+
+

किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते २१:२९

५ भदौ, काठमाडौं । श्रीमती गीता ढकालको हत्या गरेकाले सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला ८ वर्ष ६ महिना डिल्लीबजार कारागारको थुनामा बसे ।

जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने आदेश गरेपछि कोइराला ८ साउन २०७७ मा डिल्लीबजारबाट थुनामुक्त भएका थिए ।

प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेका बेला १२ जेठ २०७८ मा कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले पहिलेको फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला गर्‍यो ।

यसको भोलिपल्टै नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले उनलाई पक्राउ गर्‍यो । दुई दिनसम्म सरकारी बिदा भएकाले उनी प्रहरी हिरासतमै रहे । तेस्रो दिन जिल्ला अदालत काठमाडौंबाट उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गर्ने आदेश पत्र आइपुग्यो ।

पायक स्थान, अन्यत्रभन्दा कम कैदीबन्दी, सञ्चार, भेटघाट लगायतका सुविधा जस्ता कारण थुनामा पर्ने जोकोही भीआईपीले डिल्लीबजार कारागार रोज्ने गर्छन् । लामो समय त्यहाँ बसेका कारण सुविधाबारे जानकार भएकै कारण कोइराला डिल्लीबजार जान चाहन्थे ।

तर विश्वस्त स्रोतहरुका अनुसार कोइराला पहिले बसेकै डिल्लीबजार कारागार चलान हुन चाहन्थे । यसका लागि उनले केही कानून व्यवसायीमार्फत चाँजोपाँचो मिलाउने प्रयत्न पनि गरेका थिए, यद्यपि सफल हुन सकेनन् ।

‘डिल्लीबजार कारागारमै चलान हुने प्रयास गरेपनि अदालत प्रशासनबाट सहयोग मिलेन’ एक कानून व्यवसायी भन्छन्, ‘चोलेन्द्र श्रीमानले पहिले सहयोग गरेको भन्ने पनि कारागार प्रशासनलाई पर्‍यो, त्यही कारण पनि उनी अनुकुल आदेश भएन ।’

काठमाडौंस्थित डिल्लीबजार कारागार भीआईपी कैदीबन्दीको रोजाइमा पर्छ । विगतमा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल, पूर्वआईजीपी ओमबिक्रम राणा, हेमबहादुर गुरुङलगायतले पनि डिल्लीबजार कारागार नै रोजेका थिए ।

पायक स्थान, अन्यत्रभन्दा कम कैदीबन्दी, सञ्चार, भेटघाट लगायतका सुविधा जस्ता कारण थुनामा पर्ने जोकोही भीआईपीले डिल्लीबजार कारागार रोज्ने गर्छन् । लामो समय त्यहाँ बसेका कारण सुविधाबारे जानकार भएकै कारण कोइराला डिल्लीबजार जान चाहन्थे ।

तर उनले डिल्लीबजार जान गरेको प्रयास सफल भएन । यसको पछाडि उनले विगतमा डिल्लीबजार कारागारमा रहँदा गरेको व्यवहार पनि कारक भएको कारागार व्यवस्थापन विभागका एक अधिकारी बताउँछन् । उनको बुझाइमा विगतमा डिल्लीबजार कारागारमा हुँदा रञ्जनले आन्तरिक र बाह्य प्रशासनलाई हैरान पारेका थिए ।

पूर्वडीआईजी भएका कारण ‘अन्य व्यक्तिभन्दा फरक व्यवहार’ खोज्ने गरेका कारण कारागार प्रशासन उनी ‘सकभर डिल्लीबजार नआउन्’ भन्ने पक्षमा रहेको ती अधिकारी बताउँछन् ।कोइराला डिल्लीबजार कारागारमा रहँदा अधिकांश समय धार्मिक पुस्तक पढेर बिताउँथे ।’

त्यसका अलावा उनी अन्य कैदीबन्दीसँग कारागारभित्रै टेबलटेनिस खेल्ने गर्थे ।

केन्द्रीय कारागार गएको केही समयसम्म कोइरालाले असहज महसुस गरेको एक बन्दी बताउँछन् । तर हिजोआज उनले केन्द्रीय कारागारमा पनि सहज रहेछ भन्ने गरेको ती बन्दीले बताए ।

उनका अनुसार अहिले कोइराला बस्ने कोठामा ‘डबल स्ट्याण्ड बेड’मा ३० जनासम्म कैदीबन्दी एकै ठाउँमा बस्छन् । दिउँसोतिर उनी कारागार वरिपरि टहलिन्छन् र विभिन्न पुस्तकहरु अध्ययन गर्छन् ।

नेशनल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले २०६८ माघमा विदामा काठमाडौं आएका बेला पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जस्थित घरमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन शव मकवानपुरको पालुङमा लगेर जलाएका थिए ।

शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ २०६८ मा उनी थानकोटबाट पक्राउ परेका थिए । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सुरक्षा सेवा थालेका उनी २०५८ सालमा सेवा परिवर्तन गरेर सशस्त्र प्रहरी बलतिर गएका थिए ।

घटना अघिसम्म उनलाई सशस्त्र प्रहरी बलमा करिअर भएको अधिकृत मानिन्थ्यो । सोही घटनामा रञ्जनकी प्रेमिका तारा पनि मतियारका रुपमा दोषी ठहर भएकी थिइन् । उनलाई अदालतले एक वर्ष जेल सजाय सुनाएको थियो ।

रञ्जन ८ साउन २०७७ मा छुट्दा पूर्वराष्ट्रिय भलिबल खेलाडी समेत रहेकी तारा उनलाई लिन डिल्लीबजार कारागार पुगेकी थिइन् । उनको कैद सजाय घटाउने अदालतको आदेश निकै विवादस्पद बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?