+
+

नवौं राष्ट्रियका खेल गण्डकीका ८ जिल्लामा सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १८:१५
टंकलाल घिसिङ । फाइल तस्वीर

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने प्रतिस्पर्धा प्रदेशका अधिकांश जिल्लामा विस्तार गर्ने तयारी गरेको छ ।

खेल पूर्वाधार भएका र खेलाडी तथा अफिसियल व्यवस्थापनको सुविधा पर्याप्त भएका स्थानमा खेलस्थल विस्तार गर्ने रणनीति राखेपले पहिलेदेखि नै लिएको हो ।

नवौं खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकीका ८ जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रतियोगिता सुरु हुन ५० दिन बाँकी रहँदा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलस्थल व्यवस्थापन उपसमितिले निर्धारण गरेका ठाउँहरु सम्बन्धित खेल संघका प्रतिनिधिले निरीक्षण र अनुमोदन गरेपछि भदौ १५ गतेसम्म अन्तिम निर्णय गर्ने बताए ।

गण्डकी प्रदेशको केन्द्र कास्कीमा एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अघिकांश खेलका प्रतियोगिता आयोजना हुनेछन् । त्यसबाहेक म्याग्दी, गोरखा, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँ र लमजुङलगायतका जिल्लामा प्रतिस्पर्धा सन्चालन गर्ने प्रस्ताव आएको छ ।

म्याग्दीमा महिला भलिबल, नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा कवड्डी र खोखो खेल सञ्चालन गर्न प्रस्ताव गरिएको छ । तर, सम्बन्धित खेल संघले स्थलगत निरीक्षण गरेपछि मात्रै अन्तिम टुंगो लाग्नेछ ।

‘हामीले गण्डकीका सबै जिल्लामा प्रतियोगिता गर्ने भने पनि कतिपय जिल्लामा अल्टिच्युडका कारण असम्भव हुने देखियो,’ खेलस्थल व्यवस्थापन उपसमितिका सचिव कृष्णप्रसाद तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘सबै जिल्लामा विस्तार गर्ने नाममा पाट टाँगेर र खुला चौरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न हुँदैन भन्नेमा हामी दृढ छौं ।’

असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ । प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० कांस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।

नवौं खेलकुदमा सात प्रदेश, तीन विभागीय र विभागीय टिमकै हैसियदमा गैरआवासीय नेपाली संघ गरी ११ टिमको सहभागिता रहनेछ । एउटा टिममा अधिकतम ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ ।

राखेपले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म खेलाडीको नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यसपल्ट अधिकतम ७ हजार ७९९ जना खेलाडी नवौं खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि सरकारले विनियोजन गरेको ६० करोड वजेटमध्ये १० करोड निकासा भएको सदस्यसचिव घिसिङले जानकारी दिए । ६० करोड वजेट तीन चरणमा निकासा हुनेछ । ‘आएको वजेट सहभागी टिमको तयारी खर्चका लागि हिजो (बुधबार)मात्रै स्वीकृत गरेको छु,’ घिसिङले पत्रकार सम्मेलनमा भने । नवौं खेलकुदको तयारीका लागि हरेक प्रदेशले ४९ लाख र एनआरएनसहित चार विभागले ९ लाख रुपैयाँका दरले राखेपबाट खर्च पाउँछन् ।

राखेपले यस संस्करणदेखि प्रतियोगिताको विजेता टिमलाई १० लाख रुपैयाँ बराबरको रनिङ ट्रफी दिने निर्णय गरेको छ । ट्रफीको डिजाइन तयार भएर निर्माणका लागि पठाइएको राखेपले जनाएको छ ।

राखेपले नवौं खेलकुदलाई अधिक प्रविधिमैत्री बनाउन मोबाइल एप्स र विशेष वेवसाइट सन्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको सदस्यसचिव घिसिङले जानकारी दिए । एप्समा नवौं खेलकुदमा सहभागी खेलाडी, अफिसियललगायतको नामावली उल्लेख हुनेछ । त्यसबाहेक राष्ट्रिय खेलकुदको इतिहास समावेश गर्ने प्रयास गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?