+
+

सन्दीपको ५ विकेट, केन्या १०१ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:३१

१३ भदौ, काठमाडौं । केन्यासँगको चौथो टी-२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो ।

केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो विकेटका लागि ओपनरद्वय कोलिन्स ओबुया र एलेक्स ओबान्डाले २५ रनको साझेदारी गरेपनि त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । कोलिन्स २० रन बनाएर सातौं ओभरमा आउट हुँदा केन्या २५-१ को अवस्थामा थियो । त्यसपछि केन्याले लगातार विकेट गुमायो ।

कप्तान सन्दीप लामिछाने र शाहब आलमको स्पीनर जोडी र आदिल आलमले केन्याको इनिङ्सलाई ध्वस्त बनाए । सन्दीपले खेलमा ५ विकेट लिए । उनले कोलिन्सलाई शाहबबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

एलेक्स व्यक्तिगत ३ रनमा आउट भए । त्यसपछि नेहेमिह ओडिएम्बो ५, राकेप पटेल ६, सचिन बुडिअ ८, सुखदिप सिंह ३, नेल्सन ओडिएम्बो ६ रनमा आउट भए । सातौं विकेटका लागि नेल्सन ओडिएम्बो र लुकास ओलुचले २६ रनको साझेदारी गरे । तल्लो क्रिममा आक्रमक ब्याटिङ गरेका लुकास ओलुचलाई १९औं ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले कट एण्ड बोल्ड गरे । लुकासले १८ बल खेल्दै ३३ रन बनाउँदा ३ चौका र ३ छक्का प्रहार गरे । एलिजाह ओटिएनो १ रनमा आउट भए ।

इनिङ्सको अन्तिम बलमा कप्तान शेम एनगोचे १३ रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीपले लिएको तीन विकेटका विकेटकिपर अर्जुन साउदले दुई स्टम्पिङ र एक क्याच गरे । आदिल आलमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहब आलमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । शाहब र सन्दीप मिलेर एक रनआउट गरे ।

एक ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले १० रन खर्चेर १ विकेट लिए । चार ओभर बलिङ गर्दा विकेटविहिन बनेका सोमपाल कामी र करण केसीले २३ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?