+
+
ब्लग :

छोराको सपना कहिल्यै पूरा नहोस्

विश्वराज पौडेल विश्वराज पौडेल
२०७९ साउन ३१ गते १९:२८

‘बाबा हजुरको पुरस्कार कहिले पाउने ?’ छोरासँगै मोबाइल स्क्रोल गर्दैथिएँ । स्क्रिनमा बीमा मृत्युदावी भुक्तानी सम्बन्धी एक विज्ञापन देखापर्‍यो । उक्त तस्बिर देखेसँगै छोराले अनायासै सोधेको उक्त प्रश्नले मेरो शरीर चिसो भयो । म किंकर्तव्यविमूढ भएँ ।

इन्स्योरेन्स कम्पनीमा जागिरे जीवन बिताएको करिब १२ वर्ष पूरा हुँदै गर्दा धेरै प्रश्नको सामना गर्नुपर्‍यो । तर मेरो ७ वर्षीय अबोध बालक छोराले सोधेको प्रश्नले मलाई नराम्ररी झस्कायो ।

प्रश्न छोटो तर, सीधा थियो । उसले खोजेको उत्तर दिन मलाई सजिलो थिएन । किमार्थ उसले खोजेको मेरो अन्त्य थिएन । तर मेरो अन्त्य नै उसको उत्तर थियो । छोरोलाई सीधा उत्तर दिन सकिनँ । आज त्यही उत्तर खोज्दै गर्दा यो आलेख तयार पारेको छु ।

मोबाइलमा देखिएको फोटो देखाउँदै छोरो भन्छ– ‘बाबा हजुरको पुरस्कार कहिले दिन्छ ?’ अवोध बाल मस्तिष्कबाट सोधिएको यो प्रश्नले मेरो मनमा ठूलै भूकम्प ल्याइदियो । बोल्न खोज्छु आवाज निस्कँदैन । ठूलै बिरामी भएर वाक्य बसे झैं भयो । ओठमुखै सोहिरिए जस्तो पो भयो । नाडीका रौं ठाडा भए । मेरो स्तब्धता देखेर छोराले मनमा के सोच्दैथियो कुन्नि ! ठिक त्यहीबेला तीनवर्षे छोरी आफ्नो दादा खोज्दै आइन् र म स्वतन्त्र भएँ ।

हामीमा मोबाइल र सञ्जालको लत यसरी लागिरहेको छ कि छोराछोरी छेलिएको मौकामा मोबाइल हेरिएन भने हाम्रो जीवन नै अधुरो र अपूरो लाग्छ, जहाजै डुब्न लाग्दैछ जस्तो हुन्छ । बालबालिकाको अगाडि सामाजिक सञ्जाल र मोबाइल ग्याजेटहरू नचलाउने नियम उल्लंघन गरिरहेका हुन्छौं ।

नियम आफैंले तोड्नुको परिणाम दिमाख हल्लाउने छोरोको प्रश्न तेर्सियो । मलाई मेरो छोरोको प्रश्नले स्तब्ध पार्दै गर्दा ती मान्छेको सोच बदलिदिन्छ कि स्तब्धसम्म पनि पार्दैन, पक्कै समयले बताउनेछ ।

छोराको प्रश्नबाट उन्मुक्ति भई गहिरो सास लिंदै गर्दा मनमनै मलाई आफ्नो पेशा, आफ्ना सहकर्मी, प्रचारमुखी नेतृत्व, हाम्रो काम गर्ने शैली, हरेक विषय प्रचार गर्नुपर्ने लघुताभासबाट ग्रसित भीड सम्झेर पेशाप्रति नै धिक्कार लाग्न थाल्यो ।

बीमा मृत्यु दावी प्रचार या योजना

आज यो समाजमाझ एउटा गम्भीर प्रश्न उठेको छ, एउटा बीमा कम्पनीले गर्ने हर कुनै गतिविधिको प्रचार गर्ने हो वा बीमा कम्पनीले प्रचार गर्ने निश्चित र निर्धारित विषय मात्र प्रचारप्रसारमा ल्याउने हो ?

मानवीय संवेदना बोकेको बीमित मृत्यु दावी भुक्तानी लिंदाको नियमित गतिविधिमा बीमा कम्पनीको प्रतिनिधि, कर्मचारी, अभिकर्ता मिलेर हँसिलो मुद्रामा ठूलो डमी चेकको फोटो मृतकका परिवारलाई हस्तान्तरण गरेको तस्बिर प्रचारमा ल्याइनुको खास अर्थ के हो ?

मृत्यु जस्तो मानवीय संवेदनालाई प्रचार गरेर उपलब्धि हो भन्नु यहाँभन्दा लज्जास्पद के हुन सक्छ ? के यसले बीमाको मूल मर्म, कर्म र गन्तव्यलाई सम्बोधन गर्छ ? यो हर्कतमा उत्रनु अपराध हो कि होइन ? जवाफ दिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिने कसले ? तर जवाफ पाउनुपर्छ ।

केही समय पहिला छोरासँगसँगै बसेर टीभीमा कौन बनेगा करोडपति हेरिरहँदा चेकको डमी फोटोसहित हँसिलो मुद्रामा पाएको विषय बारेमा छोराले सोधेको थियो । के हो बाबा यो ?

प्रसन्न मुद्रामा सहजै उत्तर दिंदै भनेको थिएँ, ‘राम्रो पढ्यो भने सबैकुरा जान्यो भने राम्रो काम गरियो भने यो पुरस्कार पाइन्छ । त्यो ठूलो चिज भनेको चेक हो । त्यहाँ पैसा हुन्छ । भोलि पर्सि तिमी धेरै पढ्यौ, ज्ञानी मान्छे बन्यौ भने मेरो छोरोलाई पनि पुरस्कार दिन्छन् है ।’

प्रश्न छोटो तर, सीधा थियो । उसले खोजेको उत्तर दिन मलाई सजिलो थिएन । किमार्थ उसले खोजेको मेरो अन्त्य थिएन । तर मेरो अन्त्य नै उसको उत्तर थियो । छोरोलाई सीधा उत्तर दिन सकिनँ ।

ऊ बेला उत्तर सजिलै थमाएको थिएँ । तर आज मोबाइलको फोटोमा त्यस्तै चेक देखेर सम्झ्यो होला– हाम्रो बाबाको राम्रो कामको चेक कहिले पाउने होला ? तर यतिबेला त्यो डमी चेक उस्तै तरिकाबाट हस्तान्तरण हुँदै गर्दा सन्दर्भ फरक थियो । यो पटकको चेक मृत्युदावी रकम भुक्तानीको थियो जहाँ चेक लिने व्यक्तिले आफ्नो परिवारको सदस्य सदाका लागि गुमाइसकेका थिए ।

हाम्रा मिडिया खासगरी अनलाइन मिडियाको लोकप्रियताको मापदण्ड लाइक, कमेन्ट, शेयर, भ्युअर्सको संख्या बनेका छन् । यसको आधारमा आफूलाई अब्बल दावी गर्ने सोचको परिणाम मानवीय समवेदना बिर्संदै क्लिक एण्ड काउन्टमा रमाइरहेका छन् ।

बीमा कम्पनीबाट विज्ञापन पाउने आशामा रहने अनलाइन मिडियामा यो समवेदना हराएको छ । जसको परिणाम ती बीमा कम्पनीबाट मृत्युदावी रकम भुक्तानीका डमी चेक हस्तान्तरणका तस्बिर विना सम्पादन प्रकाशन गरिएको छ ।

अर्कोतर्फ मान्छेलाई बीमातर्फ आकर्षण गर्ने नाममा मेरो कम्पनीले विना झन्झट मृत्युदावी रकम भुक्तानी दिइहाल्छ भन्ने प्रचारमा स्वयं कम्पनी यो काममा अगाडि बढेको छ । ‘अन्य कम्पनीले दिंदैन, यता हामीले हातहातै दियौं । हामी मात्र भरपर्दो छौं’ भन्ने प्रमाणस्वरूप यी तस्बिर प्रचारप्रसार गरिएको भन्दा अतिशयोक्ति हुँदैन । बीमाबारे बुझाउने यो तरिका दुर्भाग्यपूर्ण छ ।

बीमाको अन्तिम सत्य मृत्यु होइन । सबैभन्दा पहिले बीमा प्रचार होइन, योजना हो भनेर हाम्रा बीमा कम्पनीका सरोकारवालालाई बुझाउनुपर्नेछ । किनकि बीमा के हो, के होइन भनेर आम नागरिकलाई बुझाउने विधि–पद्धति अरू धेरै छन् ।

बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ताले हुने–नहुने सबै कुरा गरेर जसरी पनि बीमा गराउनुपर्छ भन्ने सतही ज्ञान प्रयोगमा ल्याएका छन् । परिणाम समवेदना प्रचारमा ल्याइएको छ । यस्ता फोटो प्रदर्शनीजन्य कदमले हामी कस्तो शैली अपनाएर काम गरिरहेका छौं भन्ने देखाउँछ ।

बीमा योजनामा एक जनाबाट उसमा आश्रित परिवारको समेत आर्थिक क्षति विरुद्धको सुरक्षाको कवच लगाउन अभिकर्ताको महत्वपूर्ण भूमिका हुन्छ । तर सस्तो लोकप्रियता र आफ्नो निश्चित आम्दानीको स्रोत व्यवस्थापन हुने नाममा जबर्जस्ती बीमा गराउन कस्सिनु र जिम्मेवारपूर्वक प्रस्तुत नहुनुले बीमाप्रति वितृष्णा पैदा भएको छ । यसको मूल्यांकन हुनुपर्छ कि पर्दैन ? यो गम्भीर प्रश्न हो ।

अझै नियमनकारी निकायका व्यक्तिहरूको उपस्थितिमा समेत यस्ता डमी चेकको फोटोसेसनले हामी कस्तो तरिकाको बजार प्रवद्र्धन गरेका छौं भन्ने स्पष्ट हुन्छ नै ।

बीमामा अपराध

फेक बीमा, यसमा संलग्नहरूको फेहरिस्त सुन्दा आङसिरिङ्ग हुने गरेको छ । डमी चेक जस्तै चेक लिने हुटहुटीमा लागेका गिरोहको कथा न लेखिसाध्य छ न भनिसाध्य । परिवारका सदस्यलाई नै मार्न पछि नपर्ने । सम्बन्ध नक्कली, बिहे नक्कली, सबै नक्कली, मृत्युदाबी भुक्तानी मात्र सक्कली । बीमा व्यवसायमा यहाँभन्दा लज्जा अरू के हुन्छ ?

एउटा दर्दनाक उदाहरण याद गरौं । सामान्य पेशामा आबद्ध रहेका बाँके कोहलपुरका २१ वर्षीय व्यक्तिको ठूलो रकमको बीमा गरी दुर्घटना गराए । लगत्तै बीमा कम्पनीबाट मृत्यु दाबी रकम बुझी उक्त घटनाका मतियारहरूले मिलिजुली रकम बाँडे ।

उक्त घटना अहिले नेपाली बीमा बजारमा चर्चाको विषय बनेको छ । पुनर्बीमा कम्पनीले आफ्नो हिस्साको दाबी रकम बीमा कम्पनीलाई भुक्तान गर्ने समयमा घटना रहस्यमय देखेर अनुसन्धानका लागि सीआईबीलाई सुम्पँदा बीमामा जालसाज भएको भनी प्रमाण छरपस्ट भयो ।

बीमाको अन्तिम सत्य मृत्यु होइन । सबैभन्दा पहिले बीमा प्रचार होइन, योजना हो भनेर हाम्रा बीमा कम्पनीका सरोकारवालालाई बुझाउनुपर्नेछ ।

जसरी पनि बीमाशुल्क उठाउन पाए हुन्छ भनी कस्सिएका कम्पनीका कर्मचारी, बीमाशुल्क मात्र सङ्कलन गरी कमिसन र इन्सेटिभको मोटो रकम कमाउन उद्यत अभिकर्ता, बीमायोग्य हितको सिद्धान्तको मूल मर्मलाई नजरअन्दाज गर्दै बीमा स्वीकृति गर्ने कम्पनी सबै पक्षमा यो घटनाले दरिलो पाठ सिकाएको हुनुपर्छ ।

त्यस्तै केही समय पहिला पोखरामै आफ्नै श्रीमतीको ठूलो रकमको बीमा गराई हत्या गर्न लगाएको घटना पनि बीमा स्वीकृतिमा कम्पनीको कमजोरी विषय देखिन आएको थियो ।
छोराछोरीको मृत्यु भएमा बीमाले पैसा दिइहाल्छ भन्ने सतही ज्ञानले उत्पेरित भएर आर्थिक अभावमै गुज्रिरहेको एक सामान्य व्यक्तिले आम्दानीको हैसियत भन्दा ठूलो बीमा गरी आफ्नै सन्तानको हत्या गरेको विषय सेलाएकै थिएन ।

बीमामा बेथिति

कहालीलाग्दा घटना एकपछि अर्को घटाइन्छ । सरकारी निकाय नियम बनाउँछ । जिम्मेवारीको रेखाबाट टाढै मूकदर्शक बनेर बस्छ । होइन भने एउटै प्रकृतिका घटना दोहोरिनु नपर्ने हो । तर दोहोरिने, तेहेरिने भइरहेको छ ।

दीर्घरोग लागेको व्यक्तिको फेक स्वास्थ्य रिपोर्टको सहायतामा बीमा जारी गर्न लगाई मृत्युदावी रकम प्राप्ति पछि रकमको भागबण्डामा कुरा नमिलेसँगै झगडाले उग्र रूप लिन्छ । लगत्तै सम्बन्धित कम्पनीले छानबिन गर्दा बीमा प्रस्तावदेखि दावी प्रक्रिया सबै जालसाज भएको भनी दावी फिर्ता मागेको विषयले पनि बीमा स्वीकृतिमा गरिने स्वास्थ्य परीक्षणको विश्वसनीयतामै प्रश्नचिह्न उठेन भन्ने हुन्छ ?

त्यति मात्र होइन स्वास्थ्य परीक्षण जस्तो संवेदनशील विषय बजारमा ठेक्कामा गरिन्छन् भन्ने गाईंगुईं अब सर्वत्र हुँदैछ । यी बेथिति मात्र होइन बीमाका अपराधजन्य नमूना हुन् । यी अपराधजन्य कार्य मेट्न बीमा कम्पनी, सरोकार निकाय, नियमन निकाय, कर्मचारी, अभिकर्ता र स्वयं नागरिकस्तरबाट जागरुक हुन जरूरी छ । सबै बीमा कम्पनीले यही बाटो हिंड्छन् भन्न खोजेको होइन । तर गलत गर्दै हिंड्ने कम्पनीले राम्रो गर्ने कम्पनीको छवि समेत धुलिसात् पारिरहेका छन् ।

हाम्रा गतिविधिले आज स्वस्फूर्त मेरो बीमा गरौं न भन्ने भेट्टाउनै मुस्किल छ । हस्पिटलमा काम गर्ने मेरो एक साथीले सधैं भनिरहन्छन्, हामी सधैं मानिस बचाउन लागिपर्छौं, तिमीहरू चाहिं मान्छे बाँच्न भन्दा मरे फाइदा हुन्छ भन्ने आशयको काम गरिरहन्छौ । यो बुझ्दै गर्दा बीमा गरौं भनेर को खुशीसाथ आउँछन् र ?

हाम्रा राज्यका अंग, राजनीतिक नेतृत्व, नियामक निकायलाई बीमा व्यक्तिको मात्र होइन राज्यको पनि मेरुदण्ड हो भन्ने बुझाउन सकिएको छैन । विकसित भनिएका मुलुकमा ६० देखि ७६ प्रतिशत सर्वसाधारण नागरिक बीमा योजनासँग जोडिएका छन् । तर हाम्रो अवस्था भनेको फरक छ ।

श्रम गर्न वैदेशिक रोजगारीमा जाँदा अनिवार्य गरिएको म्यादी बीमा, म्यादी लघु जीवन बीमा सहित बीमा बारे केही बुझेर, केही स्वस्फूर्त र धेरै अभिकर्ताको लगातारको हैरानीबाट मुक्त हुन बीमा गर्दिउन् भन्नेको जोड्दा कुल जनसंख्याको लगभग ४१ प्रतिशत संख्या बीमा योजनासँग जोडिएको पाइन्छ । वैदेशिक रोजगार जीवन बीमा, म्यादी बीमा, लघु म्यादी बीमालाई हटाएर गणना गर्दा कुल जनसंख्याको १६.६२ प्रतिशत जनता बीमाका योजनासँग जोडिएको पाइन्छ ।

अन्त्यमा, भोलि केही अप्ठ्यारो पर्ला, बुढेसकालको आर्थिक सहायताको रूपमा बीमाबाट प्राप्त रकमले जीवनको उत्तरार्धमा जिउने आधार होला, निश्चित अवधि समाप्तिमा प्राप्ति हुने बीमाको रकम आफ्नो छोराछोरीको उच्च शिक्षा–दीक्षाको लागि आर्थिक जोहो होला ।

भवितव्यबाट सिर्जित अप्रिय घटनाबाट आफैंलाई पनि जीवन जिउन एक आर्थिक आधार होला । उपचारखर्चको अभावमा अकालमा ज्यान गुमाउनु नपर्ला, मृत्यु नै हुन पुगेछ भने आफूमा आश्रित आफ्ना सन्तान एवं परिवारको जीवन निरन्तरतामा आर्थिक सहज होला भन्दै पवित्र योजना सम्झेर बीमा गरिन्छ ।

तर, माथिका शृंखलाबद्ध विद्रुप कर्मले बीमाप्रति वितृष्णा बढेको छ । वितृष्णालाई घटाऔं । वर्तमानको कमाइमा वित्तीय अनुशासनमा बस्न सिकाई भविष्यमा आर्थिक आधार समुन्नत बनाउने पवित्र कार्य बीमा योजनामा सबैलाई जोडौं ।

(लेखक प्राइम लाइफ इन्स्योरेन्स, पोखरा शाखा प्रमुख हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?