
११ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा र संयोजक सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् ।
सिलवालले तत्काल कुनै दलमा आवद्ध नहुने समेत बताएका छन् । ‘म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘विवेकशील साझा छोडेको हो तर वैकल्पिक राजनीतिको मैदान छोडेको होइन ।’
रवीन्द्र मिश्र वैकल्पिक राजनीतिको अमर लामा
राजीनामा पत्रमा सिलवालले पूर्व अध्यक्ष रवीद्र मिश्रतर्फ संकेत गर्दै वैकल्पिक राजनीतिको अमर लामाको संज्ञा दिएका छन् ।
मिश्रले पार्टीलाई राप्रपामा मिलाउन खोजेको, तर आफूहरुका कारण एक्लै जाने अवस्था आएको भन्दै उनले पार्टी जोगिएकोमा खुसी मान्नुपर्ने बताएका छन् । ‘वैकल्पिक राजनीतिको ‘अमर लामा’ले सहकर्मी यात्रुसहित गाडीलाई त्रिशुलीमा हाल्न खोजेका थिए, तर आफू मात्रै हाम्फाल्नु पर्ने स्थितिमा पुगे’, उनले भनेका छन्, ‘धन्न गाडी र यात्रीहरुलाई सामान्य चोटपटक लागेर घाइते मात्र भए ।’
उनले अगाडि लेखेका छन्, ‘यहाँ त दुर्घटना भएर गन्तव्यमा नपुगेकोमा दुःखी हुनु भन्दा ज्यान जोगिएकोमा खुसी मान्नुपर्ने अवस्था आयो ।’
उज्वल थापाको निधनपछि वैकल्पिक राजनीतिमा व्यक्तिगत महत्वाकांक्षा र अवसरमा आधारित केही प्रयास भइरहेको भन्दै उनले यसले अमुक व्यक्ति वा दलले क्षणिक रुपमा केही सिट पाएपनि अझ धेरै निराशा र समग्र वैकल्पिक राजनीतिलाई हेर्ने दृष्टिकोणमा अझ धेरै नकारात्मकता आउने बताएका छन् ।
उनले अगाडि भनेका छन्, मेरो निष्कर्ष के हो भने वैकल्पिक राजनीतिको मैदान झन्झन् उर्बर हुँदै गएको छ । अबको केही दशकभित्र यसले मूलधारलाई बढार्ने सामर्थ्य राख्दछ । तर वैकल्पिक राजनीति गर्छु भन्ने हामीहरुको दल बन्नुपूर्व र बनेपश्चात दुवै अवस्थामा गर्नुपर्ने अध्ययन र तयारी पुगेको छैन ।’
सिलवालले केही वर्षपछि दलगत रुपमा रुपान्तरण र हस्तक्षेप गर्न सक्ने गरी आउने दाबी समेत गरेका छन् ।
प्रतिक्रिया 4