३ असोज, काठमाडौं । स्याङ्जामा जन्मेका डा. कृष्णप्रसाद पौडेल उमेरले ६० वर्षका भए । रुपन्देही हुँदै चितवन बसाइँ सरेर त्यहीँबाट बागबनी र कृषि हुँदै विद्यावारिधीसम्मको अध्ययन सेकेका उनी पछिल्लो तीन दशक खाना र खेतीपातीको वकालत गरिरहेका छन् ।
सामाजिक जागरणका क्षेत्रमा सक्रिय अभियानकर्मीको रुपमा परिचित उनै पौडेल आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तरखरमा छन् ।
विज्ञका हैसियतले सरकारी नीति निर्माणमा लामो समय योगदान गरेका पौडेलले खाना, खेतीपाती, वातावरण र विकासका नीतिगत सवालहरुको गहिरो अध्ययन, अनुसन्धान र विश्लेषणमा दशकौंको प्राज्ञिक तथा व्यावहारिक अनुभव हासिल गरेका छन् ।
चितवनको रामपुर क्याम्पस पढ्दादेखि निकुन्जबाट लखेटिएका आदिवासी, जनजाति, सीमान्तकृत समुदाय, वर्ग र भूगोलका समुदायको पक्षमा वकालत सुरु गरेका उनी पछिल्लो समय भने खेतिपातीमा प्रयोग हुने कृत्रिम रसायन र घातक विषको कारण माटो र मानव स्वास्थ्यमा परेको असरबारे पैरवी गरिरहेका छन् ।
‘यो प्रवृत्तिमा गम्भिर नहुने हो भने हाम्रै कारणले प्रकृति थप विनासको बाटोमा जान्छ र एकदिन जीवन नै धरासयी हुनसक्छ,’ उनी भन्छन्, ‘विषादी र कंकि्रटले उत्पादनशील जमिन ध्वस्त भइरहेका बेला कतिञ्जेल खाद्यान्न आयातमा निर्भर रहन सक्छौं ?’
आधारभूत वस्तुमै मुलुक परनिर्भर रहेका बेला राष्ट्रवादको र समृद्धिको विषय यसैलाई बनाउनुपर्ने पौडेल बताउँछन् । ‘यो एक हिसाबले प्रकृति दोहनको जगमा निर्माण भएको उपनिवेशी औद्योगिक विकासले निम्त्याएको संकट हो,’ उनी भन्छन्, ‘यसलाइ सच्याउन विकास र वामपन्थलाई अग्रगामी दृष्टिकोणले हेर्नुपर्ने भएको छ ।’
समाजवाद उन्मुख राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थानसँगै लैजान अब अनिवार्य भएको बताउने पौडेल दिगो विकासको दृष्टिकोणलाई समाजवादको आधार बनाउनु पर्ने सुनाउँछन् । यसलाई नीति निर्माण तहबाट सम्बोधन गर्न भन्दै उनले प्रतिनिधिसभा सदस्य बन्ने बाटो रोजेका छन् ।
राजनीतिको प्रवृत्ति र समग्र प्रकृति दुवै पुनर्जीवित बनाउन र नेपालीको जीवन सम्बृद्ध, सुखी र खुसी हुनेतर्फको यात्रा सुनिश्चित गर्न राजनीतिक हस्तक्षेप गर्नुपर्ने स्थिति आएको उनको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4