+
+

रिठ्ठेपानी डाँडा १४ मिटर काटेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज २६ गते १९:२०

२६ असोज, काठमाडौं । रिठ्ठेपानी डाँडा १४ मिटर कटान गरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान थाल्ने तयारी गरिएको छ । विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ । तर १४ मिटर डाँडा कटान गरिसकेपछि पनि परीक्षण उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

डाँडा कटानका लागि ठेक्का प्रक्रिया पनि सुरु भइसकेको छ । प्राधिकरणका अनुसार डाँडा कटानका लागि आह्वान गरिएको ठेक्कामा १० वटा कम्पनीको प्रस्ताव परेको छ । यी कम्पनीको प्रस्ताव मूल्यांकनको चरणमा रहेको निरौलाले बताए ।

उनका अनुसार यी कम्पनीबाट मापदण्ड अनुसार छनोट हुने कम्पनीले यसको जिम्मेवारी पाउने छ । पोखरामा निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दुरीमा यो डाँडा रहेको छ । विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार डाँडा कटानका दौरान ६ सय वटा रुख काट्नुपर्छ ।

पोखराको छिन्ने डाँडामा नयाँ विमानस्थल निर्माण भएको छ । जसको धावनमार्गको लम्बाई २५ सय मिटर र चौडाइ ४५ मिटर रहेको छ । धावनमार्ग पूर्व–पश्चिम दिशामा छ । सोही धावनमार्गको सामुन्नेमा रिठ्ठेपानी डाँडा रहेको छ ।

१ जनवरी २०२३ को ‘डेडलाइन’ के हुन्छ ?

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको मिति १ जनवरी २०२३ मा गर्ने गरी समय नै तोकेको छ । डाँडा कटानमा लाग्ने समयले यो ‘डेडलाइन’ भने परिवर्तन नहुने प्रवक्ता निरौलाले जानकारी दिए ।

उनका अनुसार १४ मिटर डाँडा कटान गरिसकेपछि परीक्षण उडान गर्न सकिन्छ । यो विमानस्थलमा समेत यान्त्रिक उडानमार्फत उपकरणहरुको परीक्षण गर्नुपर्छ ।

सो परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा मात्र मुख्य परीक्षण उडान हुन्छ । यो काम १ जनवरी भन्दा अगाडि नै गरिसक्नु पर्ने चापमा प्राधिकरण छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडान समेत यतै सर्नेछ । यान्त्रिक उडानबाट परीक्षण भएपछि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई व्यावसायिक उडानका लागि आह्वान गर्न सक्छ ।

साढे ५ वर्षमा तयारी भयो गौरवको आयोजना

१ वैशाख २०७३ सालमा शिलान्यास भएको यो विमानस्थल २७ असार २०७४ बाट काम थालिएको हो । काम थालिएको साढे ५ वर्षमै निर्माण सम्पन्न भएको छ । यो विमानस्थलको निर्माण चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले गरेको हो ।

सुरुको सम्झौता अनुसार १० जुलाई २०२१ (२६ असोज २०७८) मा सकिनु पर्ने आयोजना कोरोना भाइरसको महामारीका कारण उपकरण ढुवानी हुन नसक्नु र चिनियाँ कामदार समेत रोकिएपछि एक वर्ष पर धकेलिएको थियो ।

१२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारी विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका छन् । सोही दिन नेपाल सरकारले चिनियाँ निर्माण कम्पनीलाई प्रसंशापत्र समेत हस्तान्तरण गरिएको थियो । चीनबाट भएको पछिल्लो सबैभन्दा उच्चस्तरीय भ्रमणको अवसर पारी चावी हस्तान्तरण भएको नेपाल सरकारले बताएको थियो ।

२७ अर्ब १४ करोड लागत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ)मा सम्झौता भएको हो ।

२१ मार्च २०१६ (८ चैत २०७२)मा ऋण सम्झौता भएको हो । सो बेला अमेरिकी डलरको मूल्य १ डलर बराबर १ सय रुपैयाँ हाराहारी थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच मे २२ २०१४ मा (८ जेठ २०७१) विमानस्थल निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो ।

तर, ऋण सम्झौतामा ढिलाई भएपछि निर्माण केही पर धकेलिएको थियो । २१ मार्च २०१६ (८ चैत २०७२) मा नेपाल सरकार चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । ५ जुन २०१६ (२३ जेठ २०७३) मा नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच अनुदान सम्झौता भयो ।

एक्जिम बैंकले ३१ मे २०१७ (१७ जेठ २०७४)बाट ऋण प्रवाह थालेपछि ११ जुलाई २०१७ (२७ असार २०७४)बाट पोखरा विमानस्थलमा निर्माणको काम थालिएको हो ।

२५ प्रतिशत ऋणमा ब्याज लाग्दैन, ७५ प्रतिशत ऋणमा २ प्रतिशत ब्याज

नेपाल सरकार र एक्जिम बैंकबीच भएको सम्झौता अनुसार यो विमानस्थल बनाउन सुरु गरेको ऋण २० वर्ष भित्र तिरिसक्नु पर्नेछ ।

सम्झौता अनुसार कुल रकमको २५ प्रतिशत ऋण चीन सरकारले नेपाललाई निब्र्याजी दिएको हो । बाँकी ७५ प्रतिशत ऋण भने एक्जिम बैंककै हो । जसमा २ प्रतिशत ब्याज लाग्छ ।

कुल २०९ मिलियन अमेरिकी डलर (२० करोड ९० लाख डलर)मा चीनको एक्जिम बैंकसँग सम्झौता भएको हो । यसमध्ये २५ प्रतिशत चीनले निब्र्याजी ऋण दिएको हो । बाँकी ७५ प्रतिशतमा भने २ प्रतिशत ब्याज लाग्नेछ ।

आगामी चैतदेखि तिर्नुपर्नेछ किस्ता

पोखरा विमानस्थल बनाउन लिएको ऋण २० वर्ष भित्र चुक्ता गरिसक्नु पर्छ । जसमा सुरुको ७ वर्षलाई ग्रेस पिरियड मानिएको छ ।

ग्रेस पिरियड ऋण सम्झौतापछि नै गणना हुन्छ । सोहीकारण ७ वर्ष आगामी चैतमा पूरा हुँदैछ । त्यसपछि भने विमानस्थलमा भएको ऋण लगानीको किस्ता तिर्न थाल्नु पर्छ ।

प्राधिकरणले बाँकी १३ वर्षमा वर्षको दुई किस्ता गरी ऋण तिर्नुपर्छ । १३ वर्षमा कुल २६ किस्ता मार्फत ऋण तिरिसक्नु पर्ने गरी सम्झौता भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?