+
+

रेमिट्यान्स : दशैंलाई उज्यालो पार्ने परदेशीको ‘उपहार’

विदेशमा रहेका नेपाली युवा दशैंका बेला नेपालमा परिवारको खुसीको लागि ऋण नै गरेर भए पनि दशैं खर्च पठाउने दबावमा हुन्छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायित्व पूरा गर्छन् पनि ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १९:२५

१३ असोज, काठमाडौं । कुवेतको राजधानी कुवेतसिटीस्थित मार्टमा काम गर्ने स्याङ्जा पुतलीबजारका रमेश पराजुलीले मंगलबार दशैंका लागि घरमा खर्च पठाए । २ महिनाअघि मात्रै कुवेत पुगेका उनले पठाएको ५० हजार रुपैयाँले यस वर्ष उनको परिवारले दशैं मनाउनेछ ।

‘५० हजारबाट अलिकति ऋण र ब्याज तिर्न पनि भनेको छु, दशैंमा एक जोर नयाँ कपडा हाल्नैपर्छ,’ उनी भन्छन्, ‘महँगी बढेर केही समान छोइनसक्नु भएको छ, दान दक्षिणा पनि गर्नैपर्‍यो ।’ दशैंमा धेरै खर्च धेरै हुन थालेको भन्दै उनले बालबच्चालाई लुगा कपडा किन्न र मिठो मसिनो खानका लागि मात्रै पनि सानो खर्चले नधान्ने उनको गुनासो छ ।

दुबईबाट मकवानपुरका विशाल पुडासैनीले बुधबार मात्रै तलब हात पारे । बिहीबार घरमा दशैं खर्च पठाउन लागेको उनले सामाजिक सञ्जालमा भएको सम्वादमा भने, ‘झण्डै दशैंमा पैसा पठाउन नपाएको, सरसापटी माग्न पनि धेरै साथीभाइको तलब आएको थिएन ।’

उनी आफूले पैसा पठाएपछि मात्रै घरमा दशैं भित्रिने बताउँछन् । ‘बुबासँग खर्च गर्न पैसा छैन, ऋण मागेर मनाएको दशैं खल्लो हुन्छ,’ उनी भन्छन्, ‘घरमा दशैं लागेर बालबच्चा खुसी भएको कुराले सन्तुष्ट हुन्छु । सबै खुसी हुँदा घर नै उज्यालो हुन्छ ।’

हरेक साल दशैंको मुखमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई घरमा पैसा पठाउन दबाव पर्छ । परिवारलाई दशैं खर्च पठाउने क्रमले रेमिट्यान्सको आप्रवाह पनि यही बेलामा बढ्छ ।

विगतका २ वर्ष महामारीका कारण धरै नेपाली युवा विदेश जान पाएका थिएनन् । गत वर्षबाट भने फेरि धेरै नेपालीहरु कामका लागि विदेशिने क्रम बढेको छ ।

जे जति नेपाली युवा विदेशमा छन्, दशैंका बेला नेपालमा परिवारको खुसीको लागि ऋण नै गरेर भए पनि  दशैं खर्च पठाउने दबावमा हुन्छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायित्व पूरा गर्छन् पनि ।

रेमिट्यान्सका मुख्य महिना

राष्ट्र बैंकका अनुसार सामान्यभन्दा चाडवाडका महिनामा बढी रेमिट्यान्स भित्रिने गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो । गत वर्ष २०७८ को असोजमा करिब ७३ अर्ब र कात्तिकमा ८३ अर्ब रमिट्यान्स भित्रिएको थियो ।

चाडवाडको मुख्य सिजन असोज, कात्तिक र मंसिरमा करिब २५ प्रतिशतसम्मले रेमिट्यान्स बढ्छ । गत वर्ष यी तीन महिनामा २३३.२१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

नेपालमा सबभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार विगतमा जस्तै यो वर्ष पनि दशैंको मुखमा रेमिट्यान्स बढेको छ । तर, वृद्धिदर भने खासै उत्साहजनक छैन । ‘डलरको मूल्य बढेकाले पनि रेमिट्यान्समा वृद्धि हुन सघाएको छ’ उनले भने । उनका अनुसार घटस्थापनापछि रेमिट्यान्स आउने क्रम उच्च बिन्दुमा पुग्छ ।

यो आर्थिक वर्षको सुरुकै महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशत बढेको थियो । साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स आएको थियो ।

चाडबाडको समयमा रेमिट्यान्स बढ्ने भएकाले रेमिट कम्पनीहरुले पनि अफरहरु ल्याउने गर्छन् । दशैंमा आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफरलगायतले अफरहरु ल्याएका छन् । पैसा पठाउँदा विभिन्न उपहार अफर गरिएका छन् ।

ऋण घटाउने रेमिट्यान्स

दशैंमा गरिने रेमिट्यान्स उपभोगले अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेल्ने गरेको अर्थविद्‍हरू बताउँछन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार कुनै समय निम्न आयका नेपालीहरुले दशैं खर्चका लागि स्थानीय साहु महाजनकहाँ हात पसार्नुपर्थ्यो । यसरी साहुसँग चर्को ब्याजमा लिएको ऋणले दशैं मनाउने चलन वैदेशिक रोजगारीले हटाइदिएको उनी बताउँछन् ।

गाउँघर र शहर बजारका धेरै घरधुरीका सदस्य काम या अध्ययनका लागि विदेश पुगेको सरकारी तथ्यांकहरुले देखाउँछन् । क्षेत्रीकाअनुसार उनीहरुले जोगाएर होस् या साथीभाइसँग सापटी मागेर भए पनि दशैं खर्च पठाउँछन् ।

दशैं धेरै खर्च गराउने चाड हो । नयाँ कपडा किन्ने, अरु बेलाभन्दा निकै बढी माछामासुको जोहो गर्ने चलनले दशैं आर्थिक हिसाबले महँगो छ । उपभोगमा आधारित दशैं पर्वमा खानपिन र रमाइलो मात्र हैन, कोसेली किनमेल, यात्रा, दान–दक्षिणा तथा पूजा–आजामा पनि उत्तिकै खर्च हुन्छ । यस्तो महँगो पर्व सजिलो गरी मनाउन सकिने अवस्था विदेशमा कार्यरत नेपाली युवाले सिर्जना गरिरहेका छन् । ‘कुनै बेला मासुभात खान दशैं नै पर्खिनुपर्थ्यो, नयाँ कपडा किन्न दशैं नै कुर्नुपर्थ्यो, यो अवस्था रेमिट्यान्सले नै हटाउँदै लगेको छ’ क्षेत्री भन्छन् ।

उनका अनुसार, अहिले गाउँघरका करेसामा खुर्सानी समेत फलाउन छाडिएको छ । सबै थोक बजारबाटै किन्ने चलन भित्रिएको छ । क्षेत्री भन्छन्, ‘सकेसम्म बासमती चामल किनेर दशैं मनाउने चलन बसिसक्यो ।’

अर्थविद् क्षेत्रीका अनुसार हात मुख जोड्न धौ–धौ भएकाहरु नै बढीजसो कामका लागि विदेश पुगेका छन् । उनीहरुको ठूलो सपना भनेकै परिवारलाई खुसी राख्ने हुन्छ । त्यसैले विदेशमा बस्नेहरुले केही महिनाकै रकम जम्मा गरेर दशैंको सिजनमै घर पठाइदिन्छन् । यो वर्ष महामारीले आक्रान्त पारेको भएपनि उनीहरु परिवारको खुसी घटेको देख्न चाहँदैनन् ।

अर्का अर्थविद् नरबहादुर थापा रेमिट्यान्सबाट आउने रकमको ठूलो हिस्सा उपभोगमा सकिने गरेको बताउँछन् । रेमिट्यान्स मुख्य रुपमा दैनिक उपभोगमा खर्च हुने गरेकाले त्यसले नागरिकको जीवनस्तर सुधार्न भूमिका खेलेको उनको भनाइ छ ।

‘दैनिक उपभोगपछि शिक्षा, स्वास्थ्यमा खर्च भइरहेको छ । बाँकी पैसा बैंकमा बचत गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘त्यसरी बचत गर्नुको प्रमुख उद्देश्य भनेको घडेरी खरिद, घर बनाउन र खेती गर्ने जग्गा किन्नका लागि हो । र, यो विल्कुल स्वभाविक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?