+
+

बालै भएन

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २१ गते १८:२३

काठमाडौं । ‘हेयर स्टाइल नहुनु पनि एउटा स्टाइल हो,’ निर्देशक दीपेन्द्र के खनाल मिजासिलो लवजमा यसै भन्छन् । जगजाहेर छ, उनको टाउकोमा कपाल छैन । कपाल नभएर के भो ? उनको व्यक्तित्व आकर्षक छँदैछ ।

चिल्लो टाउकोमा उनलाई कुनै असहज महसुस हुँदैन । ‘कपाल नहुँदैमा खासै फरक पर्दैन,’ निर्देशक खनाल भन्छन्, ‘आफूजस्तो छु, त्यही रुपमा स्वीकार्नुपर्छ ।’

करिब आठ वर्षअघिको कुरा । विद्यार्थी भिसा च्यापेर उनी जापान गएका थिए । त्यहीबेला उनको कपाल झर्न थाल्यो । कपाल प्रत्यारोपणको ट्रेन्ड भर्खरै सुरु भएको थियो । ‘कपाल रोप्नुपर्छ कि जस्तो लाग्यो,’ खनाल भन्छन्, ‘तर यो निकै खर्चिलो हुने रहेछ ।’ उनको मनबाट कपाल रोप्ने योजना यसै तुहियो ।

जब कपाल झर्दै गयो, उनले रोकथामको कुनै उपाय अपनाएनन् । बरु टाउकोलाई सफाचट बनाए । यसरी उनले आफूलाई ‘बोल्ड लुक’मा रुपान्तरण गरे ।

समय बित्दै जाँदा फेरि उनलाई एकपटक झोंक चल्यो, ‘एकबारको जुनीमा टाउको हराभरा बनाउनुपर्छ ।’ तर यतिबेला उनलाई छोरीले रोकिन् । छोरीको सुझाव स्वादिलो थियो, हलिउड–बलिउडका ठूलाठूला स्टारले कपाल झरेपछि रोपेका छैनन् । त्यसैलाई स्टाइल बनाएका छन् । उनले भनिन्, ‘बाबा कपाल नरोप्नु, तपाईंलाई यही स्टाइल सुहाउँछ ।’ निर्देशक खनालले छोरीको सुझाव सहर्ष अनुमोदन गरिदिए ।

कपालप्रति मान्छेको यही आशक्तिले गर्दा त हो, अहिले सहरमा हेयर सैलुनदेखि क्लिनिकसम्म छ्यापछ्याप्ती छन् । हेयर रिप्लेसमेन्टदेखि हेयर ट्रान्सप्लान्टसम्मका उपाय प्रचलनमा छन् । यही समाजमा अर्को यस्तो जमात पनि छ, जसलाई कपाल नभएर पनि कुनै फरक पर्नेवाला छैन ।

‘कपाल नहुँदा पनि धेरै झन्झट टर्ने रहेछ,’ उनको अनुभव छ, ‘सैलुन जानु परेन, नुहाउन पनि सजिलो । पैसा र समय दुवै बचत हुन्छ ।’

टाउकोको सुरक्षा र शोभा दुवै हो कपाल । आजको कस्मेटिक युगमा त कपालको महिमा अपरम्पार छ । त्यसैले त यतिबेला थरीथरीका ‘हेयरस्टाइल’ प्रचलनमा छन् । आफ्नो कपालप्रति मान्छे कति सचेत छ भने यसलाई बलियो र आकर्षक बनाउन मनग्य खर्च गर्छन् । कपाल काटछाँट, तेल–जेल लगाउन, कोरीबाटी गर्न मात्र होइन, हेयर कलर गर्न, हेयर मसाज गर्न, केराटिन गर्न कति पनि कञ्जुस्याइँ गर्दैनन् ।

कपालप्रति यति लगाव राख्ने मान्छे जब कपाल झर्न थाल्छ चिन्ताले नराम्ररी खुम्चन थाल्छन् । कपाल झर्नासाथ उनीहरु आकाश झरेको अनुभव गर्न थाल्छन् । कसरी टाउकोको सौन्दर्य जोगाउने ? सबै कपाल झरेमा कसरी टाउको लुकाउने ? मान्छेमा तनावको ब्यारोमिटर बढ्न थाल्छ । कपालप्रति मान्छेको यही आशक्तिले गर्दा त हो, अहिले सहरमा हेयर सैलुनदेखि क्लिनिकसम्म छ्यापछ्याप्ती छन् । हेयर रिप्लेसमेन्टदेखि हेयर ट्रान्सप्लान्टसम्मका उपाय प्रचलनमा छन् । यसका लागि मान्छे लाखौं रुपैयाँ खर्च गर्न पछि हट्दैनन् ।

यद्यपि सबैको हकमा यस्तो छैन । यही समाजमा अर्को यस्तो जमात पनि छ, जसलाई कपाल नभएर पनि कुनै फरक पर्नेवाला छैन । बरु उनीहरुले सफाचट टाउकोमा नै आफ्नो व्यक्तित्व बनाएका छन् ।

जस्तो कि, सन्तोष देवकोटा । नेपाली पात्रोका सीईओ देवकोटाको टाउकोमा कपालको नामोनिशान छैन । नभएर के भो त ? उनी यसैमा रमाएका छन् । ‘हलिउड–बलिउडका बोल्ड क्यारेक्टर मलाई औधि मनपर्ने । नेपालकै उद्यमी शेखर गोल्छाको व्यक्तित्व पनि भव्य लाग्ने,’ उनी भन्छन्, ‘त्यसैले मलाई पनि रुपरंगमा आफूलाई सुहाउँछ भन्ने लाग्यो ।’

यद्यपि यस्तो आत्मविश्वास उनलाई सुरुदेखि नै पलाएको भने होइन । जतिबेला टाउकोबाट कपाल झर्न सुरु हुँदै थियो, त्यसबेला चिन्ताले निकै सताएको थियो । त्यसबेलाको दुःखान्त सम्झँदै उनी भन्छन्, ‘सुरुसुरुमा कपाल झर्दा त लौन मलाई यो के भइरहेको छ भन्ने लागेको थियो । सुतेर बिहान उठ्दा सिरानीभरि कपाल हुन्थ्यो । आफू फेरि कपालको सौखिन, कपाललाई नयाँ नयाँ डिजाइनमा काट्नुपर्ने कलर गर्नुपर्ने ।’

कपाल झर्न थालेपछि उनले यसलाई रोकथाम गर्न अनेक उपाय खोज्न थाले । उपचारका लागि चिकित्सककहाँ पुगे । टाउकोमा लगाउने र खाने औषधि प्रयोग गरे । ‘तर मैले १५ दिन पनि राम्ररी प्रयोग गरिन् । केही दिन प्रयोग गरेको कपाल झर्न कम भएजस्तो लाग्यो,’ देवकोटा भन्छन्, ‘त्यसैले प्रयोग गर्नै छाडिदिएँ ।’ पछि २०७४ सालतिर भने अनपेक्षित रुपमा कपाल झर्न थाल्यो ।

कति प्रयत्न गर्दा पनि कपाल झर्न नछाडेपछि भने उनले यसलाई टाउको दुखाइको विषय नै बनाएनन् । जति झर्छ, झर्न दिए । अनि, टाउको सफाचट बनाए । ‘कपाल रोप्ने, विग लगाउने विकल्पतिर ध्यान गएन,’ उनी सुनाउँछन्, ‘बरु बोल्ड लुक नै सही लाग्न थाल्यो ।’

कपाल झर्नुमा वंशाणुगत कारण नै थियो कि भन्ने लाग्छ उनलाई । किनभने बाबु–बाजेको टाउकोमा पनि कपाल थिएन । ‘यो पुस्ताको विरासत हो भनेर खुसीसाथ स्वीकारेको छु,’ देवकोटा भन्छन्, ‘यसैमा सन्तुष्ट पनि छु ।’

बितेको १५ वर्षदेखि बोल्ड लुकमै सहज मान्न थालेका छन्, विनोदकुमार पौडेलले । रञ्जना सिनेमा हलका व्यवस्थापक उनी टाउकोलाई सफाचट बनाएर हिंड्न रुचाउँछन् । यो उनको सौख हो । र, यस सौखको विजारोपण भने विदेशमा गएका बखत भयो । जतिबेला विदेशमा उनले चिल्लो टाउको भएका युवाहरु देखे, उनीहरुको भव्य व्यक्तित्वबाट लोभिए । ‘लामो दाह्री र कपाल बिनाको चिल्लो टाउको मनपथ्र्यो,’ उनले सुनाए, ‘नेपाल आएपछि मैले पनि आफ्नो रुपरंग त्यस्तै बनाएँ ।’

जब कपाल सफाचट बनाएर, चिल्लो टाउको देखाएर उनी साथीभाइ वा आफन्तमाझ पेश भए, कताकता लाज महसुस भयो । असहज लाग्यो । तर विस्तारै उनले आफूलाई बानी पारे । क्रमशः यसैमा उनको आत्मविश्वास बढ्दै गयो । र, अहिले उनलाई यस्तै रुपरंगमा रुचाउन थालिएको छ ।

‘कपाल झरेपछि किन चिन्ता गर्ने ?’ पौडेल भन्छन्, ‘यसैलाई स्टाइल बनाइदिने नि ।’ कपाल नभएपछि टाउकोको स्यहार पनि पुग्ने, झन्झट पनि नहुने उनी बताउँछन् । पौडेल भन्छन्, ‘म त यही लुकको लागि दिनदिनै कपाल ब्लेडले सेभ गर्छु ।’

जब झर्छ कपाल ?

कपाल झर्ने समस्या अहिले धेरैको साझा समस्या भएको छ । कपाल झर्नुको प्रमुख कारणमध्ये वंशाणुगत एक हो । यस्तो समस्यामा तपाईंले केही गर्न सक्नुहुन्न । उचित आहार बिहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सकिने छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्ट बताउँछन् ।

हर्मोनमा आएको परिवर्तनले पनि कपाल झर्छ । महिलामा गर्भावस्था र प्रसवको क्रममा शरीरमा हर्मोनको मात्रामा उतारचढाव आउने गर्छ । यस्तो बेला महिलामा अत्यधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोन सम्बन्धी गडबडीको कारण तीव्र मात्रामा कपाल झर्छ ।

हिजोआजको व्यस्त दैनिकीमा हाम्रो शरीरबाट बढी मात्रामा ऊर्जा बाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जान्छ । धेरै मानिसमा बढी तनावकै कारण कपाल झर्ने गरेको डा. भट्ट बताउँछन् ।

उनी भन्छन्, ‘बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरीरमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल झर्ने प्रमुख कारण हो ।’ त्यस्तै खानपानमा र शरीरको पोषणको बारेमा राम्रोसँग ख्याल नपुर्‍याउँदा पनि कपाल झर्ने समस्या हुन्छ । डा. भट्ट भन्छन्, ‘यदि शरीरलाई आवश्यक पर्ने प्रोटिनको कमी भयो भने पनि कपाल झर्छ । प्रोटिनको कमी भएको दुई-तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?