+
+
आम निर्वाचन २०७९ :

प्रचण्ड र बाबुराम मिल्दा वैद्य के गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ९:२६

१ भदौ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य किरण भने चुनाव बहिष्कारलाई निरन्तरता दिने तयारीमा छन् ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई उपयोग गर्ने विषयमा पार्टीको धारणा नबदलिएको बताउँछन् । अहिले घोषणा भएको चुनाव उपयोग गर्ने वा नगर्ने भन्ने विषयमा भने निर्णय नभइसकेको बताउँदै उनले भने, ‘हाम्रो पार्टीले यो संसदीय चुनावबाट कुनै परिवर्तन गर्न सकिँदैन र नयाँ विकल्पमा जानुपर्छ भन्ने धारणा राख्छ । तर त्यसो भन्दैमा चुनावलाई उपयोग पनि नगर्ने भन्ने हुँदैन, परिस्थिति हेरेर निर्णय लिन्छौं ।’

४ मंसिरको चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा पार्टीको बैठकले तय गर्ने उनले बताए । क्रान्तिकारी माओवादीको स्थायी समिति बैठक २ भदौमा र केन्द्रीय समिति बैठक ९ भदौमा बस्ने गरी तयारी चलिरहेको छ । महासचिव वैद्यले प्रस्ताव तयार गरिरहेका छन् । यद्यपि अहिलेसम्म बैठकको मिति निश्चित भने भइसकेको छैन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने प्रस्ताव गरेका वैद्यले संघ र प्रदेशको निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिनुपर्ने प्रस्ताव अघि सार्नसक्ने आँकलन नेताहरूको छ ।

०६९ सालमा तत्कालिन एकीकृत माओवादी संसदीय दलदलमा फसेको भन्दै नयाँ पार्टी गठन गरेका वैद्यले त्यसपछिका चुनाव मोर्चामार्फत अघिल्लो पटकको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन बाहेक अरू सबै बहिष्कार गरेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनलाई वैद्यले सशक्त बहिष्कार गरेका थिए ।

०७४ मा भएको अघिल्लो आम निर्वाचनमा पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) बनाएर प्रतिस्पर्धामा भाग लिएको थियो । तर एउटा सीट समेत जितेन । यसबीचमा भएका सबै उपनिर्वाचन पनि उनको पार्टीले निरन्तर बहिष्कार गर्दै आयो । ३० वैशाखको स्थानीय निर्वाचनमा पनि उनको पार्टी र मोर्चा सहभागी भएन, न सक्रिय हिसाबले बहिष्कार नै गर्यो ।

४ मंसिरका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विषयमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले अहिलेसम्म ठोस निर्णय लिइसकेको छैन । तर वैद्य यो निर्वाचनमा आफ्नो पार्टी आर्थिक हिसाबले सहभागी हुन नसक्ने र भइहाले पनि त्यसले मुलुकलाई कुनै गती दिन नसक्ने निष्कर्षमा पुगिसकेका छन् ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ चुनाव कार्यनीतिक विषय मात्रै भएकाले पार्टीको महत्वमा खासै नपर्ने तर सहभागी हुने वा नहुने भन्ने निष्कर्षमा भने पुगिनसकेको बताउँछन् । ‘हाम्रो पार्टीका लागि चुनाव नै सबैथोक होइन । हामी मुलुकको आमुल परिवर्तनको कुरा उठाइरहेका छौं । आमुल परिवर्तनका क्रममा चुनाव कार्यनीतिक विषय मात्रै हो,’ प्रवक्ता कँडेल भन्छन्, ‘त्यसलाई कहिलेकाहीँ जनता माझ गएर आफ्नो कुरा राख्न सजिलो हुनेहुँदा उपयोग गर्ने हो । त्यसैले अहिले पनि के गर्ने भन्ने विषयमा हामी छलफल गर्छौं । कुनै टुंगो लागेको छैन ।’

यद्यपि बहिष्कारको सम्भावना बढी रहेको आँकलन पार्टीका माथिल्लो तहका सबै नेताहरूको छ । किनभने स्थानीय तहको निर्वाचन उपयोगी र जित्न पनि सहज हुनसक्थ्यो । प्रवक्ता कँडेललाई पनि संघ र प्रदेशभन्दा स्थानीय निर्वाचन नै बरु जनतासँग जोडिनका लागि उपयोगी हुनसक्थ्यो भन्ने लागेको छ । ‘चुनावमा जे जस्ता विकृति भएपनि जनतासँग जोडिने बाहना हुन्छ,’ उनी भन्छन्, ‘तर हामीले खर्चलगायत विकृतिका कारण चुनाव बहिष्कार गर्यौं ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन गरेर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत)सँग पार्टी एकताको घोषणा गरिसकेका वैद्यले अन्य पूर्व कम्युनिस्ट र विशेष गरि माओवादी धारहरूसँग एकताका लागि छलफल चलाइरहेका छन् । नेकपा (बहुमत) सँग एकताका लागि सैद्धान्तिक सहमति भइसके पनि अन्य राजनीतिक र सांगठनिक विषयमा छलफल जारी नै छ ।

स्थानीय निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि विप्लव संसदवादी भएको आरोप लगाएर पार्टी विभाजन गरेका बास्तोलासहितका नेताहरू पनि चुनाव बहिष्कारकै पक्षमा छन् । वैद्य आफूसँग विचार मिल्ने सहकर्मीहरूको साथ पाइने भएपछि यसअघि जस्तै पुनः बहिष्कारको निर्णय गर्ने नेताहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?