
३० भदौ, वीरगञ्ज । भारतको विभिन्न स्थानमा सञ्चालित आर्केस्ट्राबाट उद्दार गरिएका दुई किशोरीसहित ४ जना बिहीबार नेपाल फर्केका छन् । उद्दार गरिएको १०० दिनपछि सिरहाका १५ र १७ वर्षीया किशोरी र सुनसरी इटहरीका १८ र २१ वर्षीया युवती नेपाल फर्किएका हुन् ।
माइती नेपालको वीरगञ्जस्थित आवधिक गृहले उनीहरुको जिम्मा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । अभिभावक लिन आउन समय लाग्ने भएपछि सुरक्षाको दृष्टिकोणले पनि वीरगञ्जमा राख्नु उपयुक्त नदेखिएकोले काठमाडौं पठाएको वीरगञ्जस्थित आवधिक गृहकी प्रमुख गोमा पौडेलले जानकारी दिइन् ।
किशोरीहरुलाई ललाई फकाई हिरोइन बनाइदिने, नाचेरै राम्रो आम्दानी हुन्छ भनेर प्रलोभनमा पारेर अर्केष्ट्रामा नचाउने गरिएको पौडेलले बताइन् ।
‘आर्केष्ट्राको बारेमा उनीहरुलाई पहिला केही जानकारी नै रहेनछ । डान्स गर्ने हो राम्रो आम्दानी हुन्छ भनेर लगिएको रहेछ’ उनले भनिन्, ‘घर फर्कन खोज्दा ‘एक सिजन काम गर्नु अनि अलि जम्मा पैसा हुन्छ लिएर जानू भन्ने तर पैसा नदिएर अर्केष्ट्रा मालिकले हैरान पारेको रहेछ ।’
अब अभिभावकले काठमाडौंमै पुगेर छोरीहरुको जिम्मा लिनेछन् । मानव बेचविखन नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका एन्टी ह्युम्यान ट्राफिकिङ युनिट रक्सौल, रामगढवा थाना, मुक्ति फाउन्डेसन लगायतका संस्थाले भारत बिहारको रामगढवा थाना क्षेत्र अन्र्तगत पर्ने कोठी रोडमा छापा मारेको थियो । ४ वटा अर्केष्ट्रामा जुन ४ मा गरिएको छापामारीका क्रममा ९ जनाको उद्धार गरिएको थियो । पाँच जना भने यसअघि नै नेपाल फर्किसकेका छन् ।
उद्धार गरिएकाहरुलाई मोतिहारी जिल्ला अदालतबाट अदालती प्रक्रिया पूरा गर्दासम्मका लागि बाल कल्याण समिति मोतिहारीमार्फत बालिका गृहमा राखिएको थियो । माइती नेपालको वीरगञ्जस्थित आवधिक गृहले गत जनवरीयता नेपाल-भारत सीमा तथा भारतबाट समेत ६८ जनाको उद्धार गरिसकेको छ । भारतबाट उद्दार गरिएका अधिकांश किशोरी अर्केष्ट्राबाट नै उद्धार भएका छन् ।
प्रतिक्रिया 4