+
+

दाङ १ मा तीन सहकर्मीको प्रतिस्पर्धा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असोज २६ गते १२:४६

२६ असोज, दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेको क्षेत्रीय कमिटीले तीन जनाको नाम सिफारिस भएपछि गंगा चौधरीले शान्ता चौधरीसँगै बसेको तस्वीर राखेर सामाजिक सञ्जालमा लेखिन्, हामी दुई दिदी–बिहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि हामी एक भएर जानेछौं ।’ क्षेत्रबाट गंगा र शान्तासँगै रेवतीरमण शर्माको नाम पनि सिफारिस भएको थियो ।

केन्द्रीय सदस्य गंगाले शान्ता र आफूमध्ये एकलाई मान्ने बताउनासाथ रेवतीरमण टिकटको दौडमा पछि परे । थारु समुदायको बाहुल्य क्षेत्रको लागि एमालेले शान्तालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर एमाले केन्द्रीय सदस्य गंगा आफ्नो बचनमा टिकिनन्, हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवारी दिएका छन् । यससँगै दाङ १ मा तीन पूर्व सहकर्मीहरुको प्रतिस्पर्धा हुने भएको छ ।

शान्ता र मेटमणि चौधरी पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन् । थरुहट तराई पार्टीबाट आएकी गंगा पनि पछिल्ला वर्षहरुमा शान्ता र मेटमणिसँगै एउटै पार्टीमा थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेपछि मेटमणि त्यता लागे भने अहिले गंगाले अर्कै पार्टीबाट उम्मेदवारी दिएपछि तीन सहकर्मी तीनतिर भएका छन् र एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । ‘आफूले जस्तै मिहिनेत गरेर बनेका र हिजोसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ एमाले उम्मेदवार शान्ता चौधरी भन्छिन् ।

को–कति बलियो ?

सत्ता गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रको मत मेटमणिका लागि महत्वपूर्ण हुन्छ । गठबन्धनका दलहरुबीच अन्तरघात भएमा त्यसको फाइदा तुलनात्मक रुपमा शान्तालाई हुने छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणिलाई माओवादी, कांग्रेस, जनमोर्चा लगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता चौधरी एक्लै होमिएकी छन् । गंगाको दल हाम्रो नेपाली पार्टी भर्खरै खुलेको दल हो ।

२०७४ मा मेटमणि निर्वाचित भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले उनलाई शान्ता भन्दा केही सहज देखिन्छ । शान्ता भने क्षेत्र परिवर्तन गरेर त्यहाँ पुगेकी हुन् । उनको निर्वाचन क्षेत्र २ हो । यही कारण शान्तामाथि प्रतिस्पर्धीले ‘टुरिष्ट उम्मेदवार’को आरोप लगाउन थालेका छन् ।

उसो त दाङ र देउखुरीबीच विगतदेखि नै भूगोलको मतभेद रहँदै आएको छ । देउखुरी क्षेत्रले आफ्नै भूगोलको उम्मेदवार खोजेमा शान्तालाई अप्ठ्यारो पर्न सक्ने बताउँछन्, नागरिक समाज दाङ देउखुरीका अध्यक्ष निमबहादुर थापा । ‘देउखुरीमा भूगोलको सेन्टिमेन्ट छ’ थापा भन्छन्, ‘यसले शान्ताको केही मत काट्ने सक्ने देखिन्छ ।’

भूगोलको सेन्टिमेन्टले मेटमणिलाई केही मद्दत गर्छ । तर उनलाई यो चुनाव भनेजस्तो सजिलो छैन । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको बलियो संगठन छैन । स्थानीय तहको चुनावमा देउखुरी क्षेत्रमा एकीकृत समाजवादीले १ जना वडाध्यक्ष र केही वडा सदस्यहरु मात्र जितेको छ । वडाध्यक्षहरुले पाएको मत हेर्दा उसको जम्मा २ हजार ३४१ मत छ ।

सत्ता गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रको मत मेटमणिका लागि महत्वपूर्ण हुन्छ । गठबन्धनका दलहरुबीच अन्तरघात भएमा त्यसको फाइदा तुलनात्मक रुपमा शान्तालाई हुने थापाको विश्लेषण छ ।

गंगा भने संगठन नै नभएको नयाँ दलबाट उठेकाले निर्वाचन जित्ने सम्भावना कमजोर छ । तर गंगा पनि पूर्व एमाले र चौधरी समुदायको भएकाले मेटमणि र शान्ताको मत काट्न सक्ने उनी बताउँछन् ।

देउखुरीमा चौधरीको समुदायको मत निर्णायक हुने गर्दछ । दलहरुले पनि यही मत तान्ने रणनीति अनुसार चौधरी उम्मेदवार अगाडि सारेका छन् । त्यसैले अरु उम्मेदवारसँगै गंगाले पाउने मतले पनि मेटमणि र शान्ताको प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।

यस्तो छ अंक गणित

दाङ १ मा देउखुरी क्षेत्रका लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाहरु पर्दछन् ।

३० वैशाखको स्थानीय तहको चुनाव अनुसार माओवादीले गढवा र राप्ती गाउँपालिका तथा कांग्रेसले लमही नगरपालिका र राजपुर गाउँपालिका जितेका छन् । दाङ क्षेत्र नम्बर १ मा पर्ने घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाहरु भने एमालेले जितेको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमाले हाराहारी छन् । कांग्रेसका उम्मेदवारहरुले २९ हजार ७५७ मत पाउँदा एमालेले २७ हजार २५ मत पाएको छ । माओवादी केन्द्रका उम्मेदवारहरुले १९ हजार २७६ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले २ हजार ५९६ मत पाएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?