+
+

मुन्दुम ट्रेलमा अधुरो यात्राको पूरा कथा

भोगीराज चाम्लिङ भोगीराज चाम्लिङ
२०७९ असोज ८ गते १९:१३

‘मुन्दुम ट्रेल’को यात्राले एउटा सानो संयोगकै कारण आकस्मिक मोड लिन्छ भन्ने सपनामा पनि थिएन ।

किराती धामीहरूले विभिन्न संस्कार गर्दा मुन्दुमी यात्रा (रिचुअल जर्नी) गर्छन् । त्यस क्रममा पुर्खाको जीवन-सङ्घर्षमा खास महत्व राख्ने थुप्रै थातथलोको प्रसंग आउँछ । तिनै थलो हुँदै साल्पापोखरी (३,७५० मिटर) र सिलिचुङ पर्वत (४,१५५ मिटर) सम्म यात्रा गर्न एउटा भव्य पदमार्ग सुरु भएको छ- मुन्दुम पदमार्ग अर्थात् मुन्दुम ट्रेल । यो ट्रेल नेपालको उत्कृष्ट १० पदमार्गमध्ये एक मानिन्छ ।

कति मुन्दुममा मात्र सुन्नु आफैं त्यहाँ पुग्नुपर्छ भन्ने प्रबल इच्छा थियो, तर के-के मिलिरहेको थिएन । अन्ततः पारा मिलाइयो, तर यात्रा बहुत नमज्जासँग अधुरो रहृयो । त्यसैको पूरा कथा हो, यो ।
नवीन राईले २०७८ भदौ दोस्रो हप्ता भनेका थिए, ‘लु है दाइ, यसपालि लामाखुको नयाँ धामीसँग साल्पा जानुपर्छ ।’

तर, त्यस्तै काम आइलागेकोले मैले भन्नुपरेको थियो, ‘हत्तेरी होउ नवीन, यसपालि म छुट्ने भएँ ।’

भदौ सकिन लाग्दा एक दिन युगसन किरातले भने, ‘दाजु, लामाखुको नयाँ धामी त एकदमै खत्रा निस्केको छ रे होउ । औंलाले कचुर (वनअदुवा वा अदुवा) च्याट्च्याट् काट्छ रे ! मिलनजीले भिडियो नै खिचेर राख्नुभा’छ रे !’

अब भो त !

सब काम थाती राख्न म तयार भइगएँ । युगसन पनि तु तयार भो । हामी मुन्दुम ट्रेलमा ‘ट्रेलिने’ भयौं ।

यात्रा सुरु भयो भदौ ३१ गते । हलेसीबाट गायक तथा सङ्गीतकार दीपेश र म अनि चिउरीबासबाट नवीन र कर्ण आए । लामाखुबाट त धामीसँग जाने ताँती नै हुने भइगयो । युगसन भने छोरी बिरामी भएकोले जान पाएन ।

धामी चन्द्रकुमार राई ।

बिहान ६ बजे बाइकमा हुँइकिएका दीपेश र म ९ः१५ बजे ‘मिलन राईको बुबा-आमाको घर’ लामाखु पुग्दा नयाँ धामी चन्द्रकुमार राईसहित ३०-३५ जनाको समूह साल्पा-सिलिचुङको बाटो लागिसकेको रहेछ । हामी पनि खाना खाएर उकालियौं ।

मिलनले हरेक दोबाटोको भुइँमा लठ्ठीले कोरेर जानुपर्ने बाटो देखाइदिएको थियो । हामीलाई नयाँ ठाउँमा बाटो पहिल्याउन कुनै अप्ठेरो भएन ।

साप्सुधापमुनि बहुत रमाइलोसँग जङ्गलको उकालो बाटो चढ्दैथियौं, एक्कासी पानी पर्न थाल्यो । हामीले प्लास्टिक ओढ्यौं । झोलालाई पनि ओढायौं । साप्सु मन्दिर पुग्ने बेला झन् बाक्लो पानी पर्न थाल्यो । रूखमा ओत लाग्न खोज्दा ‘गुणस्तरीय’ जुत्ता चिप्लिएर म तलतिर ढुन्मुनिएँ ।

आपत्कालमा समातेको पोथ्रा असारे नभई चुथ्रो परेछ । मेरो पहिलो बेहाल त्यही भइगो ।

नवीन र कर्णसँग साप्सु मन्दिर नजिकैको पाटीमा भेट भयो । लेकाली झरी हत्तपत्त थामिंदैन भनेर डराउँदैथियौं, केही बेरपछि थामिंदै आयो । अनि ‘हैट, यो त ऐतिहासिक हुन्छ’ भनेर ठट्टा गर्दै पाटीछेउको आहाल डिलमा प्लास्टिक ओढेको सामूहिक तस्वीर खिचेर बाटो लाग्यौं ।

मुन्द्रुम पदमार्ग ।

ओढ्ने-ओछ्याउने र खाने चिजबिज खाँदिएको झोला बोकेर उकालिएकाहरूलाई सबभन्दा पछाडिबाट हेर्दा प्लास्टिकका डल्लाहरू लाइनमा हिंडिरहे जस्तो देखिन्थ्यो ।

निकैबेर दम्स्याइलो (छड्के उकालो) बाटो हिंडेपछि जङ्गलबीचमा एउटा गज्जबको ओडार भेटियो । अघिअघि हिंडेको नवीन ओडारमा ओत लागिसकेको रहेछ । हामीलाई पनि खुँदो भइगो ।

कर्णले झिक्राझिक्री जोडेर आगो बालिहाल्यो । लेकमा ओखती हुन्छ भनेर बोकेको आराखा (रक्सी) र भुटेको मकै पनि निकालिहाल्यो ।

अगाडि आगो, आराखा र भुटेको मकै असरल्ल भएको अवस्थामा अलिअलि भोक, केही थकान र थोरथोरै जाडोले सताउन थालेको मान्छेहरूले केही बोल्न मिल्यो ? विल्कुलै मिलेन । अतः जिब्रो चलाउन होइन, धमाधम च्यापु हल्लाउन थालियो !

बाटोमा पर्ने चिण्डो आकारको ताल ।

मुन्दुम ट्रेल खोटाङ र भोजपुर जिल्लाको सीमा चखेवा भञ्ज्याङबाट सुरु हुन्छ । हामीले चाहिं त्योभन्दा साढे ६ किलोमिटर माथि दलसिङ्गे (२,६६२ मिटर) मा ट्रेललाई समायौं ।

सिमसिम पानी पर्न छाडेको छैन, हामी हिंड्न छाडेका छैनौं । हुस्सुले टाढा केही देखिएको छैन । तैपनि, किरात राईहरूको बुप्छिरी (चौतारा) संस्कृति झल्काउने विश्रामस्थल, चिन्डो र धनु आकारका पोखरी, ढुङ्गे सिंढी, जङ्गल, जरुवा हाम्रो उत्साहका लागि पर्याप्त भइगए ।

बादलभित्र लुकेर हामीलाई हेरिरहेको जूनका कारण कहाँ रात पर्‍यो, अत्तोपत्तो पाइएन । तल भोजपुरतिर झिलिमिली बत्ती बलेको देखेर पो झसङ्ग भयौं- ओहो, रात पनि परिसकेछ । तर, केही फिक्री छैन, एकाध घुट्को आराखा हानौं, एक-एक खिली चुरोट तानौं, नाथे थकाइ र जाडो चट् भइजान्छ !

विश्रामस्थल

ठूलो साँझमा धोद्रे देउराली (२,७५० मिटर) पुग्यौं । अघिअघि गएको मिलनको टोलीले थुप्रै गोठमध्ये एउटामा हाम्रो लागि बन्दोबस्त गरिसकेको थियो । रुझेका कपडा फेरेर आगोमा सेकायौं । तात्तातो भात-तिहुन खायौं ।

मिलनले भन्यो, ‘दाजु, तपाईंहरूले थुप्रै कुरा छुटाउनुभो । हाम्रो धामीलाई अर्को कुनै धामीले जिस्कायो । हाम्रो धामीको फुर्के नै चोइटाएर लग्यो । उसले हानेको रुद्राक्ष र अक्षताको वाण हाम्रो धामीले समातेको छ । भरे यसको जवाफ दिंदैछ ।’

नभन्दै, राति धामी छोटो चिन्ता बसे ।

त्यसपछि सामान्य छलफलजस्तो भयो- एकछाक चामल यहीं छोडौं, किन साल्पासम्म बोकेर फेरि यहीं ल्याउनु ?

मैले ठट्टा गरें, ‘मेरो छोडौं कि क्या हो । जेठोपाकोलाई अलि गाह्रो भो क्या !’

मिलनले भन्यो, ‘सँगसँगै हिंड्नुपर्ने धामीको तोकायो म, मेरै झोला अलि हलुका बनाउनुपर्ला कि !’

गोठमा दुइटा खाट थियो । सामान्य छलफलजस्तो भयो- खाटमा, को-को सुत्ने ?

मिलनले भन्यो, ‘दुईजना छोरीचेली एउटा खाटमा सुत्ने । भोगी दाइ जेठो भा’कोले अनि म धामीको साथी र आजको यात्राको चाँजोपाँजो मिलाउने संयोजक हुनाले हामी दुईजना अर्को खाटमा सुत्ने ।’

मिलनको दुवै प्रस्ताव व्यापक हाँसोसहित अनुमोदन भयो अनि हामी निदाउने यत्नमा लाग्यौं ।

धामीका सहयोगी मिलन राई

निकै वर्ष पहिले घानद्रुक जाँदा म घुराइको ‘युवराजाधिराज’ घोषित भएको थिएँ । धोद्रे देउरालीमा पनि लगभग त्यस्तै काण्ड भयो ।

हामी गोठधनी भाइसहित ११ जना सुतेका थियौं । बाबै (काका) मानसेर राईले बिहान भन्नुभो, ‘आज म एक झिमिक सुतिनँ । तिमी चाहिं मज्जाले सुत्यौ भन्ने ठहराएँ है ।’

घुराइकै सन्दर्भबीच झोला कस्दै थियौं, धामीको टोली त हिंडिहाल्यो । तोकायो (धामीको सहयोगी) मिलन पनि ‘ओहो, ओहो’ भन्दै बाटो लागिहाल्यो ।

थोरै मास्तिर के उक्लन थालेका थियौं, नवीन, दीपेश र म क्रमशः पछाडि छोडिन थाल्यौं ।

हामीभन्दा पछाडि गोठ छाडेकाहरूले भेट्टाएर ल्याएपछि नयाँ समूह बन्यो, जसमा ६५-७० वर्षकादेखि १०-१२ वर्षसम्मका थिए । यो समूहमा चाहिं हाम्रो हिंडाइ ठ्याम्मै मिल्यो ।

बाटो कटनी गर्न बेलाबखत कुरा कोट्याउँथें- ‘यसअघि पनि साल्पा जानुभा थियो ?’

‘ए बाबु, म त पाँचौं चोटि पो जाँदैछु ।’

‘यत्रो धेरैपटक किन नि ?’

‘साल्पा गयो भने आयु बढ्छ, चिताएको पुग्छ । पितृ-पुर्खाले आशीर्वाद, बल दिन्छन् ।’

मूलतः किरात राईहरूमा रहेको यो विश्वास अरू समुदायमा पनि प्रसार (डिफ्युजन) भएको छ ।

साल्पा पोखरी ।

साल्पा पोखरीमा हरेक मङ्सिरे पूर्णेमा सबै जातका धामीहरूको महामेला लाग्छ । अलौकिक शक्ति प्राप्त हुने, शक्ति नवीकरण गर्ने विश्वासमा नयाँ-पुराना धामीहरू साल्पा-सिलिचुङ यात्रा गर्छन् । यसप्रकारको विश्वास निर्माणमा लामो कालखण्ड खपत भएको छ।

जसरी क्यारमबोर्डका गोटीहरू चार भित्तामा ठोक्किएर फर्किन्छन्, साल्पा-सिलिचुङ पनि त्यस्तै भित्ता हो, जहाँ पुगेर उहिले किरात राईका पुर्खाहरू सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, ओखलढुङ्गा, उदयपुरतिर फर्किएर बसोबास गरेका हुन् ।

राईहरूको पितृकार्यमा साल्पा-सिलिचुङ वर्णनसहित कस्तूरी शिकार गरेको अभिनय गरिन्छ । यसको अर्थ हो, शिकारका लागि नयाँ-नयाँ थलोहरूको खोजी गर्ने क्रममा किरात राईका पुर्खाहरू प्राग्ऐतिहासिक कालतिरै साल्पा-सिलिचुङ क्षेत्र पुगेका थिए ।

इतिहासलाई यतै थन्क्याएर यात्राकै कुरा गरौं-

मैयुङ डाँडा ।

हिजोको झरीलाई बिर्साउँदै रिमिझिमी घाम लाग्दा मैयुङ पर्वतको लम्बे शृंखला बहुत मनमोहक देखियो ।

पुर्खाहरू भन्छन्- मैयुङको पुरानो नाम माङयुङ हो । माङ भनेको समूहको नेतृत्व गर्ने आदिम मातृहरू हुन् भने युङ भनेको बसोबास स्थल । उहिले-उहिले किरात राईहरू माङहरूको नेतृत्वमा मैयुङ क्षेत्रमा बसोबास गर्थे । दक्षिण-पूर्व फर्किएका पारिला नागी (फाँट)हरू देख्दा हो झैं लाग्छ पनि ।

जता हेर्‍यो त्यतै तरेली परेका अनन्त नागीहरूमा कतै भेडीगोठ त कतै चौंरीगोठ देखिन्थे । ठाउँठाउँमा चरिरहेका घोडाका बगाल । यी सब देखेर हामी विमुग्धै भयौं ।

मैयुङको उत्तर-पश्चिम पाटो गुराँस, चिमाल, चाँपसहितको घना वनले ढाकिएको छ । पूर्वी-दक्षिणी पाटोमा फिंजारिएका खुल्ला घाँसे नागीहरूमा त्यसैत्यसै लडीबुडी गरौं झैं, गुडुल्किंदै तलतल झरौं झैं मन हुन्छ ।

मन थैयाथैया भएको नवीन भन्छ, ‘लु दाइ, चाँप-चिमाल फुल्ने चैत-वैशाखमा मैयुङ नआइहुँदैन ।’

भेडीगोठ

ठ्याक्कै त्यही बेला विकास बस्नेतको फोन आयो । हामी मुन्दुम ट्रेल हुँदै साल्पा-सिलिचुङतिर उक्लिरहेको सुनेपछि भन्यो, ‘फोटोको फ पनि नजान्ने मुन्दुम ट्रेलमा हल्लिएको छ, वाइल्ड फोटोग्राफीमा सिद्धहस्त चाहिं काठमाडौंमा डल्लिएको छ, के लाग्छ र !’

धोद्रेबाट ८.५ किमि बाटो लगभग साढे चार घण्टामा काटेपछि १०ः३० बजेतिर मैयुङको हाँसपोखरी (३०१५ मि.) माथिको भञ्ज्याङमा पुगेछौं । त्यहाँ धारासहितको विश्रामस्थल भएकोले कोही खाना बनाउने तयारीमा लागे । हामी तीनजना चाहिं सरासर हिंड्न थाल्यौं ।

यतिकैमा एकजना तिम्मा (आमा-बाबुकी दिदी)ले भनिन्, ‘त्यताबाट त भोजपुर दिङ्लातिर पुगिन्छ । यताबाट ठाडै उकालो जानुपर्छ । आऊ, यहीं भात खाएर सँगै जाउँला । नभए बाटो बिराउँछौ ।’

‘हाम्रो टोलीले भात पकाएर पर्खिरहेको होला, जान्छौं है तिम्मा’, नवीनले भन्यो ।

‘त्यसोभए सीधै मास्तिर जाऊ । माथि जङ्गलमा ताराखसे पोखरी आउँछ । त्यहाँबाट देब्रे लाग्नु’, तिम्माले भनिन् ।

केही माथि उक्लियौं । कुनै संकेत चिन्ह नराखिएको मुन्दुम ट्रेलको एक मात्र भाग यही रहेछ ।

फाँटिलो नागीमा कतै बाटो नदेखेपछि मान्छे भेटिन्छ कि भनेर परको गोठतिर तेर्सियौं । र, त्यहींबाट सुरु भयो हाम्रो असली दुर्दशा ।

गोठमा कोही छैन, अब कता जाने ? पर्‍यो है फसाद !

०००

‘मैयुङ-ट्याम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष रमेश राईलाई डायल गर्दा नेटवर्क नै गायब ! जे त पर्ला भनेर नागी नै नागी उत्तर-पूर्व लागेको, अलिपर पोखरी भेटियो । हामीले ठान्यौं, ताराखसे पोखरी (३,१३३ मिटर) यही हो ।

पोखरीछेउ पुगेर फेरि डायल गर्दा फोन लाग्यो । रमेशजीले भन्नुभो, ‘गोठबाट अगाडि बढ्दा पोखरी भेट्नुभो भने अब गुराँसघारीबाट ओरालो र्झनुस् । मुन्दुम ट्रेलको सिंढी भेट्नुहुन्छ ।’

मैयुङको लेकमा सबैतिर पोखरी, सबैतिर गुराँसघारी ! गुराँसघारीबाटै ओरालो त झर्‍यौं, तर बाटो भेटिएन ।

अलिपर फाँटमा घोडाहरू चरिरहेका र त्यसभन्दा अझ पर गोठ देखियो । पक्कै पनि मान्छे भेटिएलान् भनेर गएको, सबै रित्तो !

त्यो चौंरीखर्कमा अब पानी पनि फुसफुसाउन थाल्यो । ‘यहाँ बसिराखेर हुँदैन, विना बाटो अगाडि बढेर पनि हुँदैन’ भनेर फेरि डाँडामा निस्कियौं । उहिले राँगाले जोगीलाई हानेर मारेकोले ‘जोगीमारा’ भनिएको मैयुङकै एउटा डाँडामा निस्किएर यसो हेरेको- पूर्वतिर तल मूलबाटो देखियो । मूलबाटोमा त कोही न कोही हिंडिरहन्छ भनेर झर्‍यौं ।

मोबाइल फोनको घडीमा दिउँसोको १ः३० बज्यो । हराउँदाहराउँदै साढे तीन घण्टा बितेछ ।

मैयुङको बनोट ठ्याक्कै लाम्चो तलाउ या शान्त नदीमा हावा चल्दाको तरङ्ग जस्तै रहेछ ।

परबाट हेर्दा एउटा डाँडा देखिन्छ, नजिक पुग्दा डाँडाहरूको अर्को लहर भेटिन्छ ।

डाँडाहरूको खातैखात जस्तो, तरङ्गैतरङ्ग जस्तो छ मैयुङ ।

बाटोछेउमा बसेर कुर्दैथियौं, ढुङ्गा खोज्दा देउता मिले झैं टुप्लुक्कै एकजना आइपुगे । सोधियो, ‘दाइ, साल्पा जाने बाटो कता होला ?’

‘अरे हो, साल्पा जाने बाटो त उता हो नि ! लु आऊ, तल सातदोबाटोसम्म पुर्‍याइदिन्छु । त्यहाँबाट चाहिं बाटो भुलिंदैन ।’

हामी दाइलाई लुरुलुरु पछ्याउन थाल्यौं । तर, पानीले लगातार गोदिरहेको, व्यर्थैमा साढे तीन घण्टा हिंड्नुपरेको र २ बजेसम्म खान नपाएको मनुवाहरूको पाइला सरे त मार्दिनु !

गुराँसे वनभित्रको ओरालो बाटोमा ती दाइ अघिअघि, सँगसँगै नवीन । त्यसपछि दीपेश अनि निकै पछि म ।

अलि तल रुझी-रुझी बिसाएको बेला नवीनले रुञ्चे स्वरमा भन्यो, ‘दाइ, तातो भात छोड्नुहुँदैन भन्थे बुढापाका । अघि तिम्माले भनेको नमानेर हिंडियो । भात छोडेको सराप लाग्यो ।’

खासमा यो हाँस्ने कुरा थियो, तर केको हाँस्न सक्नु ? झन् निराश पो भइयो । खुट्टा अगाडि सर्नै छोड्यो । मेरो हालत देखेर ती दाइले आफ्नो हलुका झोला मेरो गह्रौंसँग साटेर बोकिदिए ।

अन्यत्रै हिंडेका दाइलाई अन्ततः अनुरोध गर्न थालियो, ‘लु दाइ, आज बेलुकी बास बस्न पुग्नुपर्ने लौरेथामको फेदीसम्म मद्दत गर्नुपर्‍यो । बरु अलिकति खर्च दिन्छौं ।’

पटके जोडबलले दाइलाई तयार पारियो । अनि नवीनले साँप्रोमाथि पिंडुला थप्यो, ‘लु दाइ, तपाईं अगाडि गएर हाम्रो टिमलाई साथीहरू हिंड्न सकेनन्, लिन जानुपर्‍यो भन्दिनुपर्‍यो ।’

हाम्रो त्यो हालत भइसक्यो, झरी थामिन मानिरहेको छैन । उहिले बजाउँदा बजाउँदैको ढोल टाँसिएकोले ढोलटाँसे नाम रहेको त्यो डाँडाबाट अलि ओरालो लाग्नुपर्ने रहेछ, तर खुट्टाले भर दिए पो !

परेको बेहोरौंला भनेर बाटैमा ढ्यास्सै बसिरहेका थियौं, उही दाइ आइपुगे । ‘लु, तिमीहरूका साथी तल गोठमा पर्खिबस्या छन्’ भन्दै दाईले दीपेशको झोला बोके । अरे हो दाइ, योभन्दा गुनिलो सहयोग के हुन्छ संसारमा ?

दाइलाई ओरालोमा पछ्याउँदै थियौं, अघि ‘खाना खाएर सँगै जानुपर्छ’ भन्ने तिम्मा पनि पो हामीलाई लिन आउँदै रहिछन् ।

‘हैन, तिमेरु हिंड्न नसक्ने, बिमारी पनि भयौ अरे भनेर आएको ।’

अरे हो तिम्मा, योभन्दा ठूलो सद्भाव के हुन्छ यो संसारमा ?

उनीहरू ओत लागेको बर्खे गोठमा पुगेपछि चाउचाउ उमालेर चारै जनालाई दिइन्, तीन जनालाई प्राण अलि फर्केजस्तो भयो ।

सिलिचुङ डाँडा

अनि म मनमनै गम्न थालें- भोलि पनि पानी पर्ने नै देखियो । आजै कपडा भिजेर खत्तम छ । भोलि यसरी नै भिज्ने हो भने ओढ्ने के ? लगातार भिजेर बिरामी भइयो भने अर्को आपत् । फतक्कै गलेको खुट्टाले अझै डेढ दिन कसरी हिंड्ने ? तिम्माहरू त साल्पा पुग्छन् नै । साल्पा-सिलिचुङमा छायाङ्कन गर्न क्यामेरा बोकेको नवीनलाई उनीहरू साथी भइहाले, दीपेश र मचाहिं अब फर्किनुपर्छ ।

यो सब भूमिका बाँधेर नवीनलाई भनें, ‘लुु नवीन, हामी दुईजना यहाँबाट अगाडि हिंड्न नसक्ने नै भयौं, फर्किन्छौं है !’

नवीनले नरमाइलो मान्यो । समूहका बुढाबुढीहरूले ढाडस दिंदै भने, ‘हामी त जाँदैछौं, तिमीहरू किन हरेस खान्छौ ?’

मूलतः मेरै ढिपीमा झोलाका गह्रौं चिजबिज त्यहीं निकालेर दीपेश र म हाँसपोखरीतिर फर्कियौं । उनीहरू गए साल्पा-सिलिचुङतिर ।

०००

भर्खरै खुलेको एक मात्र ‘होमस्टे नम्बर वान’मा पुग्दा साँझको ६ बजेको थियो । त्यहाँ ३३ घण्टा बस्दा एकक्षण पनि पानी थामिएन । पीर लागिरहृयो- हामी त सिरकको न्यानोमा गुडुल्किएका छौं, अगाडि बढ्नेहरूको कन्तविजोग भइरहेको होला !

सिरकभित्र डल्लिएर कति सुत्नु ? म मोबाइलमा यो निबन्ध लेख्नतिर लागें । दीपेश मोबाइलमै ‘गीत बजाउन’ थाल्यो ।

लु है साल्पा-सिलिचुङ ! यसपालि यस्तै भइगयो । यसको दोष लाग्ने नै हो भने अविरल भदौरे झरीलाई लागोस् !

तस्वीरहरू : नवीन राई (बायुङ)

साल्पाबाट फर्किएको समूह ।

नवीन राई

कर्णराई ढोलको साथमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?