+
+

के राख्‍ने बच्चाको नाम ?

मनिषा थापा मनिषा थापा
२०७९ असोज ५ गते १७:१९

काठमाडौं । बच्चाको नाम के राख्ने ? सुन्दा सामान्य लाग्ने यो प्रश्नले दम्पतीलाई भने टाउको  रिंगाउने गर्छ । जब बच्चा जन्मिन्छन्, दम्पती आफ्नो बच्चाको नाम खोज्नतर्फ लाग्छन् ।

बच्चाको नाम के राख्ने ? कसरी राख्ने ? कस्तो राख्ने ? उनीहरुलाई यी प्रश्नको हल गर्न कठिन हुन्छ । किनभने आमाबुवाले बच्चालाई जुन नाम दिन्छन्, त्यही नै उनीहरुको जीवनभरका लागि पहिचान बन्छ । अतः जीवनभर त्यही नाम एवं ख्यातिका लागि उनीहरुले संघर्ष गर्छन् । भन्नलाई त ‘नाममा के छ र ?’ भनिन्छ । तर मान्छेले मृत्युपर्यन्त आफ्नो ‘नाम’ रहनुपर्छ भन्ने आकांक्षा राख्छन् ।

अतः बच्चाको लागि उपयुक्त नाम खोज्नु कुनै बच्चाको खेल होइन । जस्तो भक्तपुर दुवाकोटकी निशा अधिकारीको अनुभव सुनौं । जब उनको गर्भ रह्यो, दम्पतीबीच बच्चाको नाम खोज्ने दौड सुरु भयो । छोरा जन्मिए यस्तो नाम राख्‍ने, छोरी जन्मिए उस्तो नाम राख्ने भनेर उनीहरु दिनदिनै नयाँ-नयाँ नाम जुराउन खोज्थे । तर चित्त बुझे पो !

उनीहरु गुगलमा बच्चाको नाम खोज्थे । एउटा नाम जुराउँथे । श्रीमान् र श्रीमती उक्त नाम कस्तो होला भनी छलफल गर्थे । फेरि उक्त नाम रद्द हुन्थ्यो । निशा भन्छिन्, ‘श्रीमानले जुराएको नाम मलाई मन नपर्ने, मैले जुराएको उहाँलाई मन पर्ने ।’ दम्पती मात्र हो र ? दाजु, दिदी, भाउजू, साथी सबैलाई उनीहरुले बच्चाका लागि नाम खोजिदिन भनेका थिए । तर सहजै यस्तो नाम भेटिंदैनथ्यो, जो उनीहरुलाई सुन्दर र सुहाउँदो लागोस् । साथै त्यही नाममा दुवैको सहमति पनि जुटोस् ।

उनको कोखबाट छोरी जन्मिइन् । अन्ततः उनीहरुले आ-आफ्नो नामको सुरुको अक्षर फुत्तफुत्त झिकेर एउटा सग्लो नाम जुराए, सेनिशा ।

यसैगरी सरस्वतीखेलका अनिवेश थापाकी श्रीमती उषा थापा गर्भवती छिन् । बच्चा जन्मिसकेपछि नाम जुराउन सास्ती हुन्छ भनेरै हुनुपर्छ, उनीहरुले नाम खोज्न थालेका थिए । बच्चाको सम्भावित नामलाई लिएर दम्पतीबीच कहिले ख्यालठट्टा त कहिले विवाद हुनेगथ्र्यो ।

संयोगवस उषाले टिकटक हेर्दाहेर्दै एउटा आकर्षक नाम फेला पारिन् । र, आफ्ना बच्चाका लागि सोही नाम राख्ने टुंगो गरिन् ।

नाम जुराउने पुरातन शैली

पहिले पहिले बच्चा जन्मिएको बार अनुसार नाम जुराउने गरिन्थ्यो । सोमबार जन्मिएकालाई सोममाया, सोमबहादुर । मंगलबार जन्मिएकालाई मंगल, मंगलादेवी । तर अहिलेका दम्पती यस्तो नाम दोहोर्‍याउन इच्छुक छैनन् । उनीहरु आफ्नो बच्चालाई यस्तो नामले सुशोभित गराउन चाहन्छन्, जो सुन्दा आकर्षक होस्, अर्थपूर्ण होस्, उच्चाहरण गर्न सजिलो होस् । छरितो र मिठासपूर्ण ।

हुन त विभिन्न परम्परामा बच्चा जन्मिएपछि पुरोहित वा पुजारीबाट ‘न्वारान’ गराइन्छ । तर अधिकांश दम्पतीले न्वारानको नाममा पनि चित्त बुझाउँदैनन् । कतिपयले के पनि भन्छन् भने, न्वारानको नाम भन्न हुँदैन । अन्ततः दम्पतीहरु बच्चाको नाम आफ्नै मर्जीमा राख्न चाहन्छन् ।

पहिले पहिले रामायण, महाभारत आदिबाट नाम सापटी लिइन्थ्यो । अर्थात् पौराणिक पात्र एवं देवीदेवताको नाममा आफ्नो बालबच्चाको नाम राख्ने गरिन्थ्यो । जस्तो कि, राम, सीता, कृष्ण, अर्जुन, भीष्म, बिदुर । आ-आफ्नै जाति-परम्परा अनुसार पनि नाम राख्ने प्रचलन थियो । कसैले डोल्मा, कसैले छिरिङ । कसैले रामविलास, कसैले केशरीलाल । यसरी नाम राख्दा एकअर्कासँग जुध्ने भएकाले मध्यम नाम पनि जोड्ने गरिन्थ्यो । कुमार, माया, प्रसाद, बहादुर आदि ।

तर समय बदलियो । अनि बदलियो बालबच्चाको नाम पनि ।

नाममा फड्को

अघिल्लो पुस्तासम्म आइपुग्दा बालबच्चाको नाममा धेरै फेरबदल भए । विगतका नामलाई दम्पतीले बदर गरिदिएपछि उनीहरु नयाँ-नयाँ नाम खोज्न थाले ।

यतिबेलासम्म टेलिभिजनले व्यापकता पाइसकेको थियो । सिनेमाको पहुँच बढिसकेको थियो । हिरो-हिरोइन र टेलिशृंखलाका पात्रमा मान्छेको आकर्षण बढेको थियो । दम्पतीले आफ्नो बच्चाको नाम जुराउन यही माध्यमको सहारा लिन थाले । आफ्ना मनपर्दो कलाकार, पात्र, चर्चित व्यक्तित्व आदिबाट उनीहरुले भटाभट आफ्ना बालबच्चाको नाम जुराउन थाले ।

पौराणिक ग्रन्थबाट पनि उनीहरुले यस्तो नाम रोज्न थाले, जो धेरै प्रचलनमा आएका छैनन् । यस्ता नाम पृथक हुन्थे, साथै अर्थपूर्ण पनि । त्यससँगै पश्चिमा शैलीका नामहरु पनि राख्न थालियो ।

यो क्रम अहिले आएर अरु उन्नत भएको छ । अहिले त इन्टरनेटले नै मान्छेको नाम खोज्न सघाउँछ । गुगल सर्च इन्जिनमा गएर खोज्यो भने उसले सम्भावित नामको अनेक विकल्प देखाइदिन्छ । सामाजिक सञ्जालमा गएर सहयोग मागेमा पनि अनगिन्ती नाम जुराइदिन्छन् । तर पनि दम्पतीको ‘दशा’ भने टरिसकेको छैन । किनभने उनीहरु बच्चालाई यस्तो नाम दिन चाहन्छन्, जो अरु कसैसँग मेल नखाओस् । अतः यस्तो नाम फेला पार्न निकै समय मथिंगल खियाउनुपर्ने हुन्छ ।

बच्चाको नाम राख्नु यस्तै सास्ती हुन्छ भनेर पनि होला, कतिपयले त प्रेम सम्बन्धमा रहँदै भविष्यको बच्चाको नाम तय गरिसक्छन् ।

नाम खोजिदिने काम

अभिनेत्री सरिता लामिछानेलाई कतिपयले सोध्छन्, ‘मेरो बच्चा जन्मिदैछ । नाम के राख्ने ? कस्तो नाम ठीक होला ?’

सरिताले सकेसम्म उनीहरुको लागि चित्तबुझ्दो नाम जुराइदिने गरेकी छन् । उनी भन्छिन्, ‘चिनेजानेका, आफन्तहरुले फोन गरेर बच्चाको नाम जुराइदिन आग्रह गर्छन् । म पनि सकेसम्म राम्रो राम्रो नाम खोजेर सिफारिस गरिदिन्छु ।’

सरिता स्वयंले भने छोरीको नाम राखिदिने क्रममा यति धेरै टाउको दुखाइनन् । श्रीमान अर्थात निर्देशक ऋषि लामिछाने र आफ्नो नामको केही अंश जोडेर छोरीको नाम जुराइदिए, समृद्धि । ‘नाम छरितो, मीठो र अर्थपूर्ण हुनुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन् ।

नामको आफ्नै खालको व्यक्तित्व र आकर्षण

अविरल थापा, फिल्म निर्माता 

नामको आफ्नै खालको व्यक्तित्व र आकर्षण हुन्छ ।  हुन त कर्मले जस्तोसुकै नामलाई पनि उज्वल बनाउन सकिन्छ । फेरि नाम गतिलो राख्दैमा कर्म पनि त्यही अनुसार हुन्छ भन्ने छैन । नाम जस्तोसुकै भए पनि कामले त्यसलाई अर्थपूर्ण बनाउनु ठूलो कुरा हो ।

मेरो पनि ९ महिनाको छोरी छिन् । उनको नाम हामीले देवाश्री राखिदियौं । छोरी जन्मिएको बेला सबैले भनेका थिए, ल छोरी जन्मियो । लक्ष्मीको जन्म भयो ।

लक्ष्मीप्रति हाम्रो ध्यान गयो । लक्ष्मीको अरु उपमाहरु के के छन् भनेर हामीले खोज्यौं । अन्ततः फेला पर्‍यो, देवाश्री । यो सुन्दा राम्रो लाग्यो, अर्थपूर्ण पनि । यसको अर्थ अलौकिक सुन्दरी भन्ने लाग्ने रहेछ । खासमा यो नाम जुराउने काम चाहिं मेरी श्रीमतीको हो । उनको प्रस्तावलाई मैले सहर्ष अनुमोदन गरिदिएँ ।

कुनै पनि बच्चा राम्रो वा नराम्रो भन्ने हुँदैन । सबै बच्चा आफैंमा राम्रा हुन्छन् । असल हुन्छन्, निश्चल हुन्छन्, निर्दोष र सुन्दर हुन्छन् । त्यसैले बच्चाको नाम जुराउँदा सम्भव भएसम्म राम्रै राखिदिनुपर्छ, ताकि झट्ट सुन्दा पनि मीठो लागोस् ।

बच्चाको नाम यसरी पनि राख्न सकिन्छ

-बच्चाको नाम राख्दा नाम सरल शब्दमा राख्नुपर्छ, जसलाई उच्चारण गर्न समस्या नहोस् ।

-अहिलेको समयमा अभिभावकले आफ्नो नामको शब्द लिएर नयाँ शब्द बनाएर बालबालिकाको नाम राख्छन्, यो पनि राम्रो विकल्प हो ।

-आमाबाबुले बच्चाको नाम वर्णमालाको पहिलो वा दोस्रो अक्षरमा राख्ने प्रयास गर्नुपर्छ, पछिल्ला शब्द कम्तीमा प्रयोग गर्नुपर्छ ।

-बच्चाको नाम राख्दा नामको महत्व र अर्थ पहिल्यै बुझ्नुपर्छ, किनभने सुन्दा र बोल्नमा धेरै राम्रा शब्द छन्, तर कहिलेकाहीं अर्थको अनर्थ पनि लाग्न सक्छ ।

-ट्रेन्डको नाम राख्दा पछिसम्म पनि त्यो नाम चल्छ चल्दैन भनेर याद गर्नुपर्ने हुन्छ । किनभने ट्रेन्ड भनेको सदा नहुन सक्छ । सन्तान हुर्किएपछि वा स्कुल जान थालेपछि यी नाम प्रचलनमा नहुन सक्छन् । त्यसैले ट्रेन्डी नाम विचार गरेर मात्र राख्नुपर्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?