+
+

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते २०:३०
महिलातर्फ उपाधि विजेता ललितपुर हाइ टिम ।

४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे ।

पहिलो क्वार्टरमा १०–८ को अग्रता लिएको आर्मी दोस्रोमा २५–२६ ले पछि परेको थियो । त्यसपछि आर्मीले तेस्रोमा २०–१३ र चौथोमा २२–१८ को अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो ।

च्याम्पियन आर्मीले उपाधिसंगै ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार पायो ।

महिलातर्फ निकै रोमाञ्चक खेलमा ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन् ।

पहिलो क्वार्टरमा ललितपुरले ९–८ को अग्रता लिए पनि दोस्रोमा नखिपोटले ११–५ को अग्रता लिँदै मध्यान्तरसम्म समग्रमा ५ अंकको अग्रता बनाएको थियो । तर तेस्रो क्वार्टरमा ललितपुरले १४–६ को अग्रता बनाउँदै समग्रमा २८-२५ को अग्रता बनायो । तेस्रो क्वार्टरको प्रदर्शन नै ललितपुरको जितको मुख्य आधार बन्यो । चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता बनाए पनि समग्रमा २ अंकले पछि पर्दा ललितपुरले रोमाञ्चक जित निकाल्यो ।

च्याम्पियन ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा मस्ट भ्यालुएबल प्लेयर घोषित भए । दुवैले जनही ५ हजार रुपैयाँ पाए ।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले पुरस्कार प्रदान गरे । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?