+
+

१ वर्षमा सेयर लगानीकर्ताले गुमाए १७ खर्ब

‘संरक्षक नै भएन, नीतिगत रुपमा पटक–पटक पेलियो’

अर्थतन्त्रमा देखिएको मन्दी, बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव सेयर बजारमा पनि देखिएको छ । पूँजी अभाव र ब्याजदर वृद्धिले सेयर बजार लगातार ओरालो झरिरहेको छ । जसले गर्दा एक वर्षको अवधिमा लगानीकर्ताको सम्पत्ति १७ खर्बले घटेको छ ।

विजय पराजुली विजय पराजुली
२०७९ भदौ २४ गते १८:४८

२४ भदौ, काठमाडौं । २ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंकमा झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आयो ।

२ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेको थियो । २३ भदौ २०७९ मा आउँदा २७ खर्ब ७९ अर्ब ४८ करोड ५५ लाखमा झरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएको छ ।

करिब ९१ अर्ब भन्दा बढी चुक्ता मूल्य भएको सेयर नेप्सेमा गत आर्थिक वर्षमा थप कम्पनी सूचीकृत हुँदा पनि बजार पूँजीकरण भने करिब १७ खर्बले घट्यो । अर्थात् एक वर्षको अवधिमा सेयर लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ सम्पत्ति गुमाए ।

नेपालमा संस्थापक र साधारण धितोपत्रको छुट्टाछुट्टै कारोबार हुने भएपनि बजार पूँजीकरण भने साधारण सेयरको कारोबार मूल्यको आधारमा गणना हुँदै आएको छ ।

बजारको ‘वियरिस साइकिल’ एक वर्ष पूरा हुँदा कारोबार रकम पनि झनै ओरालो लाग्यो । ३१ साउन २०७८ मा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेको छ ।

२०७८ साउन महिनाको कुल कारोबार रकम करिब ३ खर्ब छ । साउनमा कारोबार भएको २१ दिनमा ६६ करोड ६५ लाख ९९ हजार कित्ता सेयर किनबेच भई २ खर्ब ९१ अर्ब ५७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

तर २०७९ को साउन महिनामा २६ दिन बजार सञ्चालन हुँदा कारोबार रकम ७२ अर्ब ६१ करोड ६१ लाखमा सीमित भयो । अझै भदौ लागेपछिको कारोबार रकम दैनिक १ अर्ब हाराहारीमा मात्रै सीमित रहेको छ ।

कोभिडपछि बढेको उत्साह

कोभिड–१९ महामारीअघि दोस्रो बजारमा नियमित कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या १२ देखि १५ हजार रहेको नेप्सेका अधिकारीहरु बताउँछन् । चैत २०७६ बाट कोभिड–१९ महामारी नियन्त्रणका लागि भएको लकडाउन सँगै सेयर बजार पनि बन्द भयो । जेठ २०७९ मा २ घण्टा मात्रै कारोबार गर्नेगरी भन्दै २ दिन बजार सञ्चालन भएपनि पूर्ण अनलाइन कारोबार सञ्चालन नभएको भन्दै कारोबार बन्द भएर १५ असार २०७९ देखि कारोबार खुलेको थियो ।

कोभिड–१९ का कारण बन्द भएर कारोबार खुलेको पहिलो दिन नेप्सेमा गिरावट भएपनि त्यसपछि करिब १२०० अंकको बिन्दुबाट लगातार नेप्सेमा वृद्धि भएको थियो । मंसिर २०७७ मा ४ वर्ष अगाडिको १८८१ अंकको रेकर्ड तोड्दै बजार परिसूचक उकालो लागेको थियो ।

आर्थिक गतिविधि ठप्प हुनु, रोजगारी प्रभावित हुनुका साथै वर्क फ्रर्म होमको व्यवस्थाले गर्दा कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारणको सेयर बजारप्रति आकर्षण ह्वातै बढ्यो । जसले गर्दा कोभिड अगाडि ३/४ लाखको मात्रै आवेदन पर्ने प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिनेको संख्या २७/२८ लाखसम्म पुग्यो ।

प्राथमिक बजार मात्रै होइन दोस्रो बजारमा पनि लगानीकर्ताको उच्च आकर्षण भयो । पर्याप्त लगानीयोग्य स्रोत र लगानीका अन्य अवसर नहुँदा बैंकहरुले पनि सेयर आफैं र सेयर धितो कर्जामार्फत प्रशस्त लगानी बढाए । उद्योगी व्यापारीले पनि व्यापार ब्यवसाय सुस्त हुँदा चालुपूँजी समेत सेयर बजारमा लगानी गरेर आम्दानीको स्रोतको रुपमा परिचालन गरे । सेयर कारोबार गर्नेमा गृहिणी महिलाको संख्या पनि उत्तिकै बढ्यो ।

जसले गर्दा करिब १३ महिनाको अवधिमा १२०० नजिक रहेको नेप्से बढेर २ भदौ २०७८ मा ३२०० को नजिक पुग्यो । यो अवधिमा कारोबार रकम र नेप्से मात्रै बढेन सक्रिय लगानीकर्ताको संख्या पनि सोही दरमा बढ्यो । सेयर बजार ‘बुलिस ट्रेन्ड’मा रहेको बेला एक दिनमै १ लाख ३५ हजारसम्म लगानीकर्ताले कारोबार गरेको नेप्सेका अधिकारीहरु बताउँन् ।

अनलाइन कारोबार प्रणालीका कारण एकै पटक ठूलो संख्यामा लगानीकर्ताले कारोबार गर्न सक्ने हुँदा पनि नेप्से बढ्न सहयोग पुगेको धितोपत्र दलाल व्यवसायीहरुको तर्क थियो ।

कोभिडपछि अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिनेको संख्या पनि बढेर हाल १३ लाख नाघेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । कोभिड–१९ अगाडि केही हजारमा रहेको उक्त संख्या कोभिडसँगै बढेको डिजिटल ट्रेन्डले सकारात्मक भूमिका खेल्यो ।

तरलता र व्याजदर वृद्धिको प्रभाव

२०७८ भदौपछि बैंकहरुमा देखिएको लगानीयोग्य स्रोतको अभाव, ब्याजदर वृद्धि, मार्जिन कर्जामा राष्ट्र बैंकले लगाएको सीमा लगायतका कारण लगानीकर्ता निरुत्साहित भए ।

त्यसको असरस्वरुप नेप्सेमा पनि गिरावट सुरु भयो । धितोपत्र बजारका जानकारहरु भने तरलता अभाव, ब्याजदर वृद्धि र आर्थिक गतिविधिमा संकुचन हुँदा व्यापारीले चालुपूँजी कर्जा सेयर बजारमा लगानी गरेको बताउँछन् । तर सेयर बजारमा नाफा पनि लिइसकेको र बजारमा आर्थिक गतिविधि बढ्न थालेपछि उनीहरुले सेयर लगानीबाट हात झिक्न थाले । जसले गर्दा पनि सेयर बजार क्रमश घट्दै गयो । भएको लगानी निकाल्ने र नयाँ लगानी नआउने अवस्थामा स्वभाविक रुपमा बजार प्रभावित हुने नै भयो ।

पछिल्लो केही दिनयताको बजार परिसूचकहरु हेर्दा सेयर लगानीकर्ता झनै दुःखदायी अवस्थामा पुगेका छन् । यो साता पनि आइतबार एकल अंकको सामान्य सुधार भएको नेप्से त्यसपछिको चार दिन लगातार घटेको छ । कारोबार रकम सोमबार र बुधबार १ अर्ब भन्दा तल झर्‍यो भने आइतबार मंगलबार र बिहीबार पनि मुश्किलले १ अर्ब रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा दैनिक ३० देखि ३५ हजार लगानीकर्ताले कारोबार गरिरहेको नेप्सेका अधिकारीहरु बताउँछन् । एक वर्ष अगाडि यस्तो संख्या १ लाख ३५ हजार रहेकामा ०७८ फागुन/चैतमा ६० देखि ७० हजारसम्म रहेको थियो । सक्रिय लगानीकर्ताको संख्या बजारबाट नियमित रुपमा घट्दै गएको छ ।

दोस्रो बजारमा मात्रै होइन प्राथमिक बजारमा पनि लगानीकर्ताको आकर्षण कम भएको देखिन्छ । कुनै समय आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या २९ लाखसम्म पुगेको थियो । तर, पछिल्लो समय सार्वजनिक निष्कासन गरेको दुई लघुवित्त खप्तड र सिर्जनशीलको आईपीओमा आवेदन दिनेको संख्या १८ लाखमा सीमित हुन पुग्यो ।

पेशेवर लगानीकर्ता

सेयर बजारमा अनुभवी लगानीकर्ता अम्बिका पौडेल तरलता अभाव र ब्याजदर वृद्धिको प्रभाव सेयर बजारमा देखिएको बताउँछन् । सरकारले नीतिगत रुपमा पटक पटक लगानीकर्तालाई पेलेका कारण पनि लगानीकर्ता निरुत्साहित भएको बताए ।

‘नेपाल राष्ट्र बैंकले पटक–पटक नीतिगत रुपमा पूँजीबजारलाई पेलेको अवस्था छ,’ पौडेल भन्छन्, ‘जोखिम भार बढायो, बैंकहरुलाई पनि सेयर कर्जा नदिन अनौपचारिक दबाव बढाएको छ । ब्रोकर थप्ने, नयाँ स्टक एक्सचेञ्ज ल्याउने, अब के हुन्छ भनेर लगानीकर्ता अन्यौलमा परेको अवस्था छ ।’

हालै राष्ट्र बैंकले चालुपूँजी कर्जाको लागि नयाँ मार्गदर्शन जारी गरेको छ । व्यापारी व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्रै चालुपूँजी कर्जा पाउनेगरी आएको उक्त नीतिले समेत सेयर बजार प्रभावित बनेको अर्का एक लगानीकर्ताले बताए ।

व्यापारीले चालुपूँजीको लागि लिएको कर्जा सेयरमा समेत लगानी गर्ने गरेका थिए, तर केन्द्रीय बैंकको कडाइले गर्दा त्यस्तो रकम सेयर बजारमा आउन छाडेको छ ।

सेयर लगानीकर्ताले सुरक्षित महसुस नगरेका कारण बजारबाट बाहिरिंदै गएको लगानीकर्ता अम्बिका पौडेल बताउँछन् । ‘पूँजी बजारलाई पेशा र व्यवसायको रुपमा अगाल्ने लगानीकर्तालाई चौतर्फी रुपमा आक्रमण भएपछि पूँजीबजारप्रति ती व्यवसायीको विश्वास रहन्छ ?’ उनी प्रश्न गर्छन् ।

डा. प्रकाशकुमार श्रेष्ठ

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि पूँजी बजार सबैको लागि नभएको तर्क गर्छन् । केही दिनअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यक्रममा उनले अन्य पेशा र व्यवसायमा भएका व्यक्तिले पनि मुख्य पेशा छोडेर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा त्यसले समस्या बढाउने बताएका थिए ।

‘प्रोफेसन छोडेर सेकेन्डरी मार्केटमा कारोबार गर्ने होइन । जसले बजारको उतारचढाव बुझ्न सक्छ उसैको लागि धितोपत्रको दोस्रो बजार हो’ उनले भने ।

सेयर बजारका अर्का एक अनुभवी लगानीकर्ता नीति निर्माताले सरोकारवाला र विषय विज्ञसँग छलफल नगरी सेयर बजारसम्बन्धी निर्णय हचुवामा गरेको टिप्पणी गर्छन् । ‘हाम्रोमा लाइसेन्सको लागि लबिइङ हुन्छ, बजार विकासको लागि आवश्यक सुधारको लागि कसले लविङ गर्छ, लाइसेन्स दिला कमीसन आउँछ, तर, बजारको सुधार गर्दा आउँदैन,’ उनले भने ।

मार्जिन ट्रेडिङ सुरु नहुँदासम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ नगर्न भनेपनि राष्ट्र बैंकले लगानीकर्ताको कुरा नसुनेको उनको भनाइ छ ।

हालै प्रतिनिधिसभाबाट पारित भएको धितोपत्र सम्बन्धी ऐनको संशोधनमा भित्री कारोबारको छानबिन गर्ने विषय फौजदारी अभियोग अन्तर्गत हुने व्यवस्था गरिनु सेयर बजारका लागि दुःखद् भएको ती लगानीकर्ता बताउँछन् ।

‘फौजदारी अभियोग लाग्ने गरी भएको धितोपत्र ऐनको संशोधनले लगानीकर्तामा स्वभाविक मनौवैज्ञानिक त्रास सिर्जना गराउँछ,’ उनले भने, ‘यसले पूँजीबजारमा लगानीकर्तालाई नआऊ, लगानी नगर, पूँजीबजार भनेको नेपालीको लागि होइन भन्ने कुरालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्छ ।’

रमेशकुमार हमाल

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल ऐनको संशोधित व्यवस्थाले सेयर लगानीकर्ताले झनै निर्धक्क भएर लगानी गर्ने वातावरण बन्ने बताउँछन् ।

बदमासी गरेको पुष्टि हुनेलाई मात्रै अभियोग लाग्ने भन्दै त्यसले लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था नभएको अध्यक्ष हमालले बताउँछन् ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?