+
+

सिंहदरबारको भवनमा बस्ने छैन नयाँ संसदको पहिलो बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १८:४२

१४ असोज, काठमाडौं । ४ मंसिरको निर्वाचनबाट चुनिने प्रतिनिधिसभाको नयाँ बैठक सिंहदरबारस्थित नयाँ भवनमा बस्न नपाउने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि बल्ल बैठकको तयारी सुरु हुन्छ ।

२०७४ मा मंसिरमा चुनाव भएपनि फागुनमा मात्र बैठक बसेको थियो । ऐन कानुन आदिको तयारी गर्नुपर्ने भएकाले त्यसबेला ढिला भएको भन्दै संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘अहिले चुनाव भएको एक डेढ महिनामा बैठक बस्न सक्छ ।’

तर त्यो बेलासम्म सिंहदरबारमा संघीय संसदको नयाँ भवन तयार हुने छैन । संघीय संसदको भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो ।

कोराना महामारीको समयमा निर्माण व्यवसायीको ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुग्यो । तर यो अवधिमा पनि संघीय संसदको भवन तयार नहुने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार संघीय संसद भवन निर्माणको अनुगमन गरेका छन् । त्यसक्रममा निर्माण कम्पनीले गरेको ब्रिफिङ अनुसार हालको भौतिक प्रगति ६० प्रतिशत मात्र छ ।

अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले थपिएको म्यादभित्र काम सक्ने सकिन्छ भन्ने आफूलाई नलागेको बताए । ‘६ महिनाको म्याद थपिएको छ, त्यो भनेको २०८० नटेक्दै ह्याण्ड ओभर गर्नुपर्ने होला । चैत मशान्तमा सकिन्छ जस्तो मलाइ लागेन’ उनले भने ।

सिंहदरबारभित्रकै आयोजना पनि निर्धारित समयमा नसकिनु लाजमर्दो भन्दै तिमिल्सिनाले भने, ‘सिंहदरबारभित्रको आयोजना यति पछि परेको छ भने बाहिरका आयोजना के होला ?’

उनले निर्माण व्यवसायीलाई तीन सिफ्टमा काम गरेर वा यो आयोजना नसक्दासम्म अर्को काम सुरु नगरेर भए पनि बेलामा सक्न आग्रह गरे ।

भवनको संरचना तयार भएपछि आन्तरिक साजसज्जाको कामका लागि पनि समय लाग्ने भएकाले तत्काल नयाँ भवमा प्रतिनिधिसभामा बैठक बस्ने सम्भावना नभएको एक अधिकारी बताउँछन् ।

संघीय संसदको आफ्नै बैठकस्थल नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर त्यसमै बैठक सञ्चालन हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवनको रुपमा चिनिँदै आएको छ ।

कस्तो हुनेछ संघीय संसद भवन ?

हाल निर्माण भइरहेको संघीय संसदमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक हल हुनेछ । सभाहलमा ४०० र बालकोनीमा ३०० सिट क्षमता हुनेछ । यस्तै राष्ट्रियसभा हलमा ९० र बालकोनीमा २०० गरी २९० सिट क्षमताको हुनेछ ।

३५० सिट अट्ने संयुक्त लबि हुनेछ । साना ठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक कक्ष हुनेछ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष हुनेछ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हल पनि हुनेछ । संघीय संसद परिसरमा पुस्तकालय र क्यान्टिनको समेत रहनेछन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?