+
+
झापाका 'कोल्ड केस' :

प्रहरी प्रमुख फेरिरहे, गुत्थी सुल्झिएन

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज २० गते २१:३५

२० असोज, झापा । भद्रपुरस्थित मनषा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडले ११ माघ २०७५ मा घर जाने भन्दै कार्यालयमा बिदा मागे । घर विदा स्वीकृति गराएर क्वार्टरमा सुतेका दुगड बिहान अवेरसम्म पनि उठेनन् । उनका सवारी चालक दुगडलाई बोलाउँदै कोठातिर पुगे ।

जवाफ फर्किएन, झ्यालबाट हेर्दा रगक्ताम्ये अवस्थामा शव भेटियो । ६६ वर्षीय दुगडको हात खुट्टा बाँधिएको थियो, मुखमा सिरानी कोचिएको थियो । ड्राइभरले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय, झापाको टोली अनुसन्धानका लागि खटियो । धरानस्थित केनाइन डिभिजनबाट अनुसन्धानको सहयागी कुकुरलाई पनि घटनास्थलमा छाडियो ।

त्यसबेला झापा प्रहरी प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल भन्छन्, ‘अनुसन्धानबाट उनको हत्या भएको पुष्टि भएको थियो, तर संलग्न व्यक्तिको पहिचान हुन सकेन ।’

अनुसन्धान अधिकृतको आशंका भारतीय नागरिकतिरै थियो । त्यसतर्फ अनुसन्धान पनि भयो, तर सोधपुछका लागि ल्याउनै सम्भव भएन । ढकालपछि झापामा प्रमुख भएर गएका अरु एसपीहरुको प्राथमिकतामा पनि दुगड हत्याको फाइल पर्‍यो, तर अनुसन्धानमा प्रगति भएन ।

दुगड हत्याको एक महिनाअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरका नेता दीपक भण्डारी हराएका थिए । नेकपा एमालेका पूर्वनगर अध्यक्ष समेत रहेका भण्डारी हराएको सूचना पाएलगत्तै अनुसन्धान टोली नै बनाएर झापा प्रहरीले छानबिन अघि बढायो ।

धुलाबारी जेसिस, हिमालयन मल्टिपल कलेज जस्ता संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेर भण्डारी ४ पुस २०७५ को बिहान साढे ९ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

श्रीमती गीता भण्डारीका अनुसार कलेज जान्छु भन्दै निस्किएका उनी साँझसम्म नफर्किएपछि फोन गरिएको थियो । तर दुवै मोबाइल र मोटरसाइकल घरमै छाडेका रहेछन् ।

झापाका एमाले नेता दीपक भण्डारी ।

अनुसन्धानमा खटिएका एक सदस्यका अनुसार क्लोज सर्किट (सीसी) क्यामरामा उनी काँकडभिट्टास्थित सीमा क्षेत्रबाट एक्लै लुरुलुरु हिँडेर पारितिर गएको देखिएको थियो । त्यसैले उनी फर्किएर आउनसक्ने बताउँदै प्रहरीले खोजी कार्यलाई सुस्त बनायो ।

२०७३ सालको कात्तिकमा झापा क्षेत्र नं. १ का तत्कालीन एमाले सांसद् रविन कोइराला पनि उस्तै शैलीमा हराएका थिए । हल्लीखल्ली मच्चिएपछि उनले आफू सिलगुढीमा भएको सामाजिक सञ्जालमार्फत बताएका थिए । सीसीटीभी हेरेर प्रहरीले भण्डारी प्रकरण पनि पूर्वसांसद कोइरालाको जस्तै जस्तै हुनसक्ने आशंका गरेको थियो ।

तर चार वर्ष वित्यो अहिलेसम्म भण्डारीको अत्तोपत्तो छैन । प्रहरीले अनुसन्धानमा गम्भिरता नदेखाएको परिवारको गुनासो छ । दुगड हत्या र भण्डारी वेपत्ता मात्र होइन, गुत्थी नसुल्झिएका झापाका अरु घटना पनि छन् ।

मुख्य व्यापारिक केन्द्र विर्तामोडको वडा नं. ५ मा २८ असोज २०७८ मा एक युवतीको अर्धनग्न अवस्थामा शव भेटियो । इलाका प्रहरी कार्यालय, विर्तामोडले अनुसन्धान थालेपछि मृतक स्थानीय सिर्जनशील सहकारीमा काम गर्ने सिर्जना बस्नेत भएको खुल्यो । घोप्टो परेको अवस्थामा शव भेटिएपछि विभिन्न आशंकासहित अनुसन्धान भयो ।

परिवार र स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन पनि गरे । प्रहरीले बस्नेतका प्रेमी, अर्को तलामा बसेका फुपाजु लगायतलाई पनि छानबिनको दायरामा ल्यायो । तर अनुसन्धान अधिकृतहरुले अहिलेसम्म घटना हत्या हो वा होइन भन्ने नै निष्कर्ष निकाल्न सकेनन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) हुँदा यही घटनाको प्राविधिक जाँचबुझ गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुँगमबहादुर कुँवर अहिलेआफैं विर्तामोड प्रहरी प्रमुख छन् । तर बस्नेत मृत्यु प्रकरणको फाइल अलपत्र छ । कुँवर भन्छन्, ‘त्यतिबेला शंकाको आधारमा केही व्यक्तिमाथि अनुसन्धान गरेका थियौं, तर हत्या भएको स्थापित हुनसक्ने आधार देखिएन ।’

बिर्तामोड नगरपालिका-२, चैतुवारीमा ५ पुस २०७७ मा मारिएकी ४० वर्षीया दिनो राजवंशीको अनुसन्धान पनि अलपत्र छ । घर नजिकै खेतमा मृत अवस्थामा भेटिएकी उनको हत्या भएको देखिएको छ । तर घटनामा संलग्नलाई प्रहरीले कानूनी दायरामा ल्याउन सकेको छैन ।

कचनकवल गाउँपालिका-५, बेल्ले गाउँमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको अनुसन्धान पनि अलपत्र छ ।

बिर्तामोडमा सृजना बस्नेतको शव भेटिएको स्थान । फाइल तस्वीर । 

चिया बगानमा काम गर्ने १६ वर्षकी करिना, कल्पना र १७ वर्षकी अञ्जली गणेश ८ साउन २०७८ मा झुण्डिएको अवस्थामा भेटिएका थिए । ७ साउनमा घरबाट सँगै निस्किएका उनीहरु छुट्टीको दिन बगानमा किन गए भन्ने जवाफ प्रहरीसँग छैन ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीका अनुसार शनिबारको दिन रातिसम्म नआएपछि प्रहरीलाई खबर गरिएको थियो । आइतबार बिहान बगानमा काम गर्नेले उनीहरुको शव फेला पारेका थिए । प्रहरीले प्रारम्भिक जाँचमा उनीहरुले आत्महत्या गरेको देखिएको बताएको छ ।

तर तीन किशोरी एउटै रुखमा झुण्डिनुपर्ने अवस्थामा किन पुगे भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ प्रहरीले दिन सकेको छैन । उनीहरुले भारतीय सीम कार्ड पनि चलाउने गरेको देखिएको छ ।

जिल्लाका ‘कोल्ड केस’ (पुराना अपराध) का फाइल हेर्दा कतिपय घटना भतिव्य भएपनि प्रहरीले सर्वसाधारणलाई त्यसबारे विश्वसनीयरुपमा बताउन सकेको देखिन्न । बिर्तामोडको बस्नेत मृत्यु, लालझोडाको आगलागी जस्ता प्रकरण भवितव्य हुनसक्ने यथेष्ट प्रमाण देखिन्छन् । तर न प्रहरीले त्यसलाई बाहिर ल्याउने आँट गरेको छ, न पीडितलाई नै विश्वासमा लिने कोशिश गरेको छ

ती नम्बरमार्फत उनीहरुका सम्पर्क विवरण केलाएर कारणबारे खोजी गर्नतिर प्रहरी गम्भिर देखिएको छैन । बरु पोष्टमार्टमबाट पनि ‘झुण्डिएकै कारण’ मृत्यु भएको संकेत आएको बताउँदै प्रहरीले फाइल बन्द गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेल भन्छन्, ‘गरिबीका कारण आत्महत्या गरेको हुनसक्ने देखिन्छ, थप अनुसन्धान गर्नुपर्ने विषयहरु देखिँदैनन् ।’

शिवसताक्षी नगरपालिका-१०, लालझोडामा १० मंसिर २०७५ मा चारजनाको मृत्यु हुने गरी भएको आगलागीको रहस्य पनि प्रहरीले हालसम्म फेला पार्न सकेको छैन । दुईतले कच्ची घरमा राति एक्कासी आगो लाग्दा दुई नाबालकसहित चारजनाको सुतेकै अवस्थामा मृत्यु भएको थियो ।

तत्कालीन कांग्रेस प्रवक्ता एवं हालका महामन्त्री विश्वप्रकाश शर्माले घटना भवितव्य हुनै नसक्ने बताउँदै दोषी पत्ता लगाएर कारबाही गर्न सार्वजनिक वक्तव्य दिएका थिए । तर हालसम्म झापा प्रहरीले घटना नियोजित वा भवितव्य के थियो भनेर जानकारी दिएको छैन ।

अनुसन्धानमा प्रदेश १ प्रहरी कार्यालयबाट क्षेत्रीय प्रहरी अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटियोे । मृतकको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण पनि भयो, केही सुराक हात लागेन । छरछिमेक र आफन्तसँग पनि रिसिइबी देखिएन ।

जिल्लाका ‘कोल्ड केस’ (पुराना अपराध) का फाइल हेर्दा कतिपय घटना भतिव्य भएपनि प्रहरीले सर्वसाधारणलाई त्यसबारे विश्वसनीयरुपमा बताउन सकेको देखिन्न । बिर्तामोडको बस्नेत मृत्यु, लालझोडाको आगलागी जस्ता प्रकरण भवितव्य हुनसक्ने यथेष्ट प्रमाण देखिन्छन् । तर न प्रहरीले त्यसलाई बाहिर ल्याउने आँट गरेको छ, न पीडितलाई नै विश्वासमा लिने कोशिश गरेको छ ।

विगतमा विर्तामोडमा पोखरीमा डुबेको भवितव्य घटनालाई हत्या भन्दै प्रदर्शन हुँदा सुरक्षाकर्मीको गोली एक जना सर्वसाधारणको मृत्यु नै भएको थियो । त्यसले पनि प्रहरी अधिकृतहरु हत्तपत्त अनुसन्धानमा देखिएका यकिन विवरण सार्वजनिक नै गर्न चाहँदैनन् । बरु विवादमा पर्नु साटो फाइल नै यथास्थितिमा छाडिदिनु सहज ठानिदिन्छन् ।

मनषा सिमेन्टका म्यानेजरको हत्या जस्ता केही घटनाका अपराधी चाहिँ भारतमा लुकेर बसेको हुनसक्ने देखिन्छ । झापामा १४४.२० किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । पारिबाट आउने वा नेपालबाट जाने व्यक्तिहरुको कुनै अभिलेख हुँदैन । यसले पनि अनुसन्धानमा जटिलता थपेको छ ।

यद्यपि, दुई देशका प्रहरीबीच अपराध नियन्त्रणको मामलामा सहकार्य नभएको पनि होइन । पञ्जाबका चर्चित गायब सिद्धु मुसेवाला हत्याकाण्डका तीन आरोपीलाई भद्रपुरबाट सुटुक्क भारतीय प्रहरीको जिम्मा लगाउने अधिकृतहरुले आफ्नो मुलुकमा अपराध गर्नेलाई ल्याउन त्यति साह्रो चासो दिएको देखिन्न । झापाका एसपी पोखरेलको दाबी चाहिँ वेग्लै छ ।

उनी भन्छन्, ‘अहिले भारतीय प्रहरीसँग पनि अनौपचारिकरुपमा राम्रो समन्वय भइरहेको छ, यहाँ अपराध गरेर भारतमा लुक्नेलाई छाडिन्न ।’

प्रहरी प्रमुखलाई ६ प्रश्न

‘कुनै अनुसन्धानले वर्षौं लिनसक्छन्’
विश्वमणि पोखरेल, एसपी, झापा

झापामा केही अपराधहरु वर्षौंदेखि सुल्झिएका देखिँदैनन्, पुराना घटना किन प्राथमिकतामा नपरेको होला ?

– पुराना अपराधका घटनाहरुकेा सन्दर्भमा रजिष्टर कायम गरेर जाँच गरिरहेका हुन्छौं । कतिपय व्यक्ति हराएका घटनामा लामो समयसम्म पनि प्रहरीले फलोअप गरिरहेको हुन्छ । साप्ताहिकरुपमै बुझ्ने गरिएका पनि छन् । पुरानो केसमा सकेसम्म अपडेटेड भएर बस्न मातहतलाई पनि निर्देशन दिएको छु ।

लामो समयसम्म अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुका कारण के होलान् ?

हेर्नुस्, अनुसन्धान भनेको आजको भोलि हुने कुरा होइन । कतिपय अपराधको नतिजा एकैदिनमा पनि आएका छन् । कतिपयले २० औं वर्ष पनि लिएका छन् । रानीबानी हत्याकाण्ड वा चाल्र्स शोभराजकै घटना हेरौं न । त्यसैले अनुसन्धानमा अहिलेको अहिल्यै वा भरे भन्ने हुँदैन । अनुसन्धानले कहिले काहीँ सही बाटो नसात्दा ढिला भएजसतो देखिन्छ । तर प्रहरीले फलोअप गरिरहेको हुन्छ । ठ्याक्कै नतिजा नआउञ्जेल बाहिर नदेखिने मात्र हो । तर निश्चित अवधिमा ती घटनाहरु पनि सुल्झिनेमा विश्वस्त छु ।

झापाका कतिपय अपराध अनुसन्धानमा खुला सीमा पनि बाधक होलान् नि ?

नेपाल-भारतबीच सुर्पुदगीसन्धी नभएकाले कतिपय अवस्थामा अभियुक्त ल्याउन प्राविधिकसमस्या छ । तर कतिपयमा घटनामा दुई देशका सुरक्षा संयन्त्रबीच समन्वय हुन्छ र सूचना आदनप्रदान गरिरहेका हुन्छौं । यसलाई हामीले सकरात्मकरुपमा लिनुपर्छ । हाम्रै घर छेउछाउ पनि अपराध गरेर एकआपसमा लुकेर बस्ने हुन्छन् भने सीमा क्षेत्रमा त वारिपारि अपराध नहुने भन्ने नै हुँदैन । केहीले अपराध गरेर सुरक्षित हुन वारिपारि लुक्ने गरेका छन् । तर ढिला चाँडो मात्र हो । सबै कानूनी दायरामा आउनेछन् ।

सुरक्षाको दृष्टिले झापाको चुनौती के-के देख्नुहुन्छ ?

झापाको मुख्य चुनौति भनेको लागूऔषधको बढ्दो प्रयोग र ओसारपसार हो । खुला सीमाका कारण यो समस्या विकराल बन्दै गएको छ । झापामा लागूऔषधको प्रयोगकर्ता मात्र होइन, तस्करी पनि ठूलो परिमाणमा हुन्छ । झापा हुँदै लागूऔषध मुलुकका विभिन्न क्षेत्रमा पनि पुग्छन् । तर अहिले यसमा एकदमै कडाइ गरिएको छ । दैनिकजसो लागूऔषध बरामद भइरहेका छन् । धेर काँकडभिट्टा क्षेत्रमै लागूऔषध बरामद भएका छन् ।

झापामा आत्महत्या पनि धेरै हुने गरेको देखिन्छ, कारण के-के देखिन्छन् ?

आत्महत्या झापा मात्र नभइ देशकै समस्या हो । यसका पछाडि आर्थिक-सामाजिक सबै खाले कारण देखिन्छन् । दक्षिणी भेगमा गरिबीका कारण पनि आत्महत्या भएका घटना हछन् । वैदेशिक रोजगारीले समाजै विगारिसक्यो । विदेशमा गएर श्रीमान दुई/चार पैसा कमाएर आएको हुन्छ । फर्किएर आउँदा श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपर्ने अवस्था हुन्छ । पैसा कमाइ सक्दा इच्छा, आकांक्षा पनि बढिहाल्छ । यस्ता कुराले अपराध पनि निम्त्याइरहेका छन् ।

यसको नियन्त्रणका लागि झापा प्रहरी के गर्दैछ ?

दमकलाई केन्द्रित गरेर केही अघि मात्रै आत्महत्या न्यूनिकरणका लागि कार्यक्रम नै गर्‍यौं । विद्यालय, कलेज र सामाजिक संघसंस्थालाई जोडेर यो कार्यक्रम गरेका थियौं । लागूऔषधविरुद्ध झापाका विद्यालय विद्यालयमा कार्यक्रम गरिरहेका छौं । साइबर अपराधबारे पनि विद्यार्थीलाई बुझाइरहेका छौं । दशैंलाई लक्षित गरेर ठगी नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका छौं । दुर्घटना न्यूनिकरणका लागि पनि अभियानै चलाएका छौं ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?