+
+
मुस्ताङ :

रोमी गौचनले छोरालाई सुम्पिए सांसदको टिकट

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज २४ गते २०:२८

२४ असोज, पोखरा । मुस्ताङमा नेपाली कांग्रेसभित्र ४ दशकदेखि एकछत्र राज गर्दै आइरहेका नेता हुन्, रोमी गौचन थकाली ।

२०५६ र २०७० सालमा चुनाव जितेका र मन्त्रीसमेत भएका रोमीले २०६४ र २०७४ मा चुनाव हारे । यसपटक पनि मुस्ताङमा उम्मेदवार छनोट गर्दा कांग्रेसको प्राथमिकता उनी नै थिए । कांग्रेस नेतृत्वले कांग्रेस जिल्ला सभापति रोमीलाई नै प्रतिनिधिसभा मात्र होइन, प्रदेशसभाको पनि टिकट दिएर पठायो ।

रोमीले २८ वर्षका छोरा योगेशलाई प्रतिनिधिसभाको टिकट थमाएका छन् । अघिल्लो चुनावमा पनि लड्दिन भन्दाभन्दै धर नपाएको बताउने रोमी जिल्लाका नेताहरुकै जोडबलमा योगेशलाई टिकट थमाएको बताउँछन् ।

‘मैले आफ्नो छोरालाई नै टिकट दिन खोजेको थिइनँ, तर प्रेम तुलाचन (नेकपा एमालेका उम्मेदवार) सँग भिड्न कोही तयार भएनन्,’ रोमीले अनलाइनखबरसँग भने, ‘मनोनयन गर्ने दिन १ बजे खाली टिकट हातमा आयो । सबैले योगेशलाई देखाएपछि उसैलाई टिकट दिएको हुँ ।’

२८ वर्षीय योगेश कांग्रेसबाट प्रतिनिधिसभाको चुनाव लड्ने कान्छा उम्मेदवार बनेका छन् । ‘मुस्ताङ भन्नेबित्तिकै कांग्रेस नेतामा रोमीको नाम आइहाल्छ । यसपालि उनकै छोरा योगेशले टिकट हात पारे’, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भने, ‘योगेश जम्मा २८ वर्षका छन् र उनी नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा टिकट पाउने कान्छा उम्मेदवार हुन् ।’

मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी लोकप्रसादका छोरा रोमी २०३४ सालतिरबाट नेपाल विद्यार्थी संघमा जोडिएका थिए । झण्डै ४ दशक मुस्ताङ कांग्रेसमा एकछत्र राज गरेका उनले कांग्रेसमा हक्की नेताको छवि बनाएका छन् ।

यो पटक कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक पद्धतिमा जनजातितर्फ रोमीको नाम राखेको थियो । तर समानुपातिक बस्न चाहेनन् । कांग्रेसले प्रत्यक्षको टिकट दिन चाह्यो, तर त्यो टिकटसँगै उनले राजनीतिक बिरासत छोरालाई सुम्पिएका छन् ।

विद्यार्थी राजनीतिबाट आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

योगेशले बाबुले देखाएको बाटो र आशिर्वाद लिएर चुनावी मैदानमा होमिएर र जीत पनि निकाल्ने दाबी गर्छन् । भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएर योगेश पछिल्लो समय राजनीति र ब्यापारमा सक्रिय थिए ।

राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन् भन्ने प्रमाणित गर्ने योगेशको जिकीर छ । ‘मैले एकैचोटी बुबाको कारणमात्र टिकट पाएर आएको होइन, विद्यार्थी राजनीतिदेखि प्रदेशसम्मको कांग्रेस राजनीतिमा छु,’ योगेश भन्छन्, ‘युवाले टिकट पाए भन्नुभन्दा मलाई बुबाका कारण जोडियो भने अन्याय होला ।’

सधैं आफन्तमै प्रतिस्पर्धा

हिमाली जिल्ला मुस्ताङ र मनाङमा हरेकजसो चुनाव एउटा रोचक दृश्य देखिन्छ, चुनावी प्रतिस्पर्धामा उत्रने र जित्ने–हार्ने आफन्त ।

२०५६ सालमा मुस्ताङमा कांग्रेसबाट रोमी गौचन र राप्रपाबाट नरबहादुर हिराचनले चुनाव लडे । उनीहरु नातामा मामाभाञ्जा पर्थे । एमालेका उम्मेदवार कृष्ण गौचन भतिज पर्थे भने मालेका उम्मेदवार वीरेन्द्र ज्वारचन दाइ । मामा, भतिज र दाइलाई हराउँदै मुस्ताङ रोमीले संसदको यात्रा तय गरेका थिए ।

२०७० सालको निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा आइपुगे, मामाका छोरा प्रेम तुलाचन । उनले कांग्रेसबाटै बागी उम्मेदवारी दिएका थिए । त्यो बेला एमालेबाट आफन्त नै उम्मेदवार थिए, चन्द्रमोहन गौचन । मामाका छोरा (सोल्टी) प्रेमलाई १३ मतले पछि पार्दै गौचन दोस्रो पटक संसदमात्रै छिरेनन्, वाणिज्य मन्त्री भए ।

२०७४ मा रोमीले चुनाव नलड्ने बताएका थिए । तर कांग्रेसले उनलाई नै टिकट दियो । त्यसको कारण थियो, उनका चिर परिचित प्रतिस्पर्धी अर्थात् मामाको छोरा प्रेम तुलचनलाई एमालेले प्रवेश गरेर टिकट लिनु ।

कांग्रेसमै लामो समय राजनीति गरेर एमाले प्रवेश गरी टिकट ल्याएका प्रेमसँग टक्कर दिने अर्को व्यक्ति नभएको भन्दै नेतृत्वले उनैलाई टिकट दियो । एकै ठाउँ (मुस्ताङ लेते) घर भएका दुई सोल्टीबीचको प्रतिस्पर्धामा गौचन झिनो मतले हारे । तुलाचनले ३ हजार ५४४ मत ल्याएर विजयी हुँदा रोमीले ३ हजार २८१ मत पाए ।

३० वैशाखको स्थानीय निर्वाचन र अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसमा टिकट मागेर ल्याउने र बाँड्ने ठाउँमा उनै गौचन छन् । यसपटक नेतृत्वले उनैलाई उठाउन खोजेको थियो, उनले भने गठबन्धनबाट अर्को उम्मेदवार खोज्न भनेका थिए । तर उम्मेदवारी दर्ता गर्ने बेलामा खाली टिकट आएपछि नेताहरुको आग्रहमा छोरालाई दिएको उनी बताउँछन् ।

रोचक बन्ने छ साला–भेनाको चुनाव

रोमी र प्रेम मामा–फूपूका छोरा (सोल्टी) भएपनि योगेशले प्रेमलाई भेना भन्छन् । प्रेमको श्रीमतीलाई पहिलेदेखि दिदी भन्ने गरेका कारण उनले भेनाको नाता लगाएका हुन् ।

यसरी हेर्दा भर्खरै राजनीतिमा उदाएका साला र लामो समय राजनीतिमै जीवन गुजारेका भेनाबीच हुने प्रतिस्पर्धा मुस्ताङमा निकै रोचक मानिएको छ । योगेशलाई चुनाव जित्न त्यति सजिलो भने छैन । किनकी अघिल्लो निर्वाचनमा आफनै बुबालाई हराएका प्रेम मुस्ताङमा एमाले प्रभावशाली र लोकप्रिय नेता हुन् ।

स्थानीय तहको चुनाव पनि उनकै अनुकुल छ । मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब ४०० मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ ।

एमाले उम्मेदवार तुलाचन करिब १ हजार मतले आफूले चुनाव जित्ने दाबी गर्छन् । कांग्रेस उम्मेदवार योगेश भने देशभर युवाहरुको लहर आइरहेका बेला आफूलाई पनि युवाहरुको मत तान्न सजिलो हुने दाबी गर्छन् ।

पुराना नेताहरुलाई सम्मान गर्दैै युवाहरुको जोस र जाँगर मुस्ताङी माटोमा लगाउन धेरैले हौसला भर्ने काम गरिरहेको उनको भनाइ छ । प्रेम भने नयाँमा राजनीतिक अनुभव पनि कम हुने र कहाँ के चाहिएको छ र कसले कति गर्न सक्छ भन्ने पनि थाहा नहुने भएकाले मुस्ताङको मतदाताले अहिलेसम्मको विकासलाई हेरेर आफूलाई जिताउने दाबी गर्छन् ।

कांग्रेसका सबै युवा, एमालेका परिचित

कांग्रेसबाट प्रतिनिधि सभामा चुनाव लड्ने योगेश २८ वर्षका छन् भने दुई प्रदेश सभा सदस्यका उम्मेदवार पनि ४० वर्षभन्दा कम उमेरका छन् । उनीहरु सबै निर्वाचनमा नयाँ अनुहार हुन् ।

प्रदेशसभामा ‘क’ मा ३५ वर्षीय नन्दु गुरुङ छन् । उनी मुस्ताङ जिल्ला प्रदेश सभाका क्षेत्रीय सचिव हुन् । प्रदेश ‘ख’मा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङ जिल्ला कार्यसमितिका सचिव शेरचन पनि ३८ वर्षका छन् ।

एमालेका उम्मेदवार भने सबै अनुभवी र दोहोरिएका सांसद हुन् । प्रदेशतर्फ इन्द्रधारा बिष्ट र चन्द्रमोहन गौचनले उम्मेदवारी दिएका छन् । इन्द्रधारा यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् भने गौचन समानुपातिकबाट सांसद बनेका थिए ।

खर्च गर्नेले जित्ने सम्भावना

असोज लागेसँगै उपल्लो मुस्ताङीहरु जाडो छल्दै व्यापार गर्न निस्किसकेका छन् । कतिपयका घर पोखरा तथा काठमाडौं छ भने कतिपयले जडिबुटी, जिम्बु, कपडासमेत लिएर ब्यापारका लागि पर्वत, कास्की, तनहुँ, चितवन लगायतका जिल्लामा पुग्ने गर्छन् ।

कतिपय मुस्ताङी यही बेला स्वीटर व्यापार गर्न भारतसम्म पुग्ने एमालेबाट प्रदेशसभाका उम्मेदवार चन्द्रमोहन गौचन बताउँछन् । व्यापारका लागि निस्किएकाहरु चुनावमा भोटै हाल्नका लागि आउँदैनन् । उनीहरुलाई उम्मेदवारहरुले बस वा हेलिकप्टरमै पुर्‍याएर मत हलाउने दृश्य मुस्ताङका लागि पुरानो भइसक्यो । पोखरा, काठमाडौं र भातबाट समेत मतदाता ओसार्ने गर्छन् । यसमा जसले धेरै खर्च गर्छ, उसैको मत धेरै आउने एक उम्मेदवारले बताए ।

त्यही भएर निर्माण व्यवसायी समेत रहेका एमाले उम्मेदवार प्रेम तुलाचनसँग जो कोहीले प्रतिस्पर्धा गर्ने आट गर्न नसकेको कांग्रेस नेता रोमी गौचन बताउँछन् ।

व्यापार गर्न नगएकाहरुलाई पनि मतदान स्थलसम्म ल्याउन राम्रै खर्च हुने चन्द्रमोहन बताउँछन् । ‘यसरी रकम खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, तर भोट किन्ने प्रचलन झ्यांगिदै गइरहेको छ,’ एमाले उम्मेदवार गौचनले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?