+
+
कांग्रेसको समानुपातिक बन्दसूची : :

आफ्नै मापदण्ड उल्लंघन, पहुँचवालाकै राइँदाइँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते २२:३८

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्नै मापदण्ड उल्लंघन गर्दै समानुपातिकको संशोधित बन्दसूची तयार पारेको पाइएको छ ।

कांग्रेसले १६ असोजमा निर्वाचन आयोगमा बुझाएको बन्दसूची बुधबार सार्वजनिक भएको छ, जसमा प्रत्यक्षबाट चुनाव जितेर मन्त्री भइसकेका, समानुपातिकमा पटकपटक अवसर पाएकाहरु नै छन् । २९ भदौमा बसेको कांग्रेस संसदीय बोर्डले समानुपातिक उम्मेदवार चयनको चार मापदण्ड तोकेको थियो, जसमा २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरुलाई संघ र प्रदेश दुबैतिर उम्मेदवार बनाउने उल्लेख छ ।

तर कांग्रेसले आयोगमा बुझाएको सूचीले यो मापदण्ड उल्लंघन गर्छ । जस्तो, खसआर्य महिलाको छैटौं नम्बरमा मन्जु खाँडको नाम छ । गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती समेत रहेकी उनी २०७४ को बन्दसूचीमा पनि खसआर्य महिलाको आठौं नम्बरमा थिइन् । यद्यपि समानुपातिक संसद भने बन्न पाएकी थिइनन् ।

खासआर्य पुरुषको पिछडिएको क्षेत्रमा जयपति रोकाय छन्, उनी अघिल्लो पटक पनि यही क्लस्टरमा बसेका थिए ।

आदिवासी जनजाति महिलाको तेस्रो नम्बरमा रहेकी सीता राना मगरले २०७४ मा पनि समानुपाचिकको बन्दसूचीमा थिए । आदिवासी जनजाति पुरुषतर्फ रहेका गोपालसिंह राजभण्डारी, महिलातर्फ मनोरमा शेरचन, दलित महिलातर्फ आशा विक, मधेसी महिलातर्फ मिनाक्षी झा पनि २०७४ सालको समानुपातिकको बन्दसूचीमा थिए ।

यदि संसदीय बोर्डले बनाएको मापदण्डअनुसार समानुपातिकको उम्मेदवार छनोट गरेको भए उनीहरु यो पटक स्वतः बन्दसूचीबाट बाहिर हुन्थे । तर आफैंले बनाएको मापदण्ड उल्लंघन गरेर कांग्रेसले उनीहरुलाई फेरि समानुपातिकको उम्मेदवार बनाएको छ ।

पहुँचवालाकै राइँदाइँ

मापदण्ड उल्लंघन गर्दै समानुपातिकको बन्दसूचीमा राखिएका धेरैले सांसद बन्ने अवसर भने पाउने सम्भावना कम छ । किनकी उनीहरु आ आफ्नो क्लस्टरको पहिलो नम्बरमा छैनन् ।

कांग्रेसको बन्दसूची हेर्दा यो पटक समानुपातिकको लाभ पहुँचवाला र पटकपटक मन्त्री सांसद भइसकेकाहरुले पाउने देखिन्छ । जस्तो, खसआर्य महिलाको पहिलो नम्बरमा अम्बिका बस्नेत, दोस्रो नम्बरमा सरीता प्रसाई, तेस्रो नम्बरमा आरजु राणा देउवा र चौथो नम्बरमा ईश्वर न्यौपानेको नाम छ । उनीहरु सबै २०७० को संविधानसभामा समानुपातिक सांसद थिए । अहिले फेरि उनीहरुले नै अवसर पाउने भएका छन् ।

खसखार्य पुरुषको पहिलो नम्बरमा प्रकाशशरण महत छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनी २०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । खासआर्य पुरुषको तेस्रो नम्बरमा रहेका आनन्द ढुंगाना पनि २०७० मै समानुपातिक सांसद भएका थिए ।

आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन् । पूर्वमन्त्री समेत रहेका श्रेष्ठ २०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । दलित पुरुषको पहिलो नम्बरमा रहेका जीवन परियारले पनि २०७० मै समानुपातिक सांसद बन्ने अवसर पाएका थिए । पार्टी सहमहामन्त्री समेत रहेका उनी फेरि समानुपातिकमै बसेका छन् ।

मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बिमलेन्द्र निधि छन् । पटकपटक चुनाव जितेका र उपप्रधानमन्त्री भइसकेका निधि सांसद बन्ने सुरक्षित बाटो खोजेर समानुपातिकमा बस्न आएका हुन् । अनिल रुंगटा २०७० को दोस्रो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित सांसद थिए ।

मधेसी महिलाको पहिलो नम्बरमा नागिना यादव, दोस्रोमा मुक्ताकुमारी यादव र तेस्रो नम्बरमा चन्दा चौधरी छिन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी उनी १२ असोजमा मात्र कांग्रेस प्रवेश गरेकी थिइन् । तर कांग्रेसले समानुपातिकको बन्दसूची संशोधन गर्दा आफ्नो नाम पनि घुसाउन सफल भइन् ।

थारु पुरुषको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी २०७४ मा तत्कालीन फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?