+
+

एक हजार २० दिनपछि कोहलीको शतक, गरे पोन्टिङसँग बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १६:५५

२४ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले झण्डै तीन वर्षपछि पहिलो शतक प्रहार गरे ।

युएईमा भइरहेको एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा कोहलीले बिहीबार राति अफगानिस्तानसँग शतक प्रहार गर्दै शतकको खडेरी तोडेका हुन् ।

उनले एक हजार २० दिनपछि कुनै पनि फर्म्याटमा बनाएको यो पहिलो शतक हो । कोहलीले पछिल्लो पटक सन् २०१९ नोभेम्बर २४ मा बंगलादेश विरुद्ध टेष्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । त्यसपछि उनले सबैखाले क्रिकेटमा गरेर १२९ इनिङ्ससम्म शतक प्रहार गर्न सकेनन् । जसमा ८३ अन्तर्राष्ट्रिय खेल थियो भने ४६ खेल इन्डियन प्रिमियर लिग (आईपीएल) मा थियो ।

नियमित कप्तान रोहित शर्मालाई आराम दिएपछि कोहलीले केएल राहुलसँग अफगानिस्तान विरुद्ध ओपनिङ गरेका थिए । कोहलीले ६१ बल खेल्दै १२ चौका र ६ छक्का मद्दतमा अविजित १२२ रन बनाए ।

उनले पहिलो विकेटका लागि केएल राहुलसँग ११९ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि रिषव पन्तसँग अविजित ८७ रनको साझेदारी गरे ।

बलिङतर्फ भुवनेश्वर कुमारले ५ विकेट लिँदा भारतले अफगानिस्तानलाई ११ रनमा समेट्दै १०१ रनको फराकिलो जित निकालेको हो ।

७१औं शतक, पोन्टिङसँग बराबरी

वर्तमान विश्व क्रिकेटमा उत्कृष्ट खेलाडी मध्ये एक रहेका कोहलीको लागि पछिल्ला वर्षहरु खासै राम्रो हुन सकेन । उनले भारतको सबै फर्म्याटको कप्तानबाट बाहिर भए । आईपीएलमा बेंगलोरको कप्तानी छाडे ।

उनको ब्याटबाट शतक बन्नै छाडेको थियो । तर युएईमा भइरहेको एसिया कपमा उनले आफ्नो लय लिएका छन् । समुह चरणको पहिलो खेलमा पाकिस्तान विरुद्ध ३५ रन बनाएका उनले हङकङ विरुद्ध अविजित ५९ रन बनाए । त्यसपछि पाकिस्तान विरुद्ध सुपर फोरमा ६० रन जोडेका थिए । श्रीलंका विरुद्ध भने उनी शुन्यमा आउट भए ।

कोहली टी-२० अन्तर्राष्ट्रियमा भारतका लागि उच्च स्कोर बनाउने खेलाडी समेत बनेका छन् । यसअघि रोहित शर्माले २०१७ मा श्रीलंका विरुद्ध ११८ रन बनाएका थिए ।

कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्नेमा दोस्रो स्थानमा रहेका अष्ट्रेलियन रिक्की पोन्टिङसँग बराबरी गरेका छन् । कोहली र पोन्टिङको समान ७१ शतक भएको छ ।

कोहलीले टेष्टमा २७, ओडीआईमा ४३ र टी-२०आईमा १ शतक प्रहार गरेका छन् । कोहली भन्दा धेरै शतक प्रहार गर्नेमा भारतकै सचिन तेन्दुलकर छन् । सचिनले १०० शतक प्रहार गरेका छन् ।

तीनै फर्म्याटमा शतक             

टी-२० मा शतक हानेसँगै कोहली तीन फर्म्याटमा शतक पूरा गरेका छन् । उनी टेष्ट, ओडीआई र टी-२०आईमा शतक हान्ने चौथो खेलाडी हुन् भने समग्रमा २०औं खेलाडी हुन् । यसअघि भारतबाट सुरेश रैना, रोहित शर्मा र केएल राहुलले तीनवटै फरम्याटमा शतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?