+
+

होलसेल बजारमा सन्नाटा, व्यापारी भन्छन्– ठाउँ छोड्न मात्र बाँकी छ

दशैं आउन अब केही दिन मात्रै बाँकी छ । यो अवधिमा किनमेलका लागि काठमाडौको असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रका होलसेल बजारमा सर्वसाधरणको भीड थामिनसक्नु हुनुपर्ने हो । तर यस क्षेत्र अहिले सुनसान जस्तै रहेको व्यापारीहरु बताउँछन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असोज ४ गते १८:०९

४ असोज, काठमाडौं । न्यूरोडको रञ्जना कम्लेक्स पछाडि रहेको शिवशक्ति स्टोर्सले पुरुषहरुको रेडिमेड कपडाको होलसेल बिक्री गर्छ । सोमबार अनलाइनखबर टोली पुग्दा पसल सञ्चालक राजेशकुमार लुनवात ग्राहक पर्खिरहेका थिए । लत्ताकपडा व्यापारको सिजन मानिने दशैं सुरु हुन एक साता मात्रै बाँकी रहँदा पनि उनी फुर्सदिला देखिन्छन् ।

‘दिनमै लाखको व्यापार हुनुपर्ने बेला हो,’ उनी भन्छन्, ‘तर झोक्राएर बस्नुपरेको छ ।’ रकम अभावले धेरै सामान ल्याउनै नसकेको लुनवात बताउँछन् ।

व्यवसायी राजेशकुमार लुनवात

‘न हामीले नयाँ सामान हाल्न सक्यौं न किन्न आउनेले पैसा खर्च गर्न सकेका छन्,’ उनी थप्छन्, ‘बेच्ने र किन्ने दुवैको पैसा सकिएजस्तो छ ।’

पुरुषको कपडा बिक्री गर्ने न्यूरोडकै सरोज श्रेष्ठ पनि फुर्सदिला भेटिए । व्यापार कस्तो छ भन्ने हाम्रो जिज्ञासामा उनले बजारमा आर्थिक मन्दी लागेको बताए । गत वर्षमा भन्दा ४० प्रतिशत व्यापार घटेको उनी बताउँछन् ।

व्यवसायी सरोज श्रेष्ठ ।

‘होलसेलमा दैनिक ५/७ हजारको व्यापार गरेर बस्नुपरेको छ । यो व्यापार भनेको सापोनापो भन्दा पनि तल हो,’ श्रेष्ठ भन्छन्, ‘घरभाडा, कर्मचारी खर्च र बैंकको ब्याजसमेत थपिंदा कुनै नाफा छैन ।’

असन, इन्द्रचोक, महाबौद्ध क्षेत्र होलसेल बजारका लागि परिचित ठाउँ हो । तर त्यस क्षेत्रका व्यापारीहरु भने हिजोआज होलसेल सामान किन्नेहरु नै यो क्षेत्रमा सामान लिन आउन छाडेको बताउँछन् । कतिपय व्यापारी त यो क्षेत्र छोडेर अन्यत्र जानुपर्ने अवस्था आएको दुखेसो गर्छन् ।

पेटी, मोजा र मास्क जस्ता वस्तुहरुको होलसेल व्यवसाय गर्ने बैकुण्ठ दाहाल पनि व्यापार घटेकामा चिन्तित छन् ।

व्यसायी बैकुण्ठ दाहाल ।

‘दिनभरि पसल रुघेर बस्ने काम भएको छ । न खुद्रा पसले आए, न खुद्रा ग्राहक,’ व्यवसायी दाहाल भन्छन्, ‘बजारको यस्तो सन्नाटाले सटर भाडा पनि तिर्न सकिंदैन ।’

ठूला चाडवाडकै बेलामा ब्यापार हुन छाडेको मंगला सयनी स्टोर्सकी सञ्चालक प्रतीक्षा तिमिल्सिनाले बताइन् । महिलाको रेडिमेड कपडाको होलसेल बिक्री गर्ने पसल अहिले सुनसान रहेको भन्दै उनले भनिन्, ‘यो दशैंमा मात्रै होइन । तीजदेखि नै बजार यस्तै छ ।’

तीजमा उपत्यकाभित्रका र बाहिरका खुद्रा पसलले समेत सामान किन्न नआएको उनले बताइन् । ‘सोह्रश्राद्धको समयभरि होलसेलबाट खुद्रा व्यापारीले सामान लान्छन्, त्यसपछि बजारमा छिर्ने मानिसहरुका कारण खुद्रामा व्यापार हुन्थ्यो,’ प्रतीक्षा भन्छिन्, ‘यसपालि होलसेल, खुद्रा दुवै व्यापार भएन ।’

व्यापारी नै टाट पल्टिए

व्यवसायी सरोज श्रेष्ठका अनुसार उनले चिनेका एक जना व्यापारीले केही दिन अघि होलसेल पसल आफ्ना कर्मचारीलाई नै जिम्मा लगाएर हिंडे । कर्मचारीको नामबाट फरक फरक सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका ती व्यापारीको कारोबार बिग्रिएपछि जसको नाममा सहकारीमा ऋण थियो उनैलाई पसल जिम्मा लगाएको आफूले देखेको श्रेष्ठले बताए ।

‘व्यवसायीले सामान किन्न सहकारी वा बैंकबाट ऋण लिनुपर्छ । अहिले बैंक र सहकारी दुवै ऋण दिने अवस्थामा छैनन्,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले व्यवसायी मारमा परे, सायद उपभोक्ता पनि यस्तै समस्यामा छन् ।’

कतिपय व्यवसायीले न्यूरोड छोडिसकेको भन्दै श्रेष्ठ भन्छन्, ‘बाँच्न मात्रै सकिने खालको विकल्प पाए न्यूरोडका २५ प्रतिशत व्यापारी पसल छाडेर हिंड्ने तयारीमा छन् ।’

व्यवसायी राजेशकुमार लुनवात न्यूरोडको आर्थिक अवस्था आफ्नो अनुहारमा हेर्न आग्रह गर्छन् । व्यवसाय चलायमान बनाउन सापटी र ऋण पाउन त परको कुरा आफ्नै बचत समेत झिक्न नसकिको उनले बताए ।

‘एउटा सहकारीमा मेरो बचत छ । दशैंमा सामान थप्नुपर्छ भनेर पैसा मागेको एक दिन बिराएर पाँच हजार दरले पैसा दिन्छ’, उनले भने, ‘यस्तो अवस्थामा कसरी व्यापार गर्न सक्छौं ।’

व्यवसायीहरुका अनुसार यसअघि वर्षमा तीन पटक सामान लिन आउने खुद्रा व्यपारी एक पटक मात्र आएका छन् । त्यही पनि उधारोमा समान माग्ने गरेका छन् ।

बल्ल त सामान आउँदैछ

व्यवसायी प्रतीक्षा तिमिल्सिना आर्थिक संकट नटरेको जिकिर गर्छिन् । ‘हामीले नयाँ सामान राख्न चीनको नाका कहिले खुल्यो, सामान कहिले आयो ?’, उनले प्रश्न गरिन्, ‘हामीलाई सामान किन्न र व्यापार गर्न सरकारले सहजै ऋण पाउने अवस्था कहिले आयो त ?’

व्यवसायी रामचन्द्र पराजुली

चीनबाट सामान ल्याएर नेपालमा व्यापार गर्ने व्यवसायी रामचन्द्र पराजुलीका अनुसार नाकामा रोकिएको सामान विस्तारै काठमाडौं आइपुग्दैछ । होलसेल पसलबाट खुद्रा पसलमा सामान गइसक्नुपर्ने बेला बल्ल होलसेल पसलमा सामान आइपुग्न थालेको उनी बताउँछन् ।

आएको सामान पनि पर्यप्त नभएको भन्दै उनले बजार नचल्नुमा व्यवसायीसँग पैसा नहुनु प्रमुख कारण भएको धारणा राख्छन् । ‘बैंकबाट व्यवसाय गर्न पैसा पाउने अवस्थै छैन । स्थानीय चुनावपछि केही सुधार होला कि भनेर व्यवसायीले कुरेपनि थोरै व्यापारीले बाहेक सामान ल्याउन नसकेको पराजुलीले बताए ।

हिमालय सीमापार व्यापार संघका सचिव समेत रहेका पराजुली बजारमा पैसाको परिचालन नहुनु नै व्यापार घट्नु प्रमुख कारण हो ।

तस्वीर : विकास श्रेष्ठ

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?