+
+

निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो

बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हुन थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १९:२९

५ भदौ, काठमाडौं । बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्न लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ साउन मसान्तमा सञ्चालनमा रहेका २६ मध्ये ३ वाणिज्य बैंकको निक्षेप ९० प्रतिशत नाघेको छ । सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० लागे पछि साउन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब ७ करोडले घटेको छ ।

२०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४ करोड रहेको निक्षेप ३१ साउन २०७९ मा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको छ । तर सोही अवधिमा कर्जा भने १ अर्ब ६९ करोडले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कर्जा लगानी साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेको छ ।

कर्जामा सामान्य वृद्धि भएपनि निक्षेपमा भएको उच्च गिरावटले वाणिजय बैंकहरुलाई सीडी रेसियोको दावाब बढेकोे छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै सीडी रेसियो कार्यान्वयनमा लैजाने व्यवस्था ग¥यो । मौद्रिक नीतिको व्यवस्था अनुसार २०७९ असार मसान्तमा सबै वाणिज्य बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा तल झारेपनि साउन लागेपनि निक्षेपमा लगातार गिरावट हुँदा कर्जा स्थिर रहेपनि वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि लाग्न लागेको छ ।

चालु आर्थिक वर्ष पहिलो महिना अर्थात् असार मसान्तमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ । जसमध्ये सेञ्चुरी नबिल र नेपाल बैंकको सीडी ९० प्रतिशत नाघेको छ । प्रभु बैंकसँग मर्जरको प्रक्रियामा रहेको सेञ्चुरी बैंकको सीडी रेसियो ९१.६३ प्रतिशत पुगेको छ । त्यस्तै नबिल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंकको सीडी रेसियो ९०.७२ प्रतिशत पुगेको छ ।

यस्तै ८ वटा बैंकको सीडी रेसियो ८९ प्रतिशत भन्दा माथि रहेको छ । प्राइम, कुमारी, कृषि विकास, हिमालयन, बैंक अफ काठमाण्डू, एनसीसी, राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । यता सबैभन्दा कम सीडी रेसियो भने प्रभु बैंकको रहेको छ । बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले सीडी रेसियोको दैनिक अनुगमन गर्ने र मासिक औसत आधारमा सीडी रेसियो नाघेमा सम्बन्धित सुपरिवेक्षण विभागमार्फत जरिवाना लगाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको एकीकृत निर्देशनमा बैंकहरुले सीडी रेसियो ९० प्रतिशतबाट नाघेर जति कर्जा प्रवाह गर्छन सोही अनुसार नगद जरीवाना लगाउनसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

२३ बैकको निक्षेप घट्दा ३ बैंकको भने बढ्यो

२०७९ असार मसान्तको तुलनामा साउनमा २३ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ । यता तीनवटा बैैंकको निक्षेप भने बढेको छ । बैंकिङ क्षेत्रबाट एक महिनामा १ खर्ब ८ अर्ब ७ करोड निक्षेप हराउँदा एनआईसी एशिया बैंकले भने एक महिनामै १० अर्ब १५ करोड रुपैयाँ निक्षेप बढाएको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकको निक्षेप १ अर्ब ९७ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप १ अर्ब ६८ करोडले बढेको छ ।

सञ्चालनमा रहेका २६ मध्ये १४ बैंकको कर्जा घटेको छ भने १९ यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सर्वाधिक १५ अर्ब ३२ करोडले गिरावट हुँदा प्रभु बैंकको १२ अर्ब २९ करोड, एनसीसी बैंकको १० अर्ब ९८ करोड र नेपाल बैंकको १० अर्ब ९१ करोडले निक्षेप घटेको छ ।

यता साउन महिनामा सानिमा बैंकले ५ अर्ब १० करोडले कर्जा विस्तार गर्दा, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब १८ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब ७३ करोड कर्जा विस्तार भएको छ ।

त्यस्तै एनसीसी बैंकको ४ अर्ब ६० करोडले कर्जा घट्दा नेपाल बैंकको ३ अर्ब ४४ करोड एनआईसी एशिया बैंकको २ अर्ब ६५ करोड र कृषि विकास बैंकको २ अर्ब ५ करोडले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?