+
+

यस्तो छ काठमाडौं ४ मा गगन–राजन टक्करको सम्भावित दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २१:३८

२३ असोज, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धी बन्दैछन् । चुनावी मैदानमा रहेका यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धी देखिन्छन् ।

काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक उनलाई रोक्न कसरत गर्दैछन् । थापासँग दुईपल्ट संविधानसभामा रहेको सहित तीनपटक सांसद बनेको अनुभव छ । संसदीय समितिको सभापति र मन्त्री बनिसकेका उनले पार्टीमा भूमिका समेत बढाएका छन् । पार्टीको कार्यकारी पद महामन्त्री पुगेका उनी तेस्रोपटक निर्वाचित हुने ध्याउन्नमा छन् ।

उनका ‘प्रमुख प्रतिस्पर्धी’ भट्टराईसँग सांसद, मन्त्री बनेको अनुभव छैन । तथापि, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सत्ता सञ्चालनमा उनको पनि भूमिका थियो । उनले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मूलधारका दुई दलका दुई प्रतिस्पर्धीले उम्मेदवार हुँदै गर्दा आफ्ना सबल पक्ष तथा विगतमा निर्वाचन क्षेत्रमा खेलेको भूमिका प्रस्तुत गर्न थालेका छन् । थापाले भावी प्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वको दौडमा रहेको बताइसकेका छन् । आइतबार उम्मेदवार दर्ता गरेलगत्तै उनले भने, ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो’ थापाले भने ।

थापाको स्पष्ट संकेत आशय प्रधानमन्त्री दाबी गर्नेमा छ । यस क्षेत्रमा कांग्रेसका नेता तथा कार्यकर्ताले उनको प्रचारका लागि मूल मुद्धा पनि यसैलाई बनाउने स्पष्ट देखिन्छ । थापा निर्वाचित भए प्रधानमन्त्री हुने तर भट्टराईले जिते भने सांसद मात्रै हुने हुन् भन्दै कांग्रेस नेता कार्यकर्ताले भन्दै आइरहेका पनि छन् ।

कांग्रेसकै नेतृत्वको सरकार बन्ने प्रक्षेपण अहिले नै हुन अवस्था पनि छैन । कांग्रेस प्रमुख दल भएन भने वा तालमेलले सोचे अनुसारको नतिजा ल्याएन भने सरकारको ढोका एमालेका लागि पनि खुल्नसक्छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने अवस्थामा भट्टराई मन्त्री बन्ने एमाले पक्ष दाबी गर्छ ।

सडक निर्माण, ढलको व्यवस्थापन, पार्क, प्राकृतिक सम्पदाको संरक्षण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, हेरिटेज वाक लगायतका काममा थापाकै सक्रियतामा सम्भव भएको कांग्रेस पक्ष दाबी गर्छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा विकासका कार्यमा अनेकौं कार्य गरेको एमाले पक्ष दावी गर्छ ।

थापा र भट्टराईलाई यस क्षेत्रमा स्थानीय तहको मत हेर्दा आशा र डर दुबैलाई उस्तै छ । काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ । यस क्षेत्रमा पर्ने बूढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ । महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाडौंको ७, ८ र ३० मा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने ९ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था केही बलियो बलियो देखिन्छ । काठमाडौं–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ । एकीकृत समाजवादीलाई यस प्रदेशको एउटा क्षेत्र छुट्याइएकोले उक्त दलको मत पनि थापालाई थपिने अवस्था बन्नसक्छ ।

स्थानीय तहमा एकीकृत समाजवादीले पाएको मत २ हजार ६८८ छ । माओवादी केन्द्रले छैटौं स्थानको मत ८७३ पाएको थियो । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ । थोरै मत भए पनि गठबन्धनका अन्य दलको मत थपिँदा थापालाई केही सहज हुनसक्छ ।

एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । गगनले २१ हजार ५५८ मत प्राप्त गरी विजयी भए । राजनको पक्षमा १८ हजार १४० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?