+
+

‘विद्यार्थी संख्या कम हुँदैमा विभाग मास्नुहुँदैन’

विद्यार्थी कम भएकै कारण विभाग बन्द गर्नुपर्छ भन्नु अव्यावहारिक हुन्छ । अहिले विभागहरू गाभ्ने भन्दा पनि भएकालाई कसरी लामो समयसम्म निरन्तरता दिन सकिन्छ भनेर सोच्ने बेला हो । 

प्रा.डा.कुसुम शाक्य, डीन, मानविकी तथा सामाजिक विज्ञान प्रा.डा.कुसुम शाक्य, डीन, मानविकी तथा सामाजिक विज्ञान
२०७९ भदौ ३ गते १९:५३

मानविकी तथा सामाजिक विज्ञान संकायका केही विभागमा मात्रै नभएर धेरै विषयमा विद्यार्थीको संख्या घट्दो छ । विभिन्न कारणले त्रिविमा विद्यार्थी संख्या घटिरहेको बेला सेमेष्टर प्रणाली लागू भएपछि झन् बढी घट्न थालेको हो ।

सेमेष्टर प्रणालीमा अनिवार्य हाजिरी पुर्याउनुपर्ने, असाइन्मेन्ट गर्नुपर्ने, आन्तरिक मूल्यांकन लगायतको कुरा आयो । पढ्दै कमाउँदै भन्ने त हो तर काम गर्दै नियमित कलेज आउन र असाइन्मेन्टहरू गर्न निकै गाह्रो हुन्छ । त्रिविमा असाइन्मेन्ट मिलाएर गरौं भन्ने खालको पनि हुँदैन । विद्यार्थीले मिहिनेत गर्नैपर्ने हुन्छ ।

केन्द्रीय विभागको पढाइको गुणस्तर राम्रो छ भन्ने नै विद्यार्थीले गर्नुपर्ने मिहिनेतका कारण हो । अर्को कुरा केन्द्रीय विभाग कीर्तिपुर टाढा पनि छ । स्नातकोत्तर पढ्ने विद्यार्थी अधिकांश कामकाजी नै हुन्छन् । काम नै नगरी पढाइ मात्रै गर्ने एकदम सीमित हुन्छन् । कामकाजीले बस्न, कार्यालय जान र कलेज जानको लागि आफ्नो अनुकूल, सहजता खोजेर जान्छन् । केन्द्रीय विभागहरूमा पढाइ हुने विषयहरू रत्नराज्य, शंकरदेव, त्रिचन्द्र, महेन्द्ररत्न, पद्मकन्यालगायत क्याम्पसमा पनि पढाइ हुन्छ । त्यसैले विद्यार्थीले आफूलाई सहज खोजेर यी कलेजहरूमा जाने गरेका छन् ।

वार्षिक प्रणाली हुँदा सहभागिता अनिवार्य थिएन त्यसैले अरू क्याम्पसको तुलनामा केन्द्रीय विभागहरूमा विद्यार्थी दोब्बर बढी हुने गर्थे । सेन्ट्रल डिपार्टमेन्टमा शैक्षिक गुणस्तर पनि राम्रो छ । तर, यति हुँदाहुँदै पनि सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थी संख्या ह्वात्तै घटेको छ ।

विद्यार्थी संख्या कम भएकै कारण गाभिनुपर्ने, पुनर्संरचना गर्नुपर्नेलगायत कुराहरू उठिरहेका छन् । मिल्दोजुल्दो विभागहरूलाई आपसमा गाभ्ने अथवा अरू नयाँ तरिका अपनाउनुपर्ने कुरा उठ्न थालेका छन् । विद्यार्थी संख्या कहिल्यै पनि एकनास हुँदैन । कहिले घटी त कहिले बढी हुन्छ नै । यसको उदाहरणको रूपमा इतिहास जनसंख्या विभागलाई लिन सकिन्छ ।

केही वर्ष अघिसम्म यो विभागमा विद्यार्थी संख्या अत्यन्तै कम थियो । कुनै बेला शून्य अवस्था पनि थियो । तर अहिले यी विभागमा विद्यार्थीको संख्या हरेक वर्ष बढिरहेको छ । त्यस्तै गरी कुनै बेला जनसंख्यामा तीन जना मात्रै विद्यार्थी भएकैले जनसंख्या अर्थशास्त्र विभागमा मर्ज गर्नुपर्छ भनेर तयार थियो । के के कारणले हो त्यो हुन सकेन । तर, अहिले विद्यार्थी संख्या बढ्दो छ । विद्यार्थी कम भयो भनेर उतिखेरै अर्थशास्त्र विभागमा समायोजन गर्न लागिएको विभागमा विद्यार्थीको रुचि बढ्न थालेको छ । त्यसैले विद्यार्थी संख्या घट–बढ हुनु सामान्य हो ।

केही वर्षको विद्यार्थी संख्यालाई आधार मानेर विभाग नै गाभ्नुपर्छ भन्नेमा म विश्वास गर्दिनँ । सबै विषयको आ–आफ्नै विशेषता र महत्व हुन्छ । समय अनुसार पाठ्यक्रम परिमार्जन गर्दै जानुपर्छ, अपग्रेड गर्दै लैजानुपर्छ भन्ने हो जुन कुनै भइरहेका र कुनै हुने क्रममा छन् । यो काम विद्यार्थी संख्या कम भएका संकाय अथवा विभागहरूले मात्रै होइन सबैले नै गर्नुपर्छ । लामो इतिहास बोकेको विभागहरू गाभेर अथवा पुनर्संरचना गरेर तिनलाई मासेर नै जानुपर्छ भन्नु ठिक होइन । हामीसँग सन् १९६० मा सुरु भएका विभाग पनि छन् ।

भएका विभागहरूमा मिल्दो नयाँ विषय थप अथवा भएका विषयलाई नै नयाँ पाठ्यक्रम बनाएर अगाडि बढ्नको लागि समस्या छैन, जरूरी पनि छ । किनभने अहिले विद्यार्थी पढ्ने मात्रै भन्दा पनि पढेको कुरा उपयोग गर्ने, उचित ठाउँ पहिचान गरेर विषय रोजेर अध्ययन गर्छन् । उनीहरूका विकल्प धेरै छन् ।

त्यसैले विभागहरूले विद्यार्थी टिकाउनका लागि नयाँ पुस्ताका विद्यार्थीको रुचि अनुसार पाठ्यक्रम परिमार्जन नगरी भएको छैन । त्यसरी नै अगाडि बढ्ने प्रयास पनि भइरहेको छ । कुनै पनि कुरामा तत्काल परिवर्तन हुँदैन । यी अध्ययन, अनुसन्धानपश्चात् प्रक्रिया पुर्याएर लागू हुने कुरा हुन् । जुन हाम्रा विभागहरूमा प्रयास जारी छ ।

त्यसैले विद्यार्थी कम भएकै कारण बन्द गर्ने, विभागहरू हटाउनुपर्छ भन्ने खालका कुराहरू सुनिन्छन् । मलाई चाहिं यो अव्यावहारिक लाग्छ । यति लामो इतिहास बोकेको विभागहरूको अस्तित्व मेटाएर अरू नै बनाएर लैजान पनि सम्भव हुन्न भन्ने लाग्छ । अहिले विभागहरू गाभ्नको लागिभन्दा पनि भएकालाई कसरी लामो समयसम्म निरन्तरता दिन सकिन्छ भनेर जुट्ने बेला हो ।

(त्रिवि मानविकी तथा सामाजिक विज्ञान संकायकी डीन प्रा.डा.कुसुम शाक्यसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?