+
+
Shares
फिफाविश्वकप २०२६ :

संगीत कसरी बन्यो विश्वकपको दोस्रो भाषा ?

संगीत र फुटबलको सम्बन्ध खोज्दै जाँदा १९औं शताब्दीतिर पुगिन्छ, जतिबेला बेलायतमा भर्खरभर्खर यस खेल खेलिन थालिएको थियो ।

सापेक्ष सापेक्ष
२०८३ जेठ ३१ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपका लागि फिफाले १८ वटा गीत समेटिएको विशेष डबल एल्बम सार्वजनिक गरेको छ ।
  • सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपमा होसे पेपिनो मिनिस्तेरीले गाएको उरुग्वाइओस काम्पिओनेस लाई विश्वकपको पहिलो गीत मानिन्छ ।
  • फिफाले सन् १९६२ को चिली विश्वकपदेखि एल् रक डेल मुन्डियल गीत प्रयोग गर्दै आधिकारिक रूपमा विश्वकप संगीतको यात्रा शुरू गरेको थियो ।

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले एकपटक भनेका थिए, ‘संसारमा दुईवटा मात्र भाषाहरू छन्- फुटबल र संगीत’

ब्लाटरको यो भनाइ फुटबल विश्कप ताका अझ बढी सान्दर्भिक हुन्छ । किनकि, हरेक विश्वकपको उत्सवमा संगीतले विभिन्न संस्कृति र देशका मान्छेहरूलाई एउटै लयमा बाँध्छ । प्रतियोगिता स्वयंलाई बढवा दिन, माहौल तताउन र एउटा वातावरण तयार पार्ने कारण बन्छ ।

यसैकारण कतिपयले संगीतलाई विश्वकपको दोस्रो भाषाका रूपमा लिने गर्छन् । किनकि भाषा नबुझे पनि संसारभर फुटबल फ्यानहरू गीतको भाकामा मिसिन पुग्छन् । र यसबाटै फुटबलको जोशमा रम्न पुग्छन् ।

संगीतको यही प्रभावका कारण नै विश्वकपको उद्‍घाटन समारोहमा आधिकारिक भाषणहरू छोटो हुन्छन् । मुख्य आकर्षण नै ‘थिम सङ’को प्रस्तुति हुन पुग्छ । यो आधारमा विश्वभर फुटबल संस्कृति र मानवीय मूल्यहरू फैलाउने प्रमुख माध्यम संगीत बनेको छ । अर्कोतिर संगीत खेलको पूरक ।

सन् २०१० को दक्षिण अफ्रिका फुटबल विश्वकपको समापन समारोहका क्रममा शाकिरा ।

एक क्षणका लागि फुटबलका कुराहरूलाई थाती राखेर सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपको आधिकारिक गीत ‘वाका वाका’ (दिस टाइम फर अफ्रिका) सम्झौं ।

रिलिजको १६ वर्षमा कोलम्बियन पप स्टार शाकिराको यो गीत युट्युबमा मात्रै साढे ४ खर्ब पटकभन्दा धेरै स्ट्रिम भइसकेको छ । यो युट्युब भ्युजको एउटा अंश मात्र हो । अन्य प्लेटफर्मको संख्या छुट्टै छ ।

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरिएकाले यी तीनवटै देशको संस्कृति र कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ ।

आखिरमा यस्ता गीतले रङ्गशालाको निश्चित परिधिलाई नाघ्छन् नै । र यिनले सजिलै विश्वकप जस्तो ठूलो उत्सवहरूलाई आयामिक तरिकामा परिभाषित गरिदिन्छन् ।

एक पटक ‘वाका वाका’ बनाउँदाको समयलाई हेरौं ।

लेबनानी मूलकी शाकिराले जन हिलसँग सहकार्य गरेर यो गीत लेखेकी थिइन् । उनीहरूले संगीतका लागि दक्षिण अफ्रिकी ब्यान्ड फ्रेसलीग्राउन्डसँग पनि सहकार्य गरेका थिए । फलस्वरूप गीत एउटा बहुभाषिक र बहुसांस्कृतिक बन्न पुग्यो । गीत स्पेनिस, खोसा (दक्षिण अफ्रिकाको एउटा आदिवासी भाषा) र अंग्रेजी भाषामा गाइएको छ । त्यसमा कंगो, क्यामरुन, क्यारिबियन र दक्षिण अमेरिकाका सांगीतिक तत्वहरू समेटिएका थिए ।

यसरी फुटबल बहाना बन्दा यो गीत एक प्रकारको वैश्विक सहकार्य बन्यो । र यसले विश्वकपको विशाल स्वरूपलाई सरल तरिकामा झल्काइदियो ।

एउटा यस्तो खेल, जसलाई जति हेरिन्छ त्यति नै सुनिन्छ

संगीत र फुटबलको सम्बन्ध खोज्दै जाँदा १९औं शताब्दीतिर पुगिन्छ । जुनबेला बेलायतमा भर्खर–भर्खर यो खेल खेलिन थालिएको थियो । त्यही बेलादेखि नै विभिन्न हुटिङ र गीतहरू पनि जन्मिएका हुन् ।

यसै कारण विश्वकपको अवधारणा सुरु हुनुभन्दा धेरै अघिदेखि नै फुटबल प्रशंसकहरूले माहोल बनाउन, आफ्नो पहिचान झल्काउन र आबद्धता दर्शाउन संगीतको प्रयोग गरिरहेका थिए ।

सुरुवातदेखि नै फुटबल जति हेर्ने कुरा थियो, त्यति नै सुन्ने कुरा पनि हुँदैगयो । चाहे त्यो बेलायतमा होस् अथवा अफ्रिकन राष्ट्रहरूमा । संगीत र फुटबल, प्राकृतिक रूपमै एकअर्काका परिपूरकजस्ता हुँदै आए ।

हुन पनि, शान्त वातावरण हुँदा हामी औंलाले कुनै न कुनै लय निकाल्न खोज्छौं । भुइँमा गुडिरहेको कुनै गोलाकार वस्तु देख्दा खुट्टाले हिर्काउन खोज्छौं । र, यी दुवैले मुटुको धड्कन बढाउन सक्छन् । भाषाको पर्खाललाई तोड्न सक्छन् ।

त्यसैले गीत र खेलप्रतिको यो मानवीय भावना समयसँगै सँगसँगै विकसित हुनु, परिष्कृत हुनु स्वाभाविक हो ।

फुटबल इतिहासकार तथा द बल इज राउन्ड: ए ग्लोबल हिस्ट्री अफ फुटबलका लेखक डेभिड गोल्डब्लाटका अनुसार फुटबल विश्वव्यापी तडकभडकदेखि लिएर भुइँतहको खेलसम्म विभिन्न तहमा सञ्चालन हुन्छ । र, संगीत पनि ती सबैमा हुन्छ ।

अब विश्वकप र संगीतको इतिहास हेर्न भने हामी सन् १९३० मा फर्कनुपर्ने हुन्छ । जुन वर्ष पहिलो पटक उरुग्वेमा विश्वकप भइरहेको थियो ।

अन्तर्राष्ट्रिय यात्राको सुविधा कम भएकाले त्यो पहिलो विश्वकपमा मात्र १३ वटा टोलीहरू सहभागी थिए । खराब मौसमका कारण इजिप्ट उरुग्वे पुग्न सकेन । तैपनि दक्षिण अमेरिकाका सात, उत्तर अमेरिकाका दुई र युरोपका चार राष्ट्रहरू विश्वकपका लागि मोन्टेभिडिओमा भेला भए ।

२००६ को विश्वकपको उद्घाटन खेलमा द टाइम अफ आवर लाइभ्स प्रस्तुत गर्दै मल्टि-ग्र्यामी अवार्ड विजेता टोनी ब्राक्सटन (बीचमा) (तस्बिर: रोबर्टो

त्यो प्रतियोगितामा उरुग्वेली गायक होसे ‘पेपिनो’ मिनिस्तेरीले ‘उरुग्वाइओस काम्पिओनेस’ नामक गीत गाएका थिए । यो गीतलाई पहिलो विश्वकप गीत पनि मानिन्छ । गीतले आयोजक राष्ट्र उरुग्वेको संगीतसँग संसारलाई परिचित गराउन भूमिका पनि खेल्यो । भलै त्यसबेला विश्वकपको एन्थम सङ भनेर उल्लेख गरिएको थिएन ।

यसरी सामान्य तरिकाबाट सुरु भएको फुटबल विश्वकप र संगीतको सम्बन्ध हरेक नयाँ संस्करणपिच्छे अझ बढी परिष्कृत र व्यापक बन्दै गयो । २०औँ शताब्दीको अन्त्यतिर आइपुग्दा फिफाले प्रत्येक प्रतियोगिताका लागि आधिकारिक गीत र एन्थमहरू तयार पार्न थाल्यो ।

यो प्रयोग पहिलो पटक सन् १९६२ मा चिली विश्वकपबाट ‍गरियो । त्यतिबेला फिफाले खेलप्रति मान्छेहरूको चासो बढाउन एल् रक डेल मुन्डियल नामक गीतलाई आधिकारिक रूपमा प्रयोग गरिएको थियो ।

प्रत्येक प्रतियोगिताका लागि व्यापारिक र वैश्विक स्तरमा आधिकारिक गीतहरूलाई नै मुख्य हिस्सा बनाउने काम भने फिफाले सन् १९९० को इटाली विश्वकपको युन एस्टेट इटालियाना र सन् १९९४ को अमेरिका विश्वकपको ग्लोरील्यान्डदेखि व्यापक रूपमा गर्न थाल्यो । अमेरिकाको त्यो विश्वकपदेखि भने फिफाले खेल सुरु हुनुअघि खेलाडीहरू मैदान प्रवेश गर्दा बज्ने शब्दविहीन इन्स्ट्रुमेन्टल फिफा एन्थम पनि सुरु गर्यो ।

फिफाका यी कदमले पछि भने विश्वकप संसारकै सबैभन्दा ठूलो सांगीतिक मञ्चमध्ये एक बन्न पुग्यो । यही कारण आजको समयमा विश्वकप जति हेरिन्छ, त्यति नै सुनिन्छ पनि ।

आयामिक बन्छ संगीत

पक्कै पनि विश्वकपका लोकप्रिय र कालजयी गीतहरू जितसँग मात्र जोडिएका हुँदैनन् । सन् १९९० को इटाली विश्वकपको आधिकारिक गीत युन एस्टेट इटालियाना त्यस्तै एकमा पर्छ ।

त्यो संस्करण म्याराडोना र अर्जेन्टिनाको टोलीका लागि ऐतिहासिक थियो । तर, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पश्चिम जर्मनीसँग फाइनलमा पराजित हुन पुग्यो । यसले आज पनि अर्जेन्टिनामा यो गीत बज्दा मान्छेहरू भावुक हुने गर्छन् । उनीहरूलाई गीतले त्यसबेलाको हारको सम्झना गराउँछ । जबकि गीत ‍इटालियन भाषामा छ ।

त्यसैगरी कतिपय फ्यानहरूले विश्वकपमा आफूले समर्थन गरेको टोलीका लागि आफ्नै तरिकाले गीतहरू तयार पनि गर्छन् । अहिले त सामाजिक सञ्जालमा यो प्रवृत्ति ह्वात्तै बढेको देखिन्छ ।

१९९४ को विश्वकप फुटबल प्रतियोगिताको उद्‍घाटन समारोहमा साउन्ड्स अफ ब्ल्याकनेससँगै प्रस्तुति दिँदै ड्यारिल हल। (तस्बिर: पल न्याट्किन/गेटी इमेजेज) ।

त्यस अर्थमा, विश्वकपको साउन्डट्र्याकले एकैसाथ दुई तहमा काम गर्छ । एउटा त आधिकारिक गीतहरू हुन्छन् – जुन समय लगाएर विश्वभर वितरणका लागि बनाइएका हुन्छन् । अर्का त्यस्ता गीतहरू हुन्छन् – जुन दर्शक आफैंले बनाएका हुन्छन् । समान यति हो कि यी दुवै प्रकारका गीतहरूले खेलको गौरवमा समानान्तर भूमिका निभाइरहेका हुन्छन् ।

यसमा छुटाउन नहुने, राष्ट्रिय गीत पनि हो । अनि सम्बन्धित राष्ट्रका कलाकारहरूले पनि स्वतन्त्र रूपमा आफ्नो संगीत बनाइरहेका नै हुन्छन्।

र, यो वर्ष

यस पटकको फिफा विश्वकपको सांगीतिक संस्करण इतिहासकै सबैभन्दा ठूलो र विशेष छ । यस वर्ष फिफाले विभिन्न विधाका संगीतहरू मिसाएर १८ वटा गीतहरू भएको एउटा विशेष डबल एल्बम निकालेको छ ।

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरिएकाले यी तीनवटै देशको संस्कृति र कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ । एल्बममा धेरै देशका चर्चित कलाकारहरू जोडिएका छन् । जस्तै: नाइजेरियाका बर्न बोयसँग मिलेर शाकिराले ‘दाइ दाइ’ गीत गाएकी छिन् । फिफा एन्थमका लागि शाकिराको यो दोस्रो सहकार्य हो ।

जुन ११, २०२६, बिहीबार, मेक्सिको सिटीमा विश्वकप सुरु हुनुभन्दा अघि उद्घाटन समारोहमा गायिका शकिरा र बर्ना ब्वायले प्रस्तुति दिँदै।

त्यसैगरी अमेरिकी जेली रोल र मेक्सिकोका कारिन लियोनको लाइटर, क्यानडाकी जेसी रेयेज र प्यालेस्टाइनी गायिका एलियानाको इलुमिनेट, अमेरिकी र्‍यापर फ्युचर र दक्षिण अफ्रिकी गायिका टायलाको गेम टाइम, वैश्विक एन्थम रोबी विल्याम्स र निकोल शेर्जिङ्गरको डिजायर आदि रहेका छन् । यहाँसम्म कि यो एल्बममा अमेरिकी स्ट्रिमरबाट गायक बनेका आईएसओस्पीडको वर्ल्ड कप (चाम्पियन्स) पनि राखिएको छ ।

फरकफरक देश र शहरमा खेल हुनुका कारण पनि हुन सक्छ, यो वर्ष फिफाले संगीतमा विविधता ल्याएको छ । हुन त फिफाले पछिल्ला वर्षहरूमा संगीतमा विविधता ल्याउन प्रयास गर्दै आइरहेको नै थियो ।

सुरुआत कालतिर प्रायः एकजना गायकले एउटा भाषामा मात्र गीत आउने गर्थ्यो भने अहिले विभिन्न देश र संस्कृति झल्याउने गरी फरकफरक कलाकारहरूले प्रस्तुती दिने गर्छन् । त्यसमाथि अब संगीतसँगै नृत्य पनि उही समान लयमा विश्वकपसँग जोडिँदै गइरहेको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?