+
+

दशैं बिदामा पनि बालबच्चालाई गृहकार्यको बोझ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असोज १३ गते १३:४९

काठमाडौं । चाडपर्व मनाउनु, आफन्त-नातागोतासँग चिनजान गर्नु, पारिवारिक भेटघाट गर्नु पनि बालबच्चाको लागि जीवनोपयोगी पाठ हो भन्छन् शिक्षाविद् विद्यानाथ कोइराला । उनका अनुसार दशैं तिहारजस्ता चाडपर्वबाट बालबच्चाले धेरै ज्ञान आर्जन गरिरहेका हुन्छन् ।

परिवारसँग घुलमिल हुन, समाजसँग एकाकार हुन, इष्टमित्रसँग सम्बन्ध बढाउन चाडपर्वले सहयोग गर्छ । संस्कृति र समाजलाई बुझ्ने यो एउटा राम्रो अवसर हुनसक्छ । यद्यपि बालबच्चाहरुले चाडपर्वका यी आयामलाई कति अनुभूति गर्छन् ?

किनभने उनीहरुलाई त विद्यालयको गृहकार्य सकाउने हतारो हुन्छ । लामो बिदाका बेला अधिकांश विद्यालयले बालबच्चालाई गृहकार्य दिने प्रवृत्ति छ । ‘गृहकार्य सकाउनुपर्छ भन्ने सोच्दासोच्दै बालबच्चा यति तनावग्रस्त हुन्छन् कि उनीहरुले चाडपर्व आए गएको पनि पत्तो पाउँदैनन्,’ मनोविद् विनोद पौडेल भन्छन् ।

गृहकार्यकै तनावले गर्दा उनीहरुले चाडपर्वबाट आर्जन हुने सामाजिक एवं व्यावहारिक कुरा सिक्न नपाउने पौडेलको तर्क छ । चाडपर्वले बालबच्चालाई रचनात्मक बनाउन सहयोग गर्ने र सामाजिक जीवनमा घुलमिल हुन प्रेरित गर्ने शिक्षाविद् कोइराला बनाउँछन् ।

‘विश्वमा कति यस्ता विद्यालय छन्, जसले गृहकार्य नै नदिने नीति अवलम्बन गरेका छन् । यस्तो नीति लागू गर्नुको मुख्य कारण भनेको विद्यार्थीको सिकाइ आनन्ददायी होस्, उनीहरुलाई सिर्जनशील क्रियाकलाप र सामाजिकीकरणका लागि प्रशस्त समय मिलोस् भन्ने हो,’ कोइराला भन्छन् ।

चाडपर्वबाट बालबालिकाले के सिक्छन् ?

बालबालिकाले सामाजिक शिक्षा अन्तर्गत हाम्रा संस्कृति र चाडपर्वबारे पनि पाठ पढ्नुपर्ने हुन्छ । कुन पर्व कहिले मनाइन्छ, कसरी मनाइन्छ, किन मनाइन्छ ? भन्ने उनीहरुलाई पढाइन्छ । शिक्षाविद् कोइराला भन्छन्, ‘किताबी कुरा भन्दा व्यावहारिक ज्ञान प्रभावकारी हुन्छ । दशैं जस्ता चाडपर्वलाई उनीहरुले सुनेर, देखेर, अनुभव गरेर यसको तौरतरिका र महत्व बुझ्नेछन् ।’

यस किसिमको चाडपर्वबाट उनीहरुले परिवार र समाजलाई कसरी कुनै पनि संस्कृतिले जोडेर एकढिक्का बनाउँछ भन्ने कुरा अनुभूत गराउँछ । शिक्षाविद् कोइरालाका अनुसार चाडपर्व भनेको जीवनशैलीको एक अभिन्न हिस्सा हो ।

त्यसो त चाडपर्वमा बालबच्चालाई उल्लासपूर्ण ढंगले मनाउन दिनुपर्ने मनोविद् पौडेल बताउँछन् । ‘चाडपर्वले मान्छेलाई स्वस्थ मनोरञ्जन दिलाउँछ,’ पौडेल भन्छन्, ‘यसले कतिपय तित्तता, कुण्ठा, आपसी द्वेषलाई मेट्छ र हार्दिकतापूर्वक बाँच्न प्रेरित गर्छ ।’

सामान्यतः बालबच्चाको दैनिकी पढाइ र गृहकार्यकै सेरोफेरोमा घुमिरहन्छ । बिहान उठ्नासाथ विद्यालय जाने हतारो, विद्यालयबाट फर्केपछि गृहकार्य सकाउने हतारो । उनीहरु राम्ररी रमाउन एवं विश्राम गर्न समेत पाएका हुँदैनन् । मनोविद् ढकालका अनुसार चाडपर्व एक यस्तो अवसर पनि हो, जसले उनीहरुलाई सम्पूर्ण तनावबाट मुक्त राखेर उमंग र खुसी कायम राख्न मद्दत गर्छ । दैनिक जीवनको धङ्धङ्तीबाट मुक्त भएर खुसी साट्न पाइने भएकाले यस्ता पर्वमा बालबच्चालाई स्वच्छन्द रमाउन दिनुपर्ने उनको जोड छ ।

गृहकार्यको बोझ

बिदाको समयमा बालबच्चाले नियमित पढाइ छुटाउने भएकाले उनीहरुलाई पुनः अभ्यास गराउन गृहकार्य दिइने चलन छ । यद्यपि अधिकांश विद्यालयले बालबच्चालाई यति धेरै गृहकार्य बोकाउँछन् कि उनीहरुले चाडपर्व पनि ढुक्कले मनाउन सकिरहेका हुँदैनन् ।

गृहकार्य सकाउनुपर्ने मानसिक दबाबका कारण बालबच्चाले दशैंजस्तो सामाजिक पर्वको अन्तर्यलाई राम्ररी अध्ययन-अवलोकन गर्न पाउँदैनन् ।

अहिलेका बालबच्चाहरु त्यसै पनि एक्लिंदै र असामाजिक बन्दै गएको गुनासो सुनिन्छ । विद्यालय र घरको संघार नाघेर बाहिर घुलमिल नहुने बालबच्चाका लागि यो एउटा राम्रो अवसर हुनसक्छ । उनीहरुले चाडपर्वबाट जीवन र जगतका धेरै अमूल्य कुरा अनुभव गर्न वा सिक्न सक्छन् । समाजको मूल्य बुझ्न सक्छन् ।

यतिबेला बालबच्चालाई किताबी गृहकार्य गराउने कर्मकाण्डी प्रवृत्तिले मानसिक दबाब मात्र दिने शिक्षाविद् कोइरालाको टिप्पणी छ । उनी भन्छन्, ‘यदि गृहकार्य दिनैपर्ने भए पनि पाठ्यक्रम बाहिरबाट दिए हुन्छ । जस्तो जमरा कसरी उमारिन्छ, मासुका प्रकार कति छन्, मासुमा कस्तो पोषक तत्व पाइन्छन् जस्ता कुरामा गृहकार्य गराउन सकिन्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?