+
+

दाङको देउखुरीमा ३ हजार ५ सय घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १८:३५

२२ असोज, दाङ । लगातारको वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । चारदिन लगातार वर्षका कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेका छन् ।

देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् । देउखुरीको गढवा गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परे ।

राप्ती नदी र सिक्रहवा खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेका हुन् । गढवाका गाउँपालिका अनुसार गढवा–५ को बोधीपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छिगाउँ लगायतका बस्तीमा बाढी पसेको छ ।

राप्ती नदीकै पानी बस्ती पसेपछि राप्ती गाउँपालिका आसपासका क्षेत्र पनि डुबानमा परेका छन् ।

राप्ती नदीमा पानीको बहाव बढेका कारण कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरु डुबानमा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।

दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् ।

त्यस्तै बाढीका कारण २०३ घर पूर्णरुपमा भत्किएका छन् । लमही नगरपालिकामा ४३, राजपुर गाउँपालिका १५, राप्ती गाउँपालिकामा, ६५ घर, गढवा गाउँपालिकामा ८० घर भत्किएका छन् ।

त्यस्तै बस्तीमा पसेको बाढीका कारण २ सय ४० जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्दले जनाएको छ ।

‘नदी र खोलाका पानी पानी बस्तीमा पसेपछि देउखुरी उपत्यकामा अधिकांश बस्ती डुबानमा परेको छ’ दाङ प्रहरी प्रवक्ता राजनकुमार गौतमले भने, ‘बाढीमा फसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।’ उनले बाढीमा फसेकाहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सक्रियतामा उद्धार गरिएको बताए ।

दाङमा अहिले वर्षा रोकिएकाले डुबान परेका बस्तीहरुमा पानीका सतह क्रमश घट्दै गएको प्रहरी प्रवक्ता गौतमले बताए ।

ठाउँ–ठाउँमा क्षति

दाङमा लागतार वर्षाले ठाउँ–ठाउँमा क्षति पुर्‍याएको छ । चारदिन यता आएको भारी वर्षाले खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् भने विद्युतीय संरचनामा पनि क्षति पुगेको छ ।

पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दमारस्थित १८ नम्बर टावर ढालेको हो ।

प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणले अहिले तुलसीपुरबाट वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । तर जिल्लाभर नियमित रुपमा विद्यूत आपूर्ति हुन सकेको छैन । शहरी क्षेत्रमा विद्यूत आपूर्ति भए पनि ग्रामीण क्षेत्रमा विद्यूत आपूर्ति अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?