+
+

ऐना झ्यालको पुतली : नन्-एक्टरलाई लिएर खिचिएको फिल्ममा किशोरी सपना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १३:१८

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलरले यतिबेला दर्शकमाझ प्रशंसा बटुलिरहेको छ । एक परिवारको सरल तथा मर्मस्पर्शी कथा पेश गर्ने फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ ।

प्रतिष्ठित बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गमा समेत दबदबा कायम राखेको फिल्मलाई लिएर पर्खाइ पनि छ । खासगरी इन्डिपेन्डेन्ट फिल्म निर्माताको समूह र ती फिल्म रुचाउने दर्शक फिल्मलाई लिएर अधैर्य छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मले प्रचारप्रसार थालनी गरेको छ । नन्-एक्टर कलाकारलाई लिएर निर्माण गरिएको फिल्ममार्फत सुजित बिडारीले निर्देशनमा करिअर थालनी गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बिडारीले कोरोना महामारी र अन्य प्राविधिक कारणले फिल्म चार वर्षपछि रिलिज हुन लागेको बताए । बाल्यकालमा आफूले भोगेको अनुभव र आफ्नै दिदीबहिनी र आमाको संघर्षको साक्षीको रुपमा आफूले फिल्मलाई चित्रण गरेको उनले बताए ।

‘हाम्रो समाजलाई नियाल्ने यो एक इमान्दार प्रयत्न हो । यो कथामा दर्शकले कथाका पात्रसँगै यात्रा गर्नुहुनेछ । मेरा दुई बहिनी र आमासँग हुर्किंदै गर्दा मैले देखेको संघर्षलाई चित्रण गरेको छु,’ उनले भने ।

उनले अगाडि भने, ‘भुइँचालोपछि मोनोटोनस भएर बसिरहेको थिएँ । किन आफ्नै दिदीबहिनीको बाल्यकालीन स्मरणबारे नलेख्ने हो भनेर मैले कथा लेख्न सुरु गरें । सबैले यसमा युनिभर्सल अपिलिङ छ भनेपछि यसले फिल्मको आकार लिएको हो ।’

नन्-एक्टरसँग काम गर्दा आफूले सहज महसुस भएको उनले बताए । ‘मलाई प्योर र काँचो अभिनय शैली चाहिएको थियो । नन्-एक्टरसँगै काम गर्दा मैले खोजेको अर्गानिक अभिनय आउँछ भन्ने लागेको थियो त्यही भएर हामी उनीहरुलाई कास्टिङ गरेका हौं ।’

संखुवासभामा छायांकन गरिएको फिल्मको मुख्य कलाकार सबै नन्-एक्टर छन् । उनीहरु स्कुले विद्यार्थी हुन् । नाम चलेकी अभिनेत्री सिरु विष्टबाहेक सबै कलाकार विद्यार्थी हुन् । कञ्जन चिमरिया फिल्मकी मुख्य पात्र हुन् र उमेश श्रेष्ठ, क्षितिज र प्रसन्न पनि कलाकारको रुपमा छन् ।

अहिले ९ कक्षा अध्ययनरत छात्रा चिमरियाले छायांकनको क्रममा घाँस काट्ने, पराल बोक्नेजस्ता काम सिकेको बताइन् । स्कुलमा पढ्दै गर्दा फिल्म छायांकनमा रमाइलो भएको अनुभव उनले बाँडिन् ।

अभिनेत्री सरु विष्टले करिअरमा आफूले पहिलोपटक यस्तो फिल्ममा काम गरेको बताइन् । ‘गुन्द्री बुन्ने, पराल बोक्ने, गाई दुहुनेजस्ता काम पनि गरें । नेपाली चेलीले गाउँका छोराछोरीका लागि कति संघर्ष गर्छन् भन्ने अनुभव लिएँ,’ उनले भनिन् ।

कास्टिङ निर्देशक केदार श्रेष्ठले कलाकारलाई छनोट गर्दाखेरिको अनुभव सुनाए । फिल्म निर्माता रामकृष्ण पोखरेलले इन्डिपेन्डेन्ट फिल्मलाई साथ जरुरी रहेको बताए । बुसान लगायतका फेस्टिभलमा प्राप्त फिडब्याकले आफूहरुलाई हौसला मिलेको उनले बताए ।

फिल्म ‘कथा ७२’पछि रामकृष्णको आइसफल र प्रवीण स्याङ्बोको लोकल सिनेमाले यसमा सहकार्य गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?