न झाँकी र नृत्य देखेर राष्ट्रपति भण्डारी दंग थिइन् ।

ट्होटेंको कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

गण्डकी प्रदेशको खासगरी हिमाली भेग गुरुङ, भाषा र संस्कृतिको उद्गम थलो मानिने भण्डारीको भनाइ थियो । ‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् ।

गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सभामुख नेत्रनाथ अधिकारी लगायत पनि सहभागी थिए । प्रदेश प्रमुख गुरुङले तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली गुरुङहरुको बाहुल्य रहेको गण्डकी प्रदेशले सम्पूर्ण तमुहरुले अपनत्व गर्ने गरी सरकारले कार्यक्रम ल्याइरहेको बताए ।

ट्होटें पर्व कहिलेदेखि मनाउन थालियो भन्ने तथ्यांक नभए पनि यो गुरुङ जातीहरुको मौलिक र सांस्कृति पर्व मानिन्छ ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?