+
+
कविता :

देशबहादुर, ठेला र देश

सन्जित फलाना सन्जित फलाना
२०७९ असोज २३ गते १३:२४

ठेलागाडा चलाउने
एउटा सामान्य व्यापारी हो देशबहादुर
थाहा छैन यो देशलाई उसको ठेगाना

हरेक बिहान सडकमा निस्किएर
चलाउँछ ऊ ठेलागाडा
र, गल्ली गल्ली खोजेर सहरको भोक
बेच्छ पानीपुरी र झालमुरी ।

आफ्नै जिन्दगीको आयतन नाप्न नसकेको ऊ
उसको ठेलागाडामाथि उदाउने बिहानीको घाम हुँदै
उसकै ठेलागाडामाथि अस्ताउने रातको ल्याम्पोस्टसँगै
ठेलागाडा चलाउँदै
नापिरहन्छ सडकदेखि सडक ।

तर यो सडकले चिन्दैन उसलाई
तर यो सहरले चिन्दैन उसलाई
भोक मेटिएपछि ग्राहकहरूले बिर्सिगएजस्तो
चिन्दैन यो देशले उसलाई
कहिले गल्लीको भोक मेट्ने
त कहिले महलका स्वाद मेट्ने उसलाई
चिन्दैन कुनै अखबारले, समाचारले ।

थाहा छैन उसलाई
बेरोजगारी र वैदेशिक रोजगारीको हेडलाइन बोकेर
कति आउँछन् अखबार उसको ठेलागाडामा ?
जो काम लाग्दैनन् उसलाई
पानीपुरी र झालमुरी बेच्नु सिवाय ।

मतलब छैन उसलाई
समृद्धि र विकासको रटान भर्दै
कति गुन्जिन्छन् चुनावको भाषणहरू चोकचोकमा
जो काम लाग्दैनन् उसलाई
बेलाबेलाको फुर्सद काट्न सिवाय ।

पाखुरी चलाउन मात्रै
सडकमा उत्रने उसलाई
थाहा छैन
किन बन्द र हड्ताल बोकेर उत्रन्छन् सडकमा मान्छेहरू ?
नारा र जुलुस बोकेर उत्रन्छन् सडकमा मान्छेहरू ?
देशभित्रै कुन देश खोज्दै उफ्रिरहन्छन् सडकमा मान्छेहरू ?
उसको निम्ति त
पाइतालाभरि फैलिएको सडक नै हो घर
पाखुरीले चलाइरहने ठेलागाडा नै हो देश
ठेलागाडामै निदाउँछ ऊ
ठेलागाडामै बिउँझिन्छ ।

सायद जान्दैन ऊ
उसको जिन्दगीले गरेको दुःखको हिसाबकिताब
समयले बोकेको संघर्षको फेहरिस्त
तर जान्दछ
कसरी साट्नुपर्छ खुसी पसिनासँग
कसरी बाँड्नुपर्छ मुस्कान मिहिनेतसँग
कसरी चलाउनुपर्छ पाखुरी
र मेट्नुपर्छ भाग्यको कस ?

अहिलेसम्म नागरिकता नबोकेको देशबहादुर
जान्दछ
कसरी बोक्नुपर्छ देश मनभित्र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?