+
+
अन्तर्वार्ता :

राजेन्द्र लिङ्देनलाई प्रश्न : धर्मको बारेमा उक्साउने अभिव्यक्ति किन दिनुभएको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते २१:३७

२६ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न-मार्न तयार नभएको भन्दै भड्काउने किसिमको टिप्पणी गरेका हुन् । उनीसँग यसै सन्दर्भमा अनलाइन खबरले गरेको छोटो कुराकानी :

ओमकार अभियानमा गएर तपाईंले हिन्दुहरुलाई मर्नमार्न उक्साउने अभिव्यक्ति किन दिनुभएको ?

होइन, मैले यहाँका हिन्दु त्यहाँ (भारत) का जत्तिको कट्टर छैनन् भन्ने अर्थमा मात्रै भनेको हुँ । यसलाई यतिमात्रै बुझ्नु ठीक हुन्छ । किनभने यहाँ त भइराखेको हिन्दुराष्ट्रलाई एकै रातमा धर्मनिरपेक्ष बनाउँदा पनि यहाँकाहरुले ताली बजाएर बसे । उनीहरु भारतका हिन्दुजत्तिको कट्टर छैनन् भन्ने अर्थमा यो कुरा उल्लेख गरेको हुँ । तपाईंहरुले के हेरेर बस्नुभो, भाला खुकुरी बोकेर आउनुपर्‍यो भन्ने अर्थमा मैले भनेको होइन ।

तर तपाईं एउटा पार्टीको अध्यक्ष, अनि सांसदजस्तो मानिसले यस्तो संवेदनशील शब्द उच्चारण गर्नुभो ।

त्यही त, मैले तपाईंहरु त्यहाँका हिन्दुजस्तो हुनुहुन्न भनेको छु । यहाँ दसैं मान्छन्, त्यहाँ मान्दैनन् । अरु पनि के फरक छ भन्ने उदाहरण दिएको छु । त्यसमा त अरु पनि लामै उदाहरण छन् । त्यसलाई मर्नमार्न अघि सरौं भन्ने अर्थमा दिएको होइन ।

त्यो अर्थमा होइन भने किन त्यस्तो उग्र शब्द बोल्नुपरेको हो तपाईंलाई ?

एउटा कुरो प्रष्टै छ नि । हामी मर्न मार्न हिँड्थ्यौं भने किन संसदीय राजनीतिमा बसिरहन्थ्यौं र ? पूरै प्रणालीमै असहमत भएको भए त हिँडिसक्थ्यौं नि । त्यसैले भारतमा र यहाँमा फरक छ यसैले पनि ।

भारतकै बाटो समाउन खोजेको हो कि ? जस्तो कि त्यहाँ संसदमै भएको पार्टीले बेलाबखत धार्मिक दंगा मच्चाउन भूमिका खेलेको आरोप लाग्छ ।

हामी त्यस्तो विचारमा विश्वास राख्दैनौं । हामी धार्मिक हिंसा, जातीय हिंसा र द्वन्द्वमा विश्वास राख्दैनौं । राष्ट्रिय  प्रजातन्त्र पार्टीले यस्तो बिलकुल मान्दैन । जबकी हाम्रो विचार नमिल्ने खालको संविधान बनिसकेपछि पनि हामीसामू दुईवटा विकल्प थियो ।

एउटा, यसलाई नमानेर विद्रोहमा जाने । दोस्रो, यही संविधान स्वीकार गरेर, यहीभित्रको बाटोबाटै परिवर्तनको बाटोमा जाने । हामीले के ठान्यौं भने यो देशले अब थप विद्रोह र द्वन्द्व थेग्न सक्दैन । राप्रपाले शान्तिपूर्ण र संवैधानिक बाटोबाटै आफ्नो राजनीतिक मुद्दालाई अघि बढाउनुपर्छ ।

उसो भए अहिले तपाईंलाई अस्ति बोलेको कुरो गलत गरिएछ भन्ने लागेको छ कि छैन ?

ए, त्यसलाई गलत अर्थमा बुझिएछ । त्यसरी नबुझिदिनहुन म अनुरोध गर्छु ।

तपाईंले धर्मनिरपेक्षताबारे पनि बोल्नुभयो । बीपी कोइराला नेतृत्वमा छँदै कांग्रेसले यो पास गरेको हो, एमालेले पनि मदन भण्डारीकै पालामा, अझ पहिले पनि यो मुद्दा बोकेको हो । जनआन्दोलनहरु तिनैले सफल पारेका हुन् । जनताको अनुमोदन आन्दोलनमार्फत् भयो । कसरी अचानक धर्मनिरपेक्षता संसदमा छिराइयो भन्न सक्नुहुन्छ ?

धर्मनिरपेक्षता भन्ने शब्द कसरी ल्याए भन्ने त मलाई थाहा भएन । तर आन्तरिक रुपमा जसरी जहाँ जे भए पनि उनीहरु ०४७ को संविधान मान्दासम्म संवैधानिक राजसंस्था मानिआएकै हुन् नि । रणनीतिक रुपमा मात्रै भए पनि उनीहरु संवैधानिक राजसंस्था मानिआएकै हुन् त । तत्कालीन माओवादीले ४० बुँदे माग लिएर जाँदा समेत उनीहरुले त्यत्ति संविधानसभा पनि मानेका होइनन् । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको त कुरै छाडिदिनुस् । त्यसैले कांग्रेसले पनि राजसंस्था, हिन्दुराष्ट्र मानेको थियो भन्ने नै देखिन्छ ।

धर्मान्तरणलाई नै धर्मनिरपेक्षता हो भन्ने प्रचार तपाईंहरु फैलाउँदै हुनुहुन्छ नि, किन ? जबकि तपाईंलाई थाहै छ, धर्मनिरपेक्षताले व्यक्तिको धार्मिक स्वतन्त्रतालाई निषेध गर्दैन, बरु सम्मान नै गर्छ । यसले त केवल राज्य र धार्मिक संस्थाबीचको सम्बन्ध हुदैन, राज्य यसबाट निरपेक्ष बस्छ भन्ने कुरा गर्छ । नेपालमा पनि यही भइरहेको छ ।

हो, पक्कै पनि । धर्मनिरपेक्षता र धर्मान्तरण अलग कुरा हुन् । तर धर्मनिरपेक्षताको आडमा अहिले देशमा धर्मान्तरण बढ्यो भन्ने कुरा चाहिँ हाम्रो भनाई हो । धर्मनिरपेक्षताको प्रारम्भमा कुन प्रयोजनका लागि प्रयोग गरियो त्यो अलग कुरा हो ।

पहिले त धर्मका आधारमा राज्यको शासन थियो । धर्मगुरुहरु राज्य सञ्चालनमा हाबी थिए । मानिसहरुले त्यसको विरुद्धमा विद्रोह नै गरे । त्यसपछि गुरुहरुले राज्यमा हस्तक्षेप नगर्ने भन्ने अर्थमा धर्मनिरपेक्षता आएको हो । त्यसैले अरुले भन्ने गरेको धर्मनिरपेक्षता र हामीकहाँ आएको धर्मनिरपेक्षता नै अलग हो भन्ने हाम्रो भनाइ छ ।

प्रसंग बदलौं, एमालेसँगको तालमेल प्रयास कहाँ पुग्यो ?

अहिले कतै पुगेको छैन । मिडियामा भन्नेगरी विकास भएको छैन ।

तालमेलको छलफल त चलिरहेको थियो ।

अनौपचारिक रुपमा, स्थानीय ठाउँहरुमा, अनि सिटविशेषमा कुरा भएका हुन् । राष्ट्रिय स्तरमा गठबन्धन गर्ने पार्टीको कुनै नीति नै छैन ।

एमालेसँग तपाईंकै झापालगायत ठाउँहरुमा सहकार्य चाहिँ हुन्छ ?

हुनसक्छ । हामी त्यसमा नकारात्मक छैनौं । कहिँ तालमेल भएछ भने त्यहीँकै आवश्यकताका आधारमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?