+

अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

२०७९ असोज  ३० गते १४:३२ २०७९ असोज ३० गते १४:३२
अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

काठमाडौं । गर्भावस्था एक महिलाको लागि जीवनकै सबैभन्दा महत्त्वपूर्ण समय हो । आफ्नो पेटमा हुर्किरहेको अनुभव उनका लागि अद्वितीय हुन्छ । तर गर्भावस्थामा मन जति आनन्दित हुन्छ, तनले भने विभिन्न पीडाको सामना गर्नु परिरहेको हुनसक्छ ।

गर्भावस्थामा महिलालाई आफ्नो स्वास्थ्यको ख्याल जति राख्नुपर्छ, पेटभित्र हुर्किरहेको बच्चाको पनि उति नै ध्यान राख्नुपर्छ । यो बेला उचित हेरचाह नपुगे स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट गुज्रिनुपर्ने अवस्था समेत आउन सक्छ । नौ महिनासम्म बच्चालाई पेटमा हुर्काउँदा भोग्नुपर्ने पीडा त एकातिर छँदैछ, बच्चालाई जन्माउने बेलामा अरु थप पीडाबाट गुज्रिनुपर्छ ।

प्रसव पीडाका कारण धेरै गर्भवती महिलाको आङ नै सिरिङ्ग हुन्छ । दुखाइ कम गर्ने कुनै उपाय भए राहत हुन्थ्यो भन्ने उनीहरुको चाहना हुन्छ । प्रसूति गराउँदाको पीडालाई धेरैवटा हड्डी एकैपटक भाँचिएको जस्तो हुने पीडा समेत भनिन्छ ।

अन्य रोगमा दुखाइ कम गर्ने औषधि र उपाय तत्काल खोजी गर्न सकिने भए पनि प्रसूति पीडामा भने यस्तो गरिहाल्न मिल्दैन । यद्यपि प्रसूतिको पीडालाई कम गराउने उपाय नेपालमा पनि छन्, तर त्यसबारे सबैलाई जानकारी नहुँदा धेरै महिला प्रसव पीडालाई कम गराउने उपायबाट वञ्चित छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले निकै पहिलेदेखि नै ‘पेनलेस’ प्रविधिबाट डेलिभरी गराउने गरिरहेको छ । तर यसबारे पर्याप्त जानकारी नहुँदा यसको प्रयोग धेरै कमले मात्र गरिरहेको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. वासुदेव पराजुली बताउँछन् ।

‘यो प्रविधि टिचिङ अस्पतालमा सञ्चालनमा आएको लामो समय भइसकेको छ । मुटुका रोगी जसलाई दुखाइ सहन हुन्न त्यस्ता बिरामीका लागि यो पहिल्यैदेखि प्रयोग गरिन्थ्यो,’ उनी भन्छन् ।

डा. पराजुली दुई वर्षअघि क्यानडा गएर माउन्ट सिनाई अस्पतालबाट ‘पेनलेस डेलिभरीको’ बारेमा एकवर्षे तालिम लिएर फर्किएका हुन् । त्यसपछि नेपालमा यो प्रविधिलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने उनको उद्देश्य थियो । तर विना दुखाइ बच्चा जन्माउने उपाय पनि छ भन्ने कुराको ज्ञान मानिसहरूमा नभएकोले यो प्रविधि अपनाउनेको संख्या अत्यन्त कम थियो ।

यो सुविधा लिने महिलाको संख्या एकदमै न्यून भएकाले त्रिवि शिक्षण अस्पतालले गत वैशाखदेखि साताको प्रत्येक बिहीबार ‘अबस्थेरिक एनेस्थेसिया क्लिनिक’ नै सञ्चालनमा ल्याएको डा. पराजुली बताउँछन् ।

पेनलेस डेलिभरी प्रविधि सुरु भएको कति भयो ?

डा. पराजुली भन्छन्, क्यानडा, अमेरिका लगायतका देशमा मान्छेले कुनै पनि प्रकारको दुखाइ वा पीडा सहनुहुँदैन भन्ने मान्यता हुन्छ । जसले गर्दा त्यो दुखाइलाई कसरी निको पार्न सकिन्छ भनेर उनीहरू उपाय खोज्न थालिहाल्छन् । तर नेपालमा भने सहनुपर्छ भन्ने मान्यता छ ।’

विकसित देशमा पेनलेस डेलिभरी सुरु भएको एक दशकभन्दा बढी भइसकेको उनी बताउँछन् । यसलाई राम्रोसँग अपनाउन थालेको पनि ३० वर्ष भइसकेको छ ।

यो कस्तो प्रविधि ?

यो प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । जुन प्राथमिक सर्जिकल एनेस्थेटिक वा पोस्टपोरेटिभ दुखाइ व्यवस्थापनका लागि प्रयोग गर्न सकिन्छ । शल्यक्रियाबाट गुज्रिएका वा मल्टिमोडल पोस्टअपरेटिभ दुखाइ व्यवस्थापन आवश्यक पर्ने बिरामीका लागि यो प्रयोग गर्न सकिने डा. पराजुली बताउँछन् ।

डा. वासुदेव पराजुली

यसमा बिरामीको ढाडमा सुई लगाएर एउटा क्याथेटर हालिन्छ र त्यसमा दुखाइ कम गर्ने औषधि दिइन्छ । विकसित देशहरूमा नर्मल डेलिभरी गर्ने प्रायः हरेक महिलालाई यो प्रविधि अपनाइन्छ । ‘त्यसैले अन्य देशमा यो प्रविधि एकदमै सामान्य भइसक्यो । हाम्रो देशको लागि मात्र यो अलि नौलो हो,’ डा. पराजुली भन्छन् ।

यस प्रविधिमा एक पटक सुई दिएर डेलिभरी नहुन्जेलसम्म त्यहीं क्याथेटर राखिन्छ र त्यसमा औषधि थपिरहन सकिन्छ । पहिले पहिले भने प्रत्येक पटक दुखाइ कम गर्न सुई लगाइरहनुपथ्र्यो ।

बेफाइदा पनि केही छ ?

यो प्रविधि अपनाउँदा नर्मल भन्दा पनि सिजरियन डेलिभरी हुने सम्भावना धेरै हुन्छ भन्ने धेरैको सोच हुन्छ । तर विभिन्न देशमा यो प्रविधि अपनाएका २० हजार महिलामा गरिएको अध्ययन अनुसार ९० प्रतिशत भन्दा बढी महिलाको नर्मल डेलिभरी नै भएको छ । तर नर्मल डेलिभरीको लागि तयार र यो प्रविधि नअपनाएका महिलामा बच्चा तथा आमाको कारण सिजरियन गर्नुपर्ने हुनसक्ने डा. पराजुली बताउँछन् ।

ढाडबाट सुई लगाएर दुखाइ कम गर्दा डेलिभरी समयमा नहुने र व्यथा लाग्ने समय बढ्छ होला नि भन्ने पनि प्रश्न छ ? २० हजार जनामा गरिएको अध्ययनमा यो प्रश्नको उत्तर पनि खोजिएको थियो । उक्त अध्ययन अनुसार यो प्रविधि अपनाएका महिलामा लामो समय व्यथा लाग्ने समस्या हुँदैन ।

‘पहिलो बच्चा जन्माउँदा १२ देखि १८ घण्टा व्यथा लाग्छ । दोस्रो बच्चामा ६ देखि १२ घण्टा । यस्तोमा केहीलाई आधा-एक घण्टा तलमाथि हुनसक्छ । तर यो प्रविधिको कारण व्यथाको समय लम्बिने होइन,’ डा. पराजुली भन्छन् ।

यो सुई लगाएपछि बच्चा बाहिर निकाल्ने बेलामा आमालाई गाह्रो हुन्छ होला भन्ने कुराको पनि अध्ययन भएको थियो । सन् २००० भन्दा अघि बिरामीलाई औषधिको मात्रा धेरै चलाइन्थ्यो, जसले गर्दा केही यस्तो समस्या देखिएको थियो । तर अहिले औषधिको मात्रा घटाएर चलाएपछि यो समस्या नदेखिएको डा. पराजुली बताउँछन् ।

उनी भन्छन्, ‘सुईको प्रयोगबाट दुखाइ कम हुन्छ र बच्चा निकाल्नको लागि पुस गर्न पनि समस्या हुँदैन ।’

ढाडबाट सुई लगाएर दुखाइ कम गर्ने औषधि प्रयोग गर्दा ढाड दुख्ने समस्या पो हुन्छ कि भन्ने प्रश्न त झन् आम प्रश्न हो । यो प्रविधिको प्रयोग गरेकै कारण ढाड दुख्ने समस्या देखिएको छैन । यो प्रविधि अपनाएका २० हजारमा गरिएको अध्ययनमा यो कुरा पनि समावेश गरिएको छ ।

कस्तो अवस्थामा यो प्रविधि अपनाउन मिल्दैन ?

यदि गर्भवती महिलाको रगत पातलो छ वा रगत पातलो गर्ने औषधि सेवन गरिरहेकी छन् भने यो प्रविधि अपनाउन मिल्दैन । उच्च रक्तचापको बिरामीलाई पनि यो उपाय अपनाउन मिल्दैन । कसैलाई ढाडको समस्या छ भने त्यस्तो बिरामीलाई पनि यो दिन नमिल्ने डा. पराजुली बताउँछन् ।

यस्तै औषधिको एलर्जी हुने महिलालाई पनि यो उपाय अपनाउन मिल्दैन ।

कति लाग्छ खर्च ?

यो प्रविधि अपनाउँदा विना दुखाइ बच्चा जन्माउन सकिन्छ र सहज पनि छ । तर यो प्रविधि अपनाउन नेपालमा दक्ष जनशक्तिको भने अभाव देखिन्छ । यद्यपि त्रिवि शिक्षण अस्पतालमा भने यस विषयमा तालिम प्राप्त जनशक्ति भएकाले यो प्रविधि अपनाउन सकिने डा‍. पराजुली बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा डेलिभरीबाहेक पाँच हजार रुपैयाँ भन्दा कम शुल्कमा यो सेवा लिन सकिने उनी बताउँछन् ।

पीडा प्रसूति
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची