+
+
ब्लग :

चाडपर्वमा यातायात श्रमिकलाई सडक सुरक्षा टिप्स

भीमज्वाला राई भीमज्वाला राई
२०७९ असोज १४ गते १४:५०

सडक सुरक्षा र आम चिन्ता

सडक यातायात नेपालका लागि विकल्पहीन विकल्प हो । तर, नेपालको सडक यातायात सुरक्षित छैन । प्रत्येक वर्ष सडक दुर्घटनामा परेर २५०० देखि ३००० सम्मको ज्यान गइरहेको छ ।

सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १५ हजारको हाराहारीमा घाइते भइरहेका छन् । दशैं आसपास एक हप्ताभित्र मकवानपुरको भीमफेदी, रुकुमपूर्व, धादिङको गजुरी तथा अन्य जिल्लामा सडक दुर्घटनामा करिब दुई दर्जनले ज्यान गुमाइसकेका छन् ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार संघीय सरकारबाट ३३ हजार ८७१ किलोमिटर र प्रादेशिक र स्थानीय सरकारबाट ६४ हजार ६१७ किलोमिटर सडक विस्तार भएको छ ।

२०७८ साल असारसम्म देशभर जम्मा ९८ हजार ४८८ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । ४५ लाख हाराहारीमा सवारी साधनहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब २० लाख सवारी साधन काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमा रहेका छन् ।

सडक दुर्घटनाका कारण

भौतिक कारण

पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्ड विपरित प्रविधिविहीन सडक र अत्यधिक सवारी साधनको चाप सडक दुर्घटनाको कारण बनेको छ ।

मानवीय कारण

मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरू पर्दछन् । सडक प्रयोग गर्दा उनीहरूसँग हुनुपर्ने चेतना, ज्ञान, सीप र अनुभव साथै अवस्थाले परेको असरका कारण सडक दुर्घटना निम्तिने गर्दछ ।

यान्त्रिक कारण

सुरक्षित यात्राका लागि सुरक्षित सवारी साधन हुनुपर्दछ । सवारीको अवस्था राम्रो हुनुपर्दछ । यान्त्रिक रूपमा सवारी साधन ठिक हुनु आवश्यक छ । मुख्यतया सवारी साधनमा प्रयोग हुने टायरदेखि इन्धन र पार्टपुर्जाहरू ठिक अवस्थामा नहुँदा सडक दुर्घटना हुने गरेको तथ्यले देखाएको छ ।

पर्यावरणीय कारण

कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधीहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ ।

चाडबाडमा सडक दुर्घटना किन बढ्छ ?

यात्रुको चाप, चाडबाडको समय घर छाडेर बाहिर बसेकाहरू घर फर्किने, घरमै भएकाहरू पनि सामान खरिद–बिक्रीका लागि यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । यसले स्वाभाविक रूपमा यातायात सेवाको माग बढी हुने गर्दछ । सीमित सवारी साधन र नियमित रुटका सवारी साधनमा आवश्यकताभन्दा बढी यात्रुको चाप हुने गर्दछ ।

सवारी साधनलाई मार, यात्रुहरूको चाप बढेपछि रुटका सवारी साधनले अन्य समयको भन्दा दोब्बर यात्रु ओसारपसार गर्नुपर्ने अवस्था निर्माण हुने गर्दछ । अरू समयको जस्तै नियमित चेकजाँचको अभावमा सवारी साधन निरन्तर कुदिरहनुपर्ने र भारवहन क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने कारण सडक दुर्घटना हुने गरेका छन् ।

सडक दुर्घटना न्यूनीकरण र सडक पूर्वाधार सुधार यातायात श्रमिकहरूको एकल प्रयासबाट मात्रै सम्भव छैन । त्यसका लागि राज्य तहबाटै प्रयास हुनुपर्दछ ।

चालकमा थकान, आराम नगरी निरन्तर यात्रु ओसारपसार गर्नुपरेपछि चालकमा थकान आउनु स्वाभाविक हुन्छ । केही आम्दानी हुने आशामा समयमा खानपिन, शरीरलाई आराम नभएपछि काम गर्न समस्या उत्पन्न हुन्छ । जसले दुर्घटनालाई नजिक ल्याउँछ ।

चालकमाथि दबाव र प्रशासनिक झमेला, शरीर थाकेको छ, सवारी साधनको पनि मर्मत गर्न सकिएको छैन । तर, काम गर्नैपर्ने दबाव चालकमाथि थोपरिंदा सडक दुर्घटना बढेको पाइएको छ । त्यस्तै कामका सिलसिलामा प्रशासनिक झमेला तथा दुरुत्साहनले पनि दुर्घटना हुने गरेको छ ।

चालकलाई चाडबाड टिप्स

हतार नगर्नुस्

तीव्र गति, जीवनको क्षति त्यत्तिकै भनिएको होइन । तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भए पनि धैर्य गर्नुस् । तीव्र गतिमा सवारी नचलाउनुस् ।

मोबाइल फोनमा कुरा नगर्नुस्

मोबाइल फोनमा कुरा गर्दा एउटा हात मोबाइलमा र ध्यान कामको विषयमा केन्द्रित हुन्छ । जसका कारण सवारी साधन अनियन्त्रित हुन्छ । चालकको यस्ता क्रियाकलापका कारण सडक दुर्घटना हुनेहुँदा तपाईं यदि सवारी साधन चलाइरहेको बेला मोबाइल फोनमा घण्टी बजिरहेको छ भने कृपया नउठाउनुस् ।

आपत्कालीन अवस्था नै हो भने सवारी साधन रोकेर कुरा गर्नुस् या मिस कलका आधारमा गन्तव्यमा पुगिसकेपछि कलब्याक गरेर कुरा गर्नुस् ।

ओभरलोड गरेर सवारी साधन नचलाउनुस्

तपाईंले चलाएको सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रुलाई यात्रा नगराउनुस् । सामान्यतया उभिएर पनि यात्रा गर्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा अत्यधिक मात्रामा यात्रु कोचेर वा भीडभाड गराएर यात्रा नगराउनुस् ।

तनावमुक्त हुनुस्

चालक तनावमुक्त, दबावमुक्त र खुशी हुनुपर्दछ । दबाव र तनावमा सवारी चलाउँदा पनि सडक दुर्घटनाहरू हुने गरेको अध्ययनले देखाएको छ । चालक आफू मात्रै खुशी होइन आफूले चलाएको सवारी साधनमा यात्रा गर्ने अन्य यात्रुहरूलाई पनि हँसाएर रोमाञ्चित बनाएर यात्रा गराउने गरी सवारी चलाउनुपर्दछ ।

यात्रुसँग बढी भाडा नलिनुस्

राज्यले निर्धारण गरेको भन्दा बढी भाडा असुल्नु अपराध हो । सवारी तथा यातायात व्यवस्था ऐन र उपभोक्ता संरक्षण ऐनले दण्डित गर्ने व्यवस्था गरेको छ त्यस्तो अपराध नगर्नुस् ।

हाम्रा पनि परिवार, आफन्त यसैगरी यात्रा गर्नुपर्छ र आफूले पनि यातायातमा काम गर्ने समय बाहेक अन्य समय सार्वजनिक यातायात उपभोग गर्नुपर्छ भन्ने विषयमा ध्यान दिनुस् र यात्रुसँग तोकिएको भाडा मात्रै लिनुस्, बढी भाडा नलिनुस् ।

सवारी साधनको अवस्था ठिक राख्नुस्

सुरक्षित यात्राका लागि सुक्षित सवारी साधन हुनुपर्दछ । हामीले काम गर्ने सवारी साधन सबै र सधैं नयाँ हुँदैन । तर, हामीले चलाउने सवारी साधनले सेवा सुरु गर्नुअघि र गन्तव्यमा पुगिसकेपछि सवारी साधनको अवस्थाको चेकजाँच गर्नुस् ।

मोबिल, पानी, इन्धन, ब्रेक, टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरू राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारी साधनको अवस्थालाई सधैं ठिक अवस्थामा राख्नुस् ।

कागजात सुरक्षित राख्नुस्

सवारी साधन लिएर ग्यारेजबाट निस्किसकेपछि तपाईंको साथमा सवारी साधनको बिलबुक, जाँचपास, रुट परमिट, चालक अनुमति पत्र लाइसेन्स तथा सवारी साधनका आवश्यक सम्पूर्ण कागजात दुरुस्त र साथैमा राख्नुस् । बीमा गरिएको छ कि छैन हेर्नुस् ।

आवश्यक कागजात तथा चेकजाँच गर्ने अधिकारीहरूले मागेको समय सबै कागजात देखाउनुस् । ती अधिकारीहरूसँग कुनै किसिमको वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा संघ, संगठनलाई जानकारी गराउनुस् ।

समयबद्ध हुनुस्

अहिले अधिकांश राजमार्गमा समय कार्ड जारी भएको छ । विशेषगरी दुर्घटनाग्रस्त क्षेत्रहरूमा समयसीमा तोकेर त्यस समयको परिधिभित्र र तोकिएको गतिमा सवारी चलाउनुपर्ने नियम बनेको छ । तसर्थ एउटै रफ्तारमा सुरक्षित तरिकाले सवारी साधन चलाउनुस् । तीव्र गतिमा सवारी चलाउने र समय मिलाउन अर्को ठाउँमा पुगेर रोकेर बस्ने नगर्नुस् ।

संयमता अपनाउनुस्, सडक प्रयोग गर्ने अरूको अधिकारको सम्मान गर्नुस्

सडक पूर्वाधारहरू हाम्रो देशमा सारै कम छन्, प्रायःजसो एउटै राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । भएका सीमित राजमार्गहरू सबैको साझा सम्पत्ति हो । राजमार्ग प्रयोग गर्ने सबैको अधिकारको सम्मान गर्दै संयमतापूर्वक राजमार्ग प्रयोग गर्नुस् । अधीर र जबरजस्त चालक भयौं भने यो राजमार्ग मृत्युमार्गमा परिणत हुन्छ यस विषयमा सजग रहनुस् ।

खानपान र जीवनशैलीलाई सामान्य राख्नुस्

नशालु पदार्थहरू (मादक पदार्थ सेवन, लागूपदार्थ सेवन) बाट टाढा रहनुस् । ड्राइभिङ र नशालु पदार्थको सेवनको सीधा सम्बन्ध मानवीय मस्तिष्कसँग हुन्छ । त्यही भएर नेपालको कानुनले ड्रिङ्क एण्ड ड्राइभलाई वर्जित गरेको छ । यसको खास कारण सडक दुर्घटना नै हो । तसर्थ यो अक्षम्य अपराध नगर्नुस् । आफ्नो आचरणलाई व्यवस्थित गर्नुस् । अनुशासित हुनुस् ।

काम र जीवनलाई सन्तुलित गर्नुस्

आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा परिवारसँग मनोरञ्जन ट्रेड युनियनले उठाउँदै आएको श्रमिकहरूको जीवनसँग सम्बन्धित विषय हुन् । निरन्तर सवारी साधन चलाइरहनुभयो भने त्यो कामले तपाईंको स्वास्थ्यमा असर पार्छ । जसका कारण दुर्घटना निम्तिन्छ र तपाईं र तपाईंको ड्राइभिङमा रहेका सबै यात्रुको जीवनमा गम्भीर असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् ।

महिला, बालबालिका र वृद्धवृद्धालाई सम्मान गर्नुस्

तपाईंले चलाइरहेको सवारी साधनमा महिला, वृद्धवृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरू हुनसक्छन् । उनीहरूको क्षमता र समस्या तपार्इं हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरूलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरू हाम्रो छोरी, छोरा, आमा, बुवा, श्रीमती वा परिवार जस्तै हुनसक्छन् भन्ने सम्झिनुस् ।

गुणस्तरहीन खाद्य बिक्री गर्ने राजमार्गका होटलमा यात्रुलाई नलैजानुस्

सार्वजनिक यातायातको यात्रा त्यसमा पनि लामो यात्रा पीडादायी हुन्छ । सबैको स्वास्थ्य एकनासको हुँदैन । यस्तो अवस्थामा तपार्इंले चलाइरहेको सवारी साधनलाई स्वास्थ्य र गुणस्तरीय खानपान गर्ने होटलमा लैजानुस् । जनस्वास्थ्य र जनतालाई ठगी गर्ने लाइन होटलहरूमा नलैजानुस् ।

अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण र सडक पूर्वाधार सुधार यातायात श्रमिकहरूको एकल प्रयासबाट मात्रै सम्भव छैन । त्यसका लागि राज्य तहबाटै प्रयास हुनुपर्दछ । नीतिनिर्माण गरी सडक सुरक्षा परिषद् निर्माण गरेर सुधारको काम हुनुपर्दछ । तर, यस विषयमा राज्य गम्भीर छैन, यसो भनेर हामी आफैं पनि मौन हुन मिल्दैन ।

श्रमिकको तहबाट, श्रमिक संगठनको तहबाट, यातायात व्यवसायीको तह र अन्य सरोकारवालाहरूको स्थानबाट प्रयत्न जारी राख्नुपर्दछ । चाडबाडका समय बढ्ने सडक दुर्घटना न्यूनीकरण गर्दै त्यसको सामाजिक, आर्थिक र मानवीय असरलाई कम गर्नुपर्दछ, यसै विषयमा सुझाव प्रस्तुत गरिएका हुन् ।

राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?