
१६ असोज, काठमाडौं । रुपन्देहीको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, सैनामैनामा फर फरक व्यक्तिलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ ।
निर्वतमान क्याम्पस प्रमुख यदुलाल पन्थले आफ्नो पदावधि सकिएकाले अर्को क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म सह–प्राध्यापक विष्णुप्रसाद अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरे । ‘क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरि नसकेकाले २०७९/०६/१४ देखि लागू हुने गरी सञ्चालक समितिले अर्को क्याम्पस प्रमुख नियुक्त नगरुन्जेलसम्म निमित्त क्याम्पस प्रमुख भई आवश्यक कामकाज गर्नुहुन अनुरोध गर्दछु’ पन्थले पत्रमा उल्लेख गरेका छन् ।
१४ गते शुक्रबार सञ्चालक समितिको कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पोख्रेलले क्याम्पसका संस्थापक उप–प्राध्यापक जगलाल गिरीलाई निमित्त क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको पत्र काटेका छन् । पत्रमा ‘अर्को व्यवस्था नहुँदा सम्मका लागि निमित्त क्याम्पस प्रमुख भई कार्य गर्न/गराउनुहुन अनुरोध छ ।’
स्रोतको अनुसार क्याम्पस प्रमुख अवकाश भएपछि एमाले पक्षले सह–प्राध्यापक विष्णु अर्याल र कांग्रेस पक्षले उप–प्राध्यापक जगलाल गिरीलाई निमित्त क्याम्पस प्रमुख नियुक्त गरेका छन् ।
कार्यबाहक अध्यक्ष पोख्रेल नहुनुपर्ने काम भएको बताउँछन् । उनी भन्छन् ‘यस्तो नहुनुपथ्र्यो भयो । क्याम्पसको विधान अनुसार क्याम्पस प्रमुख नियुक्त गर्ने अधिकार सञ्चालक समितिमा रहेकाले क्याम्पस प्रमुख रिक्त हुन नदिन उप–प्राध्यापक जगलाल गिरीलाई निमित्त क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।’
क्याम्पस पनि विदा भएकाले अब क्याम्पस खुल्नसाथ सञ्चालक समितिले पूर्ण कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त गर्ने गरी तयारी भइरहेकोले उनले बताए ।
प्रतिक्रिया 4