२९ असोज, गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जल विद्युत आयोजनाका बारेमा यसअघि शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै अक कुनै विवाद नभएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गठबन्धन दलहरुको अभिमुखिकरण कार्यक्रममा भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ, तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’
नेपाल आफैले आयोजना बनाउने भएपछि अव बूढीगण्डकीबारे आफूहरुकाबीच कुनै विवाद नभएको उनले स्पष्ट पारे ।
डेढ वर्ष अघि गृह जिल्ला गोरखा आएको बेला भट्टराईले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका थिए ।
उनले त्यतिबेला आफूले त्यसको प्रमाण नै दिनसक्ने बताएका थिए । तर शनिबार उनले त्यो सूचना अपुष्ट भएकाले त्यसलाई सच्याएको बताएका छन् । बूढीगण्डकी बहुउद्देश्यीय आयोजना मात्र नभइ गेमचेन्जर आयोजना समेत भएकाले यसलाई छिटो बनाउन उनले आग्रह समेत गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4