+
+
आम चुनाव २०७९ :

चुनाव आएपछि डोटीका नेताले फेरि सम्झिए प्रदेश राजधानीको मुद्दा

रामहरि ओझा रामहरि ओझा
२०७९ असोज ४ गते १९:१४
वीरबहादुर बलायर, प्रेम आले र त्रिलोचन भट्ट

४ असोज, डोटी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा डोटीमा विगतका चुनावमा नेताहरुले गरेको प्रतिवद्धताको चर्चा हुन थालेको छ । विगतका निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नभएकोप्रति डोटीमा आक्रोश बढ्दै गएको छ ।

यस्तै प्रतिवद्धतामध्ये एक थियो सुदूरपश्चिम प्रदेशको राजधानी दिपायललाई बनाउने । नेताहरुले प्रदेश राजधानी दिपायल हुनेमा ढुक्क रहन डोटीबासीलाई आश्वासन दिएका थिए । तर, २०७४ साल माघ ३ गते तत्कालीन सरकारले संविधानको धारा २८८(३) अनुसार प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोक्यो । त्यसपछि २०७५ साल असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले संविधानको धारा २८८(२) अनुसार प्रदेश राजधानी कैलालीको गोदावरी तोक्यो ।

०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नहुँदैदेखि डोटीबासी प्रदेश राजधानीका लागि आन्दोलनरत थिए । निर्वाचनताका सबै उम्मेदवारले प्रदेश राजधानी दिपायल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, न अस्थायी मुकाम डोटी तोकियो न राजधानी नै ।

२०७९ सालको निर्वाचनअघि डोटी आउँदा तीन प्रभावशाली नेताहरुले प्रदेश राजधानी सम्झिएका छन् ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर राजधानी सबै कारणले डोटी हुनुपर्ने बताउँछन् । कैलालीलाई अस्थायी मुकाम तोक्ने शेरबहादुर देउवा मन्त्रिपरिषदमा बलायर पनि मन्त्री थिए । कैलाली अस्थायी मुकाम तोकिएको विरोधमा डोटीमा आन्दोलन चलिरहँदा उनले अस्थायी मुकाम डोटीनै तोकिने आश्वासन दिएका थिए ।

हाल उनले आफूले डोटीलाई अस्थायी मुकाम तोक्न पहल गरे पनि नसकेको बताए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएकाले आफ्नो आवाज कमजोर भएको उनी बताउँछन् । उनी अस्थायी मुकाम तोक्ने बेला भन्दा पनि राजधानी तोक्दा डोटीका प्रदेशसभा सदस्यहरुले गल्ती गरेको बलायर बताउँछन् ।

‘डोटी जिल्लाका तीन जना माननीयले गोदावरीको पक्षमा किन मत हाले ?’ भदौ १५ गते प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बलायरले भनेका थिए, ‘उनीहरुले भोट नहालेको भए गोदावरी राजधानीको प्रस्ताव पासै हुने थिएन ।’

उनी अझै राजधानी डोटी हुन सक्ने सम्भावना देख्छन् । ‘गोदावरीमा जंगल छ, हाम्रो राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय प्रतिवद्धताले पनि जंगल मासेर संरचना बनाउन दिँदैन’ बलायर भन्छन्, ‘यदि गोदावरीमा राजधानी हुने भए हालसम्म भइसक्थ्यो ।’

०७४ को चुनावमा प्रदेश राजधानीको मुद्धालाई जोडबलका साथ उठाउने अर्का नेता हुन् प्रेमबहादुर आले । त्यतिबेला नेकपा एमालेबाट उम्मेदवार रहेका आलेले प्रदेश राजधानी दिपायल बनाउन नसके प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर राजनीति छोड्ने घोषणा गरेका थिए । उनले चुनाव जिते, तर राजधानी गोदावरीमा तोकिए पनि उनले आफ्नो प्रतिवद्धता बिर्सिए ।

पाँच बर्षपछि अर्को चुनाव आउँदा आलेले पनि राजधानीको एजेण्डा सम्झिएका छन् । भदौ २० गते दिपायल एयरपोर्टको टर्मिनल भवनको शिलान्यास गर्न डोटी पुगेका उनले आफूले राजधानी बनाउनका लागि धेरै प्रयास गरेको तर सफल नभएको वताए ।

‘मैले राजधानी दिपायल राख्न हदैसम्मको प्रयास गरेको हुँ’ नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्यसमेत रहेका आलेले भने ‘तर पहिले नै अस्थायी राजधानी कैलाली तोकिएकाले मेरो प्रयास असफल भयो ।’ उनले आफूले एमाले अध्यक्ष केपी ओली, तत्कालीन एमाले नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्डसँग समेत दिपायल राजधानीका लागि कुरा गरेको दावी गरे । उनले गोदावरी राजधानी तोकिनु दुर्भाग्य भएको बताए ।

चुनावकै मुखमा राजधानी सम्झिनेमा प्रदेश सभा सदस्य पूर्णा जोशी पनि पर्छिन् । प्रदेश सभाको अधिवेशन अन्त्य हुँदा उनले भदौ १८ गते प्रदेश राजधानी दिपायलमै उपयुक्त हुने जिकिर गरिन् । प्रदेश आन्तरिक मामिला तथा कानूनी मन्त्रीसमेत रहिसकेकी जोशीले त्यतिबेला आफूबाट कमजोरी भएको समेत बताइन् ।

उनले पार्टीको ह्वीप मानेर गोदावरी राजधानीको पक्षमा मतदान गरेको बताइन् । ‘ह्वीप मानेर हामीले गोदावरी राजधानीका पक्षमा मतदान गर्‍यौं तर आज नगरेको भए हुने थियो भन्ने लागेको छ’ एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेकी जोशी भनिन् ।

२०७४ सालको चुनावताका डोटी राजधानी हुनुपर्ने बिषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट पनि प्रतिवद्ध थिए । उनी प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि पनि प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्दै साविकको क्षेत्रीय प्रशासन कार्यालयमा धर्नासमेत बसेका थिए । तर, मुख्यमन्त्री भएपछि उनले बोली फेरे ।

मुख्यमन्त्री भएपछि उनले भन्ने गरेका थिए ‘राजधानी मेरो वशको बात छैन, प्रदेश सभाले गर्ने निर्णय हो, तर सरकारको तर्फबाट डोटीका लागि गर्नुपर्ने काम म गर्छु ।’ हाल भने उनले राजधानीको बिषयमा केही बोलेका छैनन् ।

नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा प्रदेश सभा सदस्य अर्चना गहतराजले पनि गोदावरी राजधानीकै पक्षमा मतदान गरेकी थिइन् । उनी हाल पनि राजधानीको बिषयमा केही बोलेकी छैनन् ।

निर्वाचनको समयमा राजधानी दिपायल हुनुपर्ने बिषयमा चर्को आवाज उठाउने अर्का व्यक्ति हुन प्रदेश सभा सदस्य भरत खड्का । प्रदेश सभा सदस्य भइसकेपछि उनले प्रदेश सभा सचिवालयमा प्रदेशको नामकरण र राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।

०७५ साल जेठ २७ गते दर्ता भएको खड्काको प्रस्तावमा राजधानी ‘ऐतिहासिक, दीर्घकालीन महत्व, सन्तुलित विकास, भौगोलिक र सामरिक दृष्टिकोणका साथै औचित्यको आधारमा तोकियोस्’ भन्ने छ, तर दिपायल राजधानी हुनुपर्ने माग गरिएको छैन ।

राजधानीको प्रस्तावमाथी प्रदेश सभामा छलफल हुँदा कांग्रेसभित्रै धनगढी कि गोदावरी भन्नेमा बिवाद हुँदा कांग्रेसले उक्त प्रस्ताव बहिस्कार गरेको स्रोतको दावी छ । पार्टीले बहिस्कार गरेपछि खड्काले पनि मतदान गर्नु परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?