+
+
विचार :

समृद्धि यात्राको चौबाटो

किनबेचको राजनीतिले नेपाली समाजलार्ई सधैं पराधीन र परनिर्भर बनाउने अन्त्यहीन समृद्धि यात्रामा अलमल्याइरहेको छ । तर हामी सार्वभौम नागरिक भने यसैमा रमाएका छौं । छिटफुटबाहेक यसमाथि अझैसम्म जनस्तरबाट प्रश्न उठ्न सकेको छैन ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७९ असोज १२ गते १२:५३

प्रतिनिधिसभाको निर्वाचनको दिन नजिकिएसँगै फेरि समृद्धि सपनाको चर्चा सुरु भएको छ । नहोस् पनि किन ? यस्तो समृद्धि बाँड्न बागडोर सम्हाल्ने दौडमा रहेका साना–ठूला सबै राजनीतिक पार्टीका नेतागण, गठबन्धन र स्वतन्त्र उम्मेदवारका आकांक्षी मतदाताका मन जित्ने नाममा भोट किन्न केही नगदै र अरू सबै उधारोमा सपना बाँड्ने तयारी गरिरहेका छन् ।

यिनले यसो गर्न थालेको पनि तीन दशक भएछ । हरेक निर्वाचनमा आफ्नो औचित्य पुष्टि गर्न यी सबै पार्टी र नेतृत्व समाजसेवी र विकासप्रेमी हुने ढोंग गर्छन् । यिनीहरूले अहिलेसम्म असारे विकासलाई नै मुख्य समृद्धि सपना बनाउने गरेका छन् र घोषणापत्रमार्फत यसैलाई बेच्छन् । हरेक पटक विकासका अधुरा काम सक्ने मात्र हैन, आफू चुनिए मात्र विकासको बाढी आउने भन्दै भोट माग्छन् । यसैलाई पत्याएर आम मानिस भोट दिन्छन् ।

निर्वाचन जितेपछि भने धेरैजसो यसरी भोट किन्न गरेको खर्च ब्याजसहित असुल्न सबै खालका चलखेल र लेनदेन गर्नमै बिताउँछन् । यिनका नेता तथा अगुवा भने सत्ताको किनबेचमा छिमेकीका दैलो चहार्छन् । यो किनबेचको राजनीतिले नेपाली समाजलार्ई सधैं पराधीन र परनिर्भर बनाउने अन्त्यहीन समृद्धि यात्रामा अलमल्याइरहेको छ । तर हामी सार्वभौम नागरिक भने यसैमा रमाएका छौं । छिटफुटबाहेक यसमाथि अझैसम्म जनस्तरबाट प्रश्न उठ्न सकेको छैन ।

गाउँदेखि सहरसम्म आफ्नै छाक टार्न संघर्षरत श्रमजीवीदेखि हरतरहले वैभव भित्र्याउन तल्लीन नवधनाढ्य सबैलाई आ–आफ्नै मानकका समृद्धि चाहिएको छ । यो कुराको भेउ पाएका पार्टी र नेता भने सबैलाई बाँड्न पुग्ने समृद्धिका रंगीन सपना बुन्न र पेन्डुरा बाकसमा राखेर बाँड्न तयारी अवस्थामा छन् ।

यसका लागि लोकतन्त्र, समाजवाद, समावेशिता, जनजीविका र विकासका शब्दजालले रफ्फू भरिएका घोषणापत्र तयार गर्दैछन् । यी चाँडै नै चुनावी बजारमा आउने नै छन् । यिनले अरूमाथि भर पर्ने याचना गरेर नेपाली समाज आत्मनिर्भर र समृद्ध हुने दिवास्वप्नमा रमाउन उक्साउँछन् । तर हामी भने यस्तै रंगीन सपनाका ललिपपमा दशकौंदेखि अलमल गरिरहेका छौं ।

अहिले हाम्रो समग्र प्रकृति, मानवीय प्रवृत्ति र संचार र प्रविधिमा व्यापक फेरबदल आएको छ । एकातिर समृद्धिका नाममा प्रकृतिको अति दोहनले विविधताको ह्रास भइरहेको छ भने अर्कोतिर, यसैले समाजमा कुशासन थोपरेको छ । विभेद झन् झन् बढिरहेको छ । प्रकृति र समाजको अन्तरसम्बन्धको डोरो मक्किंदै गएको छ । हाम्रो आफ्नै परम्परा, संस्कृति र सामाजिक मूल्यमान्यता उन्नत हुनुको साटो मूल्यहीन बन्दै गएका छन् । त्यसमाथि यस्ता विकृतिका चाङसँगै नयाँ–नयाँ सामाजिक, आर्थिक र वातावरणीय चुनौती थपिएका छन् ।

मानिस मात्रका कारण आएको यो फेरबदलले बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिंदै गएका छन् । घाम जत्तिकै छर्लङ्ग यो वास्तविकतालाई पूर्ण बेवास्ता गर्दै उल्टो बाटो हिंडेको समृद्धि यात्राले हाम्रो भविष्यलाई अन्धकारतर्फ धकेलिरहेछ । तर अब त भएन है भन्ने आँट अझै पलाएको छैन । अझै पनि सुनको मृग बनेको समृद्धि पाउने मृगतृष्णाको धङधङीमै रमाएका छौं ।

हाम्रो दैलोमै आइसकेको संकटको गहिराइ बुझ्न धेरै टाढा जानुपर्दैन । जलवायु परिवर्तन, विषाक्त माटो, नसर्ने रोगले आक्रान्त मानव स्वास्थ्य र बढ्दो खाद्य संकटले दैनिक जीवनलाई कष्टकर बनाउन थालिसकेको छ । यो सबैले महसुस गरिरहेको वास्तविकता हो ।

जलवायु परिवर्तन त केवल सतहमा देखिएको वातावरणीय संकटको एउटा सूचक मात्र हो । हामीले थाहा नपाएका समग्र प्रकृतिको ह्रास र जैविक विविधता विघटनको आयामसँगै, कृत्रिम रसायन र घातक विषको कारण माटो र मानव स्वास्थ्य हामी सबैले अन्दाज गरेभन्दा भयावह छ । खेतीपाती र जीवनका आधारहरू तहसनहस हुँदै गएका छन् । खनिज ऊर्जामा आधारित अन्धाधुन्द भौतिक संरचना निर्माणका कारण प्रकृति र वातावरणको विनाश भइरहेको छ ।

यसैलाई मात्र समृद्धि ठानेर भ्यूटावर र कंक्रिटमा रमाएका छौं । समृद्धिको जबरजस्त मानक बनेको अर्थतन्त्रका सबै आयाममा नकारात्मक उपलब्धि हासिल भएका छन् । तैपनि समृद्धिका सपना बाँड्न हामी सबै उद्यत छौं । तर हामी भने शुतुरमुर्गको जस्तो टाउको लुकाएर बाँच्ने भ्रममा छौं ।

अहिलेको यो संकट यस्तो उत्ताउलो समृद्धि सोचको परिणाम हो । यी प्रवृत्तिलार्ई नफेर्ने हो भने हाम्रै कारणले हाम्रो प्रकृति थप विनाश हुने र हाम्रो जीवन नै धरासायी हुने निश्चित छ । हामी विषादिले होस् वा कंक्रिटले, आफ्नो उत्पादनशील जमिन ध्वस्त पार्दै गइरहेको अवस्थामा, खाद्यान्न आयातमा कति दिन निर्भर रहन सक्छौं ? आधारभूत वस्तुमा परनिर्भर हाम्रो राष्ट्रवाद कति बलियो र समृद्धि कति दिगो हुन्छ ?

सँगै, विचारणीय पक्ष के छ भने स्थानीय परिवेशमा समृद्धिको प्रस्थान र उत्थानका आधार फरक–फरक हुन्छन् । विडम्बना, नेपालमा भने समृद्धिको मानक नै आयातित छ । यस्तो मानकका आधारमा बनाइएका समृद्धिको ढाँचा, नीति, रणनीति र योजना समेत आयातित छन् । यसरी सबै कुरा आयात गरिएको समृद्धिले नेपाली समाज कसरी आत्मनिर्भर हुन्छ ? जबसम्म यो मानकमै प्रश्न उठाउने आँट हुँदैन यसलाई फेर्ने सोच कसरी बन्छ ?

नेपाली समाज र भूगोल अनुरूपको उन्नतिको ढाँचा र योजना बनाउन नसकेसम्म हामी सुखी र खुसी हुने समृद्ध समाज निर्माणको आधार बन्दैन । यस्तो ढाँचा बनाउँदा समाजवादउन्मुख राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थानका सँगसँगै गर्न अब अनिवार्य हुन्छ । अर्को अर्थमा वामपन्थ र दिगो विकासलाई अग्रगामी दृष्टिकोणले हेर्नुपर्ने भएको छ । यो मात्र हामीले बिराएको बाटो सच्याउने एक उपयुक्त बाटो हो । यो नै अहिलेको हाम्रो समाज रूपान्तरणको कार्यभार समेत हो । हामीले अहिलेको व्यवस्थासँगै स्थापित गरेको साझा मान्यता पनि हो ।

यसका लागि प्रकृति र मानव सँगसँगै उन्नत र दिगो बनाउने विकासको दृष्टिकोणलाई आत्मसात् गरेको नेपाली समाजवादको ढाँचा बनाउन सक्नुपर्छ । भविष्यका सन्ततिलाई उन्नत समाज र दिगो प्रकृति जिम्मा लगाउने सोच विना यस्तो ढाँचा बनाउन नै सकिंदैन । खासगरी, स्थानीय समाज र संस्कृतिमा आधारित, प्रकृतिसम्मत एकीकृत कृषि प्रणाली, यसैमा आधारित पर्यटन प्रवद्र्धन र नवीकरणीय स्वच्छ ऊर्जा विकास हाम्रो सन्दर्भमा यस्तो ढाँचाका आधारभूत आयाम हुन् । यो नै भविष्यका सन्ततिलाई उन्नत समाज र प्रकृति बुझाउन र अहिले आम मानिसको दैनिकी सहज बनाउँदै हाम्रो मुलुक समृद्ध र हामी खुसीसाथ बाँच्ने यात्राको प्रस्थानबिन्दु हो ।

यस्तो विकासको ढाँचामा राष्ट्रिय सहमति गर्नुको विकल्प छैन । यो सहमतिका आधारमा बनाइने रणनीतिक मार्गचित्र, योजना र कार्यक्रमले मात्र अहिलेका संकटलाई सम्बोधन गर्न सक्षम बनाउँछ ।

यस्तो ढाँचा बनाएर मात्र पुग्दैन कार्यान्वयन र पृष्ठपोषण गर्ने सक्षम संयन्त्र चाहिन्छ । यसलाई कार्यान्वयन गर्न रणनीति र योजना बनाउन सक्ने राजनीतिक र प्रशासनिक सक्षमता र प्रतिबद्धता चाहिन्छ । यसरी हेर्दा, नेपालीको समृद्धि सपनालार्ई साकार पार्न हालको केन्द्रीकृत र रुढिवादी राजनीतिक पार्टी र स्थायी सरकार भनिने प्रशासनिक संरचनालार्ई नै बदल्नुपर्नेछ । यी संयन्त्रको पुनर्संरचना र नेतृत्वको पुनर्गठन हाम्रो तत्कालीन र दीर्घकालीन समृद्धिको पूर्वशर्त हो ।

सँगै कार्यान्वयन भए÷नभएको खबरदारी गर्ने अनुगमनको बलियो लौरो बोकेको पृष्ठपोषण गर्ने संयन्त्र चाहिन्छ । जसले यी संयन्त्रको दक्षता बढाउन पुरस्कार र दण्डको स्पष्ट कानुनी मापदण्ड बनाउन सकोस् ।

अहिले, नीतिनिर्माण र पृष्ठपोषण गर्ने जिम्मेवारी र जवाफदेही लिनुपर्ने संसद पंगु बनेको अवस्था छ । यसलार्ई खुट्टा टेकाएर मात्र हाम्रो उन्नति यात्राको सुरुवात हुन्छ । यसले मात्र हाम्रो राजनीतिको प्रवृत्ति र समग्र प्रकृति दुवै पुनर्जीवित हुँदै जानेछ ।

यसरी हामी समृद्ध, सुखी र खुसी हुनेतर्फको यात्रा तय हुन्छ । यस्तो यात्राको समझ र बाटो पहिल्याउन पार्टीहरूलार्ई नै दबाव र सहयोग गर्नुको विकल्प छैन । तर यस्तो गर्न भने अनुभवी, सक्षम र दृढ व्यक्तिहरूको सबै पार्टीहरूमा खाँचो छ ।

मुख्यतः पार्टीहरूमा सरकारमा समावेशी लोकतन्त्रको मर्मका आधारमा प्रतिस्पर्धी युवा नेतृत्वको हस्तक्षेप र सरकार संचालनमा प्रभावकारी प्रशासनिक संयन्त्रले मात्र सुशासन र आत्मनिर्भर राष्ट्रवादलाई बलियो बनाउँदै जान्छ । यसो गरे मात्र सबै आयाममा राजनीतिक पुनर्जागरण हुने हो । यो गर्ने सोच विना अहिलेको जस्तो आसेपासे राजनीतिले हाम्रो समृद्धिको मूल बाटो पहिल्याउन नै सक्दैन । बरु राजनैतिक अस्थिरता र अन्योल झन् बढेर जाने मात्र हैन यसले समाजमा असुरक्षा र संशय बढाउँदै थप विग्रह बढाउँछ ।

अहिले सामाजिक संजाल र सार्वजनिक स्थानमा यस्तो आसेपासे राजनीतिका बारेमा उठ्ने गरेका टीकाटिप्पणी यसका केही उदाहरण हुन् ।

अन्त्यमा, यो निर्वाचन यस्ता अहं प्रश्नको जवाफ खोज्ने र भरोसा गर्न सकिने उम्मेदवारलाई मात्र रोज्ने मौका हो । हामीले अपनाएको व्यवस्थामा यो मौका पाँच वर्षपछि मात्र आउँछ । यदि यस पटक पनि यी सबै कुराको जवाफ खोज्न चुक्यौं भने पुरानै प्रवृत्तिको पुनरावृत्ति हुन्छ ।

सदा झैं यसपटक पनि केही थान नयाँ वा पुराना अनुहारलाई सांसद मात्र बनाउने हो भने हाम्रो मुलुकलाई समृद्ध बनाउने, हामी नेपाली सुखी र खुसी हुन देखेका रंगीन सपना पूरा हुँदैनन् । विडम्बना, यी आधारभूत सवालमा सार्थक बहसको त कुरै छाडौं, निर्वाचनको माहोलमा होमिएको राजनैतिक वृत्तमा यसको चर्चा समेत भएको देखिंदैन ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?