+
+
फिल्म समीक्षा :

ऐना झ्यालको पुतली : सरल कथा, सुन्दर प्रस्तुति

विष्णु शर्मा विष्णु शर्मा
२०७९ भदौ २६ गते १०:२९

२६ भदौ, काठमाडौं । कफी र पपकर्न लिइसक्नुस् । चित्रहरु चल्न थालेपछि खानेकुराले डिस्टर्ब गर्न सक्छ । केही फिल्म यस्ता हुन्छन् जसलाई हेर्नु ‘मेडिटेसन’ गर्नुजस्तै हो । धन्यवाद- ‘ऐना झ्यालको पुतली’लाई जसले दृश्यभाषाको मीठो स्वाद चखाउँछ ।

धेरैपछि कुनै नेपाली फिल्म हेरेर ‘स्तब्ध’ भइयो । २५ वर्ष पहिलेको बाल्यकाललाई फन्को मारेर आएजस्तो अनुभूति । फिल्मलाई ‘टाइम ट्राभल’ मेसिन मान्ने हो भने सुजित बिडारी निर्देशित क्राफ्टले दर्शकलाई सुदूर अतीतमा लैजान्छ र भविष्यप्रति इमान्दार बन्न प्रेरित गर्छ ।

एकैसाथ सरल र सुन्दर कला हुनसक्नु यसको विशेषता हो । दर्शकलाई फिल्मभित्रै पसाएर पात्रले बाँचेको जीवनलाई महसुस गराउन सक्ने खुबी यसमा छ । आत्मा र आवरणको अब्बल दृश्यभाषाको रुपमा ऐना झ्यालको पुतली स्मरणीय हुनेछ ।

जीवनमा मामुली कुराले अर्थ राख्छन् । ‘ऐना झ्यालको पुतली’ बाल्यकालको मामुली क्षणहरुको ‘कोलाज’ हो । सानो मनले भोगेका दुःख, सुख, हाँसो, रोदन र उच्छवासका ठूला अनुभूतिहरु । सरल र सुन्दर कलामा बुनिएको फिल्मले वर्गीय, लैंगिक, भूगोलका असमानता र स्वतन्त्रताको ‘उडान’ भर्न चाहने साना मनहरुको कथा भन्छ ।

आठ कक्षा पास गरेकी किशोरी विद्या (कञ्चन चिमोरिया)को लक्ष्य सहर गएर ९ र १० कक्षा पढ्ने हुन्छ । अध्ययन र व्यक्तित्व विकासको चाहनालाई उनले घरको विपन्नतासँग सम्झौता गर्नुपर्ने हुन्छ । लक्ष्य प्राप्तिमा उनी सफल हुन्छिन् या हुँदिनन् यो कुरा थाहा पाउन फिल्म नै हेर्नुपर्छ । डेढ घण्टा लामो फिल्मको केन्द्रीय द्वन्द्वले विद्या वरपर फन्को मार्छ । केन्द्रमा प्रमुख पात्रले अभाव र गरिबीसँग गर्नुपर्ने संघर्ष चित्रण छ ।

यो एक परिवारको कथा हो जुन नेपाली विपन्न परिवारसँग जोडिएको छ । निर्देशक तथा लेखकले कथालाई समाजसँग सिधै जोडेर पात्रको चाहनामार्फत व्यवस्था र सत्तालाई प्रश्न सोधेका छन् । यो फिल्म लाखौं विद्याहरुको कथा पनि हो, जसले साना सपनालाई वर्गीय असमानाभित्र तिलाञ्जली दिनुपरेको छ । उत्कर्ष दृश्य (क्लाइमेक्स) यति जीवन्त छ कि दृश्यभाषाको सुन्दर प्रस्तुतिको रुपमा स्मरणीय हुनेछ ।

दार्शनिक अर्थमा निर्देशकले फिल्म टुंग्याएका छन् । ‘रिजोलुसन’ (निष्कर्ष)ले ग्रेटा थनबर्ग र मलाला युसुफजाई बन्ने सपना देख्ने ती नेपाली किशोरीको दुःखान्त नियतिलाई दर्शाएको छ । हामीले बाँचिरहेको समयको यो विडम्बना हो । एकैसाथ काठमाडौंले एउटा समय बाँच्दैछ भने संखुवासभा अर्को समय । तर घडीको सुईको कम्पास एउटै हो । फिल्मको सबैभन्दा सशक्त पक्ष यसको पटकथा हो ।

नेपाली फिल्मले जुन ‘सेटब्याक’ भोगिरहेको छ, ‘ऐना झ्यालको पुतली’ले त्यसलाई कम्तीमा पुनरावृत्ति हुन दिएको छैन । फिल्म व्याकरण र दृश्य मनोविज्ञानको उचित संयोजनले यसलाई स्तरीय ‘क्राफ्ट’ बनाएको छ । बगेको पटकथामा समावेश घटनाको ट्रिटमेन्ट र डिटेलिङ उत्कृष्ट छ । पात्रबीचको सम्बन्ध, समय र द्वन्द्व तथा तिनको बहुचरित्रकरणले फिल्मको स्थापना उचित छ ।

धेरै लेयरमा चरित्रले भोगेका द्वन्द्वलाई देखाइएको छ । ‘प्रोटागोनिस्ट’ (प्रमुख पात्र) विधाको लडाइ परिस्थिति, परिवार, बाबुआमा र किशोर उमेरको विकसित मनोविज्ञानसँग छ । आमा (सिरु विष्ट)ले पितृसत्तात्मक समाजभित्रको महिला ‘सफरिङ’लाई दर्शाएकी छन् । जड्याहाँ, काम नगर्ने र परिवारप्रति रत्तिभर गैरजिम्मेवार बाउ चरित्र समाजको रुपक हो । भाइको रुपमा वसन्त (दिनेश खत्री) शक्तिशाली छन् । विद्या र वसन्तको दिदीभाइ प्रेमले भातृत्वको ‘प्रेमघृणा’युक्त सम्बन्धलाई दर्शाउँछ ।

बाङ्गे (उमेश श्रेष्ठ)को चरित्र सहरिया मजदुर बालश्रमिकको प्रतिनिधि पात्र हो । घरको किचलो सहर नसकेर पैसा कमाउने सपना देख्दै ऊ काठमाडौं पस्छ । सानो मन तर ठूलै सपना बोकेका बाङ्गेहरु काठमाडौंका इट्टा भट्टादेखि रेस्टुरेन्टमा कति होलान् जसले बालश्रमिक उन्मूलन गर्ने राज्यको मीठो नारालाई कटाक्ष गर्छन् । वस्तुगत मात्र होइन, फिल्मले विषयगत रुपमा पनि आफूलाई सशक्त तुल्याएको छ ।

नन्–एक्टरलाई लिएर फिल्म बनाउनु निर्देशक र कास्टिङ निर्देशकको खुबी हो । गैरकलाकारको पृष्ठभूमि भएर पनि (सिरु विष्ट)बाहेकले पनि चरित्रलाई न्याय गरेका छन् । हामीले विद्या चरित्रमा कञ्चनको अभिनय सूक्ष्मता, निर्दोषपन र थ्री–एक्टरको उतारचढावमा उनले प्रस्तुत गरेको भावनात्मक सम्प्रेषणलाई महसुस गर्न सक्छौं । दिनेश र उमेशको चरित्र सरल तथा शक्तिशाली छ । सफरिङ आमाको चरित्रमा सिरुको अभिनय दर्शनीय छ ।

फिल्म कति प्रिय लाग्छ भन्ने कुरा क्राफ्टको उत्कृष्टता मात्र मानक होइन, दर्शकले फिल्मको आत्मासँग आफूलाई कसरी महसुस गर्छन् त्यो महत्वपूर्ण हुन आउँछ । मुना पुस्तकमा कविता कथा छापिंदाको खुसी, कविता प्रतियोगितामा भाग लिने त्यो इच्छा, घरभित्रको त्यो हाँसो र खुशीको ‘इको सिस्टम’, केटाकेटीको लडाइँ, किशोरीवयमा आउने हर्मोन र विचार परिवर्तन अनि साना रमाइला क्षणसँग दर्शकले अपनत्व महसुस गर्न सक्छन् ।

पटकथा ‘इन्गेजिङ’ भए पनि केन्द्रीय द्वन्द्वको विकासलाई अझै उचाइमा लैजान सकेको भए फिल्म अझै सशक्त हुने थियो । मुख्य चरित्रको मनोवैज्ञानिक ‘सफरिङ’लाई अझै दर्शाउन सक्नुपर्थ्यो । जेहोस् पटकथाको एउटा संरचनाभित्र बुनिएको ‘ऐना झ्यालको पुतली’ हेर्दा मलाई लाग्यो, यो फिल्मभन्दा एउटा सुन्दर कविता हो । ‘पोएटिक न्यारेसन’ महसुस हुने खालको । मार्भल फिल्मको भीएफएक्स, साउथ इन्डियन फिल्मको हिरोगिरी र बलिउडको लार्जर देन लाइफभन्दा ‘ऐना झ्यालको पुतली’ पोषिलो छ । कम्तीमा यसले ‘अब्सोल्युट फिल्ममेकिङ’ (विशुद्ध फिल्म निर्माण)को सिद्धान्तलाई पछ्याएको छ ।

प्रोडक्सन भव्य छैन तर जीवन्त छ । सहरभन्दा परको ग्रामीण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा कथा भन्छ । लोकेसनको ताजापन र गाउँले सेटिङले आँखालाई शीतल बनाउँछ । ‘टाइम एण्ड स्पेस’ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाको बेला हो जतिबेला राजसंस्था कायमै थियो । पृष्ठभूमिमा बज्ने समाचारले दर्शकलाई देश तथा विदेशको टाइमलाइनको रुपमा प्रस्तुत गरेको छ ।

दृश्य कम्पोज (छायांकन) वाचाल र सुन्दर लाग्छन् । ब्याकग्राउन्ड स्कोरले मुड सिर्जना गरेको छ । पात्रको मुड र परिस्थितिको सघनताअनुसारको ब्याकग्राउन्ड स्कोर प्रिय लाग्छ । पहिरन र श्रृंगारले दृश्य मनोविज्ञानमा भूमिका खेलेका छन् । कथा वाचनको लयसँग प्राविधिक पक्षको संयोजन महत्वपूर्ण छ ।

‘गम्भीर’ भनिने नेपाली फिल्ममा पछिल्लो समय दुई प्रवृत्ति देखिएका थिए ।

पहिलो- फिल्म गम्भीर त भए तर विशेष भएनन् ।

दोस्रो- फिल्म सेटिङ (फिल्म स्थापना)मै सकिए ।

कम्तीमा ‘ऐना झ्यालको पुतली’ यी दुई ‘सेटब्याक’बाट मुक्त छ । फिल्म कथा होइन, पटकथा हो भन्ने आधारभूत व्याकरण पनि यो फिल्मले सम्झाएको छ । नेपाली फिल्ममा नजरअन्दाज गरिएका यी साना पक्षलाई टिपेर बनाइएको ‘ऐना झ्यालको पुतली’ दर्शनीय अवश्य छ ।

तपाईं फिल्मरुपी ‘टाइम ट्राभल’मार्फत बाल्यकाललाई फन्को मार्न चाहनुहुन्छ भने ‘ऐना झ्यालको पुतली’ तपाईंलाई रुचिकर हुनसक्छ । यसले तपाईंलाई बाल्यकालसँग नोस्टाल्जिक मात्र तुल्याउँदैन, त्यो समयको उतारचढावसँग यात्रा पनि गराउँछ । निष्कर्षमा, ‘ऐना झ्यालको पुतली’ हाम्रो समयको उत्कृष्ट फिल्म हो ।

पटकथा : निर्देशक  सुजित बिडारी
निर्माता : रामकृष्ण पोखरेल, प्रवीण स्याङ्बो, आकाश पौडेल, सुजित बिडारी
छायांकन : अमर महर्जन
कास्टिङ निर्देशक: केदार श्रेष्ठ र आकाश मगर
कस्ट्युम : जानकी कडायत
मेकअप र हेयर : राजकुमार भुजेल
जनरा : सोसल ड्रामा
समय: १ घण्टा ३० मिनेट

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?