+
+

नागरिकता विधेयकमा प्रचण्ड : एमालेको पाखण्डी प्रचारबाट जनता भ्रममा पर्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते ८:४६

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे ।

‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’

नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही हुनै सक्दैन,’ उनले भने ।

एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ । उनले भने, ‘नेपालका जनता बुद्धि नभएका छन् । भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भएका छन् । यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन् । ‘

प्रचण्डले यसअघि राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधान पारित भएको तर केपी ओलीले नै संसदमा लैजान नमाने दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?