+
+

रवीन्द्र मिश्रको पुस्तक विमोचनमा जे देखियो, सुनियो

सीपी मैनालीदेखि दीपक ज्ञवालीसम्मले देखाए राजाप्रतिको भक्ति, लोकतन्त्रप्रतिको विरक्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १९:५७

३ असोज, काठमाडौं । संयोगै हुनुपर्छ, नयाँ संविधानलाई भित्रदेखि नस्वीकारेका रवीन्द्र मिश्रले आफ्नो नयाँ पुस्तक विमोचन गर्न सोही संविधान जारी भएको दिन छान्न पुगे । उनी परे संवैधानिक राजसंस्थाका पक्का समर्थक ।

राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको संविधान दिवसको छेको पारेर मिश्रले ‘विचार भन्दा माथि देश’ किताब सोमबार सार्वजनिक गरे । यो त्यही किताब हो जसले राजतन्त्र फर्काउने, संघीयता मास्ने र हिन्दु–बौद्ध राष्ट्र बनाउने वकालत गर्छ ।

०६२/०६३ को जन–आन्दोलनले विस्थापित गरिसकेका यी संस्था र विचारलाई पुन:स्थापित गर्ने आफ्नो सोचलाई मिश्रले ‘विचारभन्दा माथि देश’को बर्को ओढाएका छन् ।

०७८ को साउनमै मिश्रले ‘मार्ग परिवर्तन’ भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताको सवालमा जनमतसंग्रह गर्नुपर्ने विचारसहित विवेकशील साझामा राजनीतिक दस्तावेज पेश गरेका थिए । त्यही दस्तावेजलाई किताबको रुप दिएर मिश्रले सोमबार सार्वजनिक गरे । स्मरण रहोस् यही दस्तावेजले निम्त्याएको किचलोका कारण विवेकशील साझा अहिले करिब निष्क्रिय छ ।

टुँडिखेलमा संविधान दिवस मनाइरहँदा प्रज्ञा प्रतिष्ठानमा मिश्र भने देशका लागि राजा अपरिहार्य भएको दाबी गरिरहेका थिए ।

०६२/०६३ को जन–आन्दोलनमा पनि आफूले राजतन्त्र किन हटाउने भन्दै प्रश्न गर्दा आफूलाई पश्चगामी भनेको उनले सम्झिए । त्यसबेला राजा र जनताबीच आएको फाटोमा विदेशीले चलखेल गरेर राजतन्त्र समाप्त पारेको उनको निचोड थियो । आफूले बारम्बार राजा हटाउन नहुने भनिरहँदा आफ्नो कुरा कसैले नसुनेको भन्दै उनले भने, ‘त्यो आन्दोलनको हुरीमा कसैले मेरो कुरा सुनेनन् ।’

२०७२ मा संविधान आएपछि देश लयमा फर्किन्छ भन्ने सोचेर आफू चुप लागेको पनि उनले सुनाए । ०७२ को संविधान स्वीकारेरै आफूले त्यतिखेर साझा पार्टी दर्ता गरेको, चुनाव लडेको सुनाउँदै उनले भने, ‘तर, ०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो ।’ देश ठीक दिशामा नगएको महसुस भएपछि मिश्रको मनमा पहिल्यैदेखि गढेर रहेको ‘राजा मोह’ ‘मार्ग परिवर्तन’का नाममा उजागर भयो ।

विदेशी हस्तक्षेप बढेको, भू–राजनीतिको जालोमा मुलुक फसेको भन्दै केहीबेर आक्रोश पोखे मिश्रले । अनि उनले ०७४ देखि नै सुनाउँदै आएको संसारकै सुन्दर शहर हुनसक्ने काठमाडौं कुरुप बनाइयो भन्ने टिप्पणीसमेत गरे ।

नयाँ पुस्तालाई राजतन्त्रको इतिहास नपढाएर गलत गरिएको टिप्पणी मिश्रले गरे । गलत इतिहास पढाएर युवा पुस्तालाई राजनीति मायाजालमा फसाइएको पनि उनले सुनाउन भ्याए ।

केही समय अगाडि मिश्रले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र एक दिन राजा भएको हेर्न मन छ भन्दै ट्वीट गरेका थिए । सोमबार भने उनले राजा मुलुकको संकट मोचक भएको जिकिर गरे । मुलुकलाई संकट पर्दा, अप्ठ्यारो पर्दा उकास्न सक्ने राजा मात्र भएको उनको जिरह रह्यो ।

देशमा बढिरहेको धर्मान्तरण रोक्न, भू–राजनीतिको चंगुलबाट मुलुकलाई उकास्न राजसंस्था चाहिने उनको दाबी थियो । निकट भविष्यमा नेपाल संकटमा पर्ने प्रबल संभावना रहेको दाबी गरिरहेका मिश्रले त्यही संकटबाट पार लगाउन राजा चाहिने विचार पोखे ।

‘भोलि यो देश संकटमा पर्न सक्ने प्रबल सम्भावना छ । यमन, सिरिया, लिबिया, अफगानिस्थान जस्ता देशमा संकट पर्‍यो’, मिश्रले भने, ‘यस्तो संकट आउँदा जनताहरु लामो विरासत भएको ऐतिहासिक संस्थातिर हेर्छन् ।’ र, त्यो लामो विरासत भएको ऐतिहासिक संस्था राजतन्त्र मात्र भएको उनको दाबी रह्यो ।

स्वर्गीय अधिवक्ता गणेशराज शर्माको सन्दर्भ दिँदै मिश्रले आफ्नो मनमा रहेको राजसंस्था मोह उप्काए, ‘एकजना महान, विद्धान वकिल हुनुहुन्थ्यो गणेशराज शर्मा, उहाँले भन्नुभएको थियो, यो देशलाई राजसंस्था चाहिन्छ । बरु खोपामा राखौं, संसदले बाँधेर राखौं, राजतन्त्र चाहिन्छ ।’

राजासंग आफ्नो कुनै साँठगाँठ नभएको प्रष्ट्याउँदै उनले भने, ‘पत्रकार हुँदा मेरो राजासंग दुई पटक भेट भएको हो ।’

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिइसकेका मिश्र यतिखेर राप्रपा प्रवेश गर्ने तयारीमा छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने कुरा चलेपनि निधो भने भइसकेको छैन । चुनावको मुखमा दलहीन भएका मिश्रले ‘विचारभन्दा माथि देश’को आवरणमा राजतन्त्र पक्षधरको सेन्टिमेन्ट आफ्नो पक्षमा पार्ने रणनीति अन्तर्गत आफ्नो किताबी दस्तावेज सार्वजनिक गरेका छन् ।

यही दस्तावेजका कारण आफूलाई पश्चगामी भन्ने गरिएपनि आफू आफ्नो विचारबाट टसमस नभएको उनले सुनाए । उनले भने, ‘पश्चगामी भन्लान् भनेर म डराउँदै डराउँदिन ।’

मिश्रले अहिलेसम्म आफू कुन क्षेत्रबाट चुनाव उठ्ने भनेर घोषणा गरिसकेका छैनन् । तर, पनि आफू जित्ने तर देश हार्ने राजनीति नगर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले हौसिँदै भने, ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्नुछैन । म आफू पनि जित्छु देश पनि जिताउँछु ।’

किताब विमोचनमा टिप्पणीकारणका रुपमा उभिएका नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो मार्क्सवाद र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो भएको सुनाए ।

किताबमाथि टिप्प्णी गर्न उभिएका मैनालीले किताबै नपढेको सुनाउन अप्ठ्यारो मानेन् । मिश्रको विचारसंग आफ्नो पनि विचार मिलेको सुनाउँदै मैनालीले ०१७ सालमा महेन्द्रले प्रजातन्त्र मासेर देश बचाएको टिप्पणी गरे ।

नेपाललाई सिक्किम बनाउने ग्राण्ड डिजाइन रोक्न महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायत लागु गरेको दाबी गरिरहेका मैनालीले कम्युनिष्ट, प्रजातन्त्रवादी र राष्ट्रवादीहरु एकजुट भएर देश बचाउन लाग्नुपर्ने जिकिर गरे ।

०४७ सालको संविधान फिर्ता ल्याउने अभियानमा लागेका जलस्रोत मामिलाका जानकार दीपक ज्ञवालीले त मिश्रको ‘विचारभन्दा मािथ देश’ किताब नपढी राजनीतिक दलहरुले चुनावी घोषणापत्र लेख्न नसक्ने दाबी गरे ।

‘विचार भन्दा माथि देश’लाई मिश्रले आफू दलको नेतृत्व त्यागेर फुर्सदिलो भएको समयमा किताबको रुप दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?