+
+

अर्थतन्त्रमा दबाव हुँदा नियामकले कडाइको नीति लिनुपर्‍यो : कार्यवाहक गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:१४
फाइल तस्वीर

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छन् ।

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् । वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नहुँदा शोधनान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको उनले बताइन् ।

उनले बाह्य क्षेत्रमा देखिएको दबावकै कारण आयातमा कडाइ गर्नुपरेको बताइन् । त्यस्तै डलर बलियो बन्दा रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने भएपनि अन्य सबै क्षेत्रमा त्यसको नकारातनमक असर हुने उनले बताइन् ।

‘नेपालको अर्थतन्त्रमा मुद्रास्फीतिको दबाव केही महिना देखिँदै आएको छ । अमेरिकी डलरको मागमा भएको वृद्धिले नेपाली मुद्रा अवमूल्यन भएको अवस्थाले रेमिट्यान्स बढेको अवस्था भएता पनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव पर्छ,’ उनले भनिन्, ‘आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’

पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औद्योगीकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी तथा दीगो विकासतर्फ उन्मुख गराउनु अति आवश्यक रहेको उनको भनाइ थियो ।

उनले सेवा क्षेत्र विकास गर्नु अहिलेको आवश्यकता रहेको बताइन् । ‘सूचना क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरु निर्यात गर्नसकेमा अर्थतन्त्रमा टेवा पुग्नेछ । त्यसका लागि राज्यका विभिन्न क्षेत्र समन्वय गरी पूर्वाधार विकाग गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको छ, तरलता सहज बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने छ, अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था छ, अझै यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने बाध्यता छ ।’

कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र ‘अण्डर भ्याल्युड’ भएको बताए । उनले नेपालको जीडीपी जति हो त्यो सबै एकाउन्टमा नआएको तर्क गरे । दंगालले जीडीपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोस रुपमा जिडिपी नआएको बताए । उनले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?