
काठमाडौं । अभिनेत्री तथा मोडल परमिता राणाको फिल्म करिअर उति सुखद् हुन सकेन । पछिल्लो फिल्म ‘द कर्म’ बक्स अफिसमा असफल भएपछि उनी सुखद् कमब्याकको प्रतीक्षामा थिइन् ।
टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपालको प्लेटफर्मबाट उनी चम्किइन् । नृत्यमा पनि आफू अब्बल छु भन्ने प्रमाणित उनले यो टीभी कार्यक्रमबाट गरिन् ।
केही साताअघि मोडलिङ र विज्ञापन एजेन्सीको निम्तोमा मुम्बईमा पुगेकी परमिताले केही समय त्यतै बिताउने संकेत मिलेको छ । मंगलबार उनले आफ्ना फ्यानलाई मुम्बईबाट नयाँ खबर सार्वजनिक गरेकी छन् ।
चर्चित बलिउड मिडिया र एजेन्सी पिंकभिल्लासँग उनी आबद्ध भएकी छन् । आफू उक्त कम्पनीको सौन्दर्य विभागतर्फ जुनियर क्रिएटिभ प्रोड्युसरको रुपमा आबद्ध भएको उनले जनाएकी छन् ।
‘पिंकभिल्ला फ्यामिलीसँग आबद्ध हुन पाउँदा खुसी छु,’ परमिता लेख्छिन्, ‘मेरा लागि सन् २०२२ उत्कृष्ट रह्यो ।’
व्यावसायिक मोडलको रुपमा करिअर सुरु गरेकी परमिताले चपली हाइट २ बाट फिल्ममा डेब्यु गरेकी हुन् । त्यसयता उनले रोज, चंगाचेट र द म्यान फ्रम काठमाण्डूमा अभिनय गरिन् । कम्पनीमा जागिर सुरु गरेपछि उनी केही समय त्यतै रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4